हेर्नुहाेस विकासमा जाग्दैछन् जनता,गुणस्तरहीन सडक बनाएको भन्दै जनता उत्रिए विरोध प्रदर्शनमा

बिजमाण्डू
२०७३ जेठ ११ गते ००:०० | May 24, 2016
  • कृष्ण ओली/बिजमाण्डू
नेपालगञ्ज । राँझादेखि जमुनाहासम्म निर्माण गरिएको फोर लेन सडक गुणस्तरहीन भएको भन्दै नेपालगन्जमा प्रर्दशन गरिएको छ। विभिन्न विद्