खानेपानीको यस्तो दुःख,दिनमा ३० लिटर दूध बेचेर ३ सय लिटर पानी किन्छन् मदनपोखराका किसान

बिजमाण्डू
२०७३ जेठ ११ गते ००:०० | May 24, 2016
रामपुर (पाल्पा) । खडेरीले पानीको हाहाकार भएपछि मदनपोखरा छापका कृषकले दूध बेचेको रकमले पानी किनेर पशुपालन व्यवसाय चलाउँदै आएका छन्।

Tata
GBIME
Nepal Life

यहाँका कृषकलाई व्यवसाय गर्न खडेरीका बेला हरेक वर्ष चैत, वैशाख र जेठमा दूध बेचेर पानी किन्नुपर्ने बाध्यता छ।परिवारको दिगो आयआर्जनको पशुपालन व्यवसाय बनाएका यहाँका कृषकले दैनिक ३० लिटरदेखि १०० लिटरसम्म एक घरपरिवारले दूध उत्पादन गरेर बिक्री गर्छन्। दूध बेचेर लिएको आम्दानीले एक घरपरिवारले दैनिक ३०० देखि एक हजार लिटरसम्म पानी किन्ने गरेको अगुवा कृषक बलबहादुर सिंजालीले बताए।  

पिउने पानी र गाईवस्तुका लागि प्रतिलिटर रु एकमा पानी किन्ने गरेको उनीहरु बताउँछन्। कृषक कुलबहादुर नगरकोटी भन्छन्, “दैनिक ५०० लिटरभन्दा बढी पानी किन्नुपर्छ, दूध बेचेको रकम पानीमै खर्च हुन्छ।” नगरकोटीले नौ वटा गाईबाट दैनिक ५० लिटरसम्म दूध बिक्री गर्छन्।  

मायाँ खाँड पनि दैनिक ४०० लिटर पानी किनेर गाईपालन व्यवसाय गर्छिन्। पानीको समस्याले गर्दा व्यवसाय बढाउन मन भए पनि बढाउन नसकिएको उनले बताइन्। उनले सात वटा गाईबाट दैनिक ३०/४० लिटरसम्म दूध बिक्री गर्छिन्। ।

दूध बेचेर लिएको आम्दानीबाट यहाँ दैनिक चार ट्याङ्करभन्दा बढी पानी भित्रने गर्दछ। गाउँ नजिकै मूल, कुवा र अन्य पानीका स्रोत नहुँदा यहाँका कृषकले दिनहुँ पानी किनेर व्यवसाय गर्न समस्या भएको बताउँछन्। दूध बेचेर जीविका चलाउनका निम्ति छाप गाउँका सबै कृषकले हिजोआज गाईपालन व्यवसाय अपनाएका छन्। पानीको आपूर्ति सहज भएको खण्डमा यस गाउँलाई दूध उत्पादनको नमुना पकेट क्षेत्र बनाउन सकिने पशुसेवा केन्द्र मदन पोखराका पशुस्वास्थ्य प्राविधिक शेरबहादुर रानाले बताए। रासस