१५०० अंक नाघिसकेको सेयर बजार अब कहिलेसम्म बढ्ला?

बिजमाण्डू
२०७३ जेठ ११ गते ००:०० | May 24, 2016
१५०० अंक नाघिसकेको सेयर बजार अब कहिलेसम्म बढ्ला?
  • सुदर्शन सापकोटा/बिजमाण्डू

काठमाडौं । सेयर बजारले दैनिक नयाँ नयाँ रेकर्ड बनाउन थालेपछि अब कुन उच्चतम बिन्दुमा पुगेर 'करेक्सन' को बाटो समात्छ? आमलगानीकर्ताको प्रश्न हो यो ।
 
सामाजिक सञ्जाल फेसबुकको विभिन्न 'ग्रुप' हरुमा लगानीकर्ताहरुले सेयर बजार मौद्रिक नीति आउँदासम्म सजिलै एकदेखि डेढ सय अंकसम्म बढ्ने विश्लेषण गर्न थालेका छन् । १५०० अंक नाघेपछि सामान्य करेक्सन आउने अनुमान विपरित बजारले थप नयाँ रेकर्ड बनाइरहेको छ।
 
बजेट साता सुरु भएपछि दैनिक दुई तीन वटा समूहमा रेकर्ड बनाउन थालेको बजारको बृद्धिमा अब कुन बिन्दुमा अवरोध आउला ? यसको उत्तर लगानीकर्ता र विश्लेषकहरुले समेत दिइरहेका छैनन्।
 
बीमा कार्यक्रम
पछिल्लो समय बीमा समूहमा आएको बृद्धिले बजारलाई उच्चतम बिन्दुमा पुर्‍याइरहेको छ। सरकारले बजेटमा बीमा कार्यक्रमलाई अनिवार्य गर्दै पुँजी बृद्धिको प्रस्ताव गर्ने समाचारहरु सार्वजनिक हुँदा यो साता बीमा समूहमा 'वुल' आएको हो। दुई दिनमै बीमा समूहको सूचक ६०० अंकले बढ्यो, जुन सामान्य होइन।
 
कर्पोरेटहरुले मात्र अनिवार्यजस्तो बीमा गर्दै आएकोमा भुकम्पछि सर्वसाधारणले पनि रुची देखाउन थालेको चैत मसान्तसम्मको वित्तीय विवरणबाट पुष्टी हुन्छ। पछिल्लो समय बीमाको ब्यापार वढेको छ। त्यसमाथि सरकारले बीमालाई स्वेच्छिकबाट अनिवार्य गर्ने नीति ल्याउने चर्चाले बीमा समूहमा उछाल आएको हो।
 
पुँजी बृद्धिको चर्चा पाँच बर्षदेखि चल्दै आएको छ। नियामक निकायले नयाँ बीमा ऐनको मस्यौदामा पुँजी बढाएर चार अर्ब रुपैयाँसम्म प्रस्ताव गरेको समाचारहरु पनि आइरहेका छन्। बुल बजारमा यस्तो चर्चाले बृद्धिमा बल पुर्‍याइरहेको छ।
 
एकातिर बढ्दो ब्यापार र अर्कोतिर पुँजी बृद्धिको चर्चाले लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव पारिरहेको छ। बीमा समितिले पनि ऐनमा पुँजी बढेर आएपनि वा नआए पनि आफ्नै हिसावले पुँजी बढाउने रणनीति लिएको छ। उसले बीमा कम्पनीहरुको नगद लाभांसमा अंकुस लगाउँदै वोनस सेयरलाई प्राथमिकतामा राखेको छ। यसले पनि लगानीकर्ताहरु आकर्षित भएका हुन्।
 
विश्लेषकहरुको भनाइमा बजेटमा बीमा सम्बन्धि कार्यक्रम आए पनि नआएपनि बीमा कम्पनीहरुको सेयरको मूल्य बृद्धि त्यसपछि सुस्त हुनेछ। बजेटअघि 'सर्ट टर्म'मा आम्दानी गर्ने हिसावले लगानीकर्ताले पनि अन्य समूहमा रहेको सेयर बिक्री गरेर बीमा समूहमा लगानी बढाइरहेका छन्। एउटा खास समूह बीमामा आकर्षित भएपछि बाँकी लगानीकर्ता पनि त्यतातिर तानिएका हुन्, जसले यो समूहको बृद्धिलाई उच्चतम अंकमा पुर्‍याएको हो ।
 
बैंकिङ समूह के हुन्छ ?
भुकम्प र नाकाबन्दीका बावजुत पनि बैंकहरुले राम्रो नाफा आर्जन गरेका छन्। सबै अनुमान विपरित गत चैतसम्ममा पनि बैंकहरुको नाफा राम्रो भएको छ।
 
अहिले लगानीकर्ताहरु सर्टटर्मका लागि बीमातिर गएका छन्। बजेट सार्वजनिक भएपछि लगानीकर्ताको आखा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा सोझिन्छ, जुन स्वभाविक पनि हो।
 
चालु बर्षकै मौद्रिक नीतिमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजी चारदेखि २५ गुणासम्म बढाइसकेकाले त्यसलाई कार्यान्वयन गर्न थप कस्तो नीति आउँछ भनेर लगानीकर्ताहरु मौद्रिक नीतिको प्रतिक्षामा हुनेछन्।
 
चुक्ता पुँजी बृद्धि गर्ने समय २०७४ असार मसान्तसम्म मात्रै भएकाले यसपालीको नाफाबाट बैंक तथा वित्तीय संस्थाहरुले 'बम्पर' वोनस सेयर घोषणा गर्ने छन्। नाफाबाट अपुग भएमा कतिपयले हकप्रद र मर्जरलाई विकल्पका रुपमा प्रयोग गर्न थालिसकेका छन्। स्पष्ट देखिएको 'बम्पर' लाभांसमा लगानीकर्ता आकर्षित भएकाले पनि बजार बृद्धिमा योगदान गरिरहेको छ।
 
लघुवित्तको चार गुणा पुँजी
नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमा लघुवित्तको पनि पुँजी बढाउने कुरा गरेको छ। तर अहिलेसम्म के कति पुँजी बढाउनु पर्छ भनेर निर्देशन जारी गरिसकेको छैन।
 
राष्ट्र बैंकले चार गुणासम्म पुँजी बढाउने तयारी गरिरहेका बेला लगानीकर्ता त्यतातिर पनि आकर्षित भएका छन्। सीमित सेयर भएका कारणले लघुवित्तको मूल्य बढिरहेको हो। त्यसमाथि पुँजी बढाउने राष्ट्र बैंकको उद्घोषले लघुवित्तकै कारण विकास बैंक समूहले बाणिज्य बैंक समूहलाई पछिपारिसकेको छ।
 
ठूलो स्प्रेडमा काम गर्ने भएकाले लघुवित्तको नाफा राम्रो छ। यसबाट उसले वोनस सेयर दिएर सजिलै पुँजी बढाउन सक्छ। लगानीकर्ताको आँखा पनि भविष्यमा आउने लाभांसमा टिकेका कारण लघुवित्तको मूल्य उक्लिरहेको छ। यसले गर्दा समग्र बजार उकालो लागिरहेको हो।
 
जलविद्युत के हुन्छ ?
१४ घन्टासम्म लोडसेडिङको मार खेपिरहनु परेका बेला विद्युत आयोजनाको बजार नेपालमा पर्याप्त छ। बजारको सुनिस्चितता भएको क्षेत्र जलविद्युतका सेयर बजारमा आउँदा लगानीकर्ताहरु त्यसमा आकर्षित हुने गरेका छन्।
 
दोस्रो बजारमा पनि त्यसको प्रभाव देखिएको छ। निश्चित नाफा भएको क्षेत्र भएकाले भइरहेकै आयोजनाहरुले पनि अर्को आयोजना निर्माण गर्न थालेका छन्। यसले गर्दा जलविद्युतमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ।
 
बिमा, बैंकिङ र लघुवित्तजति नभएपनि जलविद्युतको सेयरबाट राम्रै प्रतिफल आइरहने भएकाले यसको पनि निरन्त बृद्धि भइरहेको छ। जसले गर्दा समग्र बजार बढ्नुमा जलविद्युतले ईटा थप्ने काम गरिरहेको छ।
 
कतिसम्म पुग्छ बजार ?
बजारमा पर्याप्त तरलता छ। सरकार नै करिव २०० अर्ब रुपैयाँ बचतमा छ। असार मसान्तसम्म यो पैसा १३५ अर्ब रुपैयाँसम्म बजारमा आउँछ। यसले तरलता थप बृद्धि गर्छ।
 
आगामी दिनमा थप तरलता वढ्ने अनुमानका आधारमा नै नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको राष्ट्र बैंक ऋणपत्र ल्याउने तयारी गरिरहेको छ। यसको अर्थ हो राष्ट्र बैंकले अहिलेको स्तरभन्दा तल ब्याज दर ‌ओर्लिन दिँदैन।
 
अहिलेको ब्याज दर कायम रहँदासम्म वा योभन्दा १/२ प्रतिशत बढ्दासम्म लगानीकर्तालाई कुनै जोखिम छैन। बिमा, बैंक र लघुवित्तमा आगामी दिनमा पनि राम्रै लाभांस सुनिश्चित देखिएको सन्दर्भमा १/२ प्रतिशत ब्याज बढेपनि लगानीकर्ताहरुलाई कुनै समस्या नहुने मनोविज्ञान हुर्किएको छ।
 
नाकाबन्दीका कारण तल्लो तहमा पुगेको देशको अर्थतन्त्र यसभन्दा थप विग्रिने तत्काल कुनै कारण देखिँदैन। त्यसबेला समेत बढेको बजार अर्थतन्त्रमा अर्को ठूलो जोखिम नदेखिएका कारण थप वढ्ने अनुमान विश्लेषकहरुको छ।
 
जोखिम के छन् ?
बजारमा जोखिम हुँदै नभएको भने होइन। ठूलो जोखिम तरलता कै छ। राष्ट्र बैंकले बजारमा अधिक तरलता खिँच्नका लागि नियमित मौद्रिक ‍‍औजारवाहेक पनि राष्ट्र बैंक ऋणपत्र जारी गर्ने निर्णय गरिसकेको छ।
 
अवस्था सहज बन्दै गएका कारण निजी क्षेत्रबाट पनि उद्योग धन्दा सञ्चालन गर्न ऋणको माग आउन थालेको छ। सरकारले बजेटको आकार बढाउने पक्कापक्की भएकाले राजश्वमा उसको निर्भरता बढ्ने छ।
 
सामान्य समयभन्दा पछिल्लो समय कारोबार रकममा बृद्धि आउन थालेको छ। यसको अर्थ हो, बजारमा निश्चित नाफा गरिसकेकाहरुले तत्तकाल सेयर बेचेर नाफा सुरक्षित गर्न थालेका छन्। यसले केही समयसम्म बजारको बृद्धिमा अवरोध पुर्‍याउन सक्छ।
 
नेपाल सरकारको नीतिमा स्थिरता छैन। निजी क्षेत्रकै प्रतिनिधिहरुले बर्तमान सरकार निजी क्षेत्रमैत्री छैन भनेर टिप्पणी गर्न थालेका छन्। यसले पनि बजारमा जोखिम रहेको संकेत गर्छ।

Tata
GBIME
Nepal Life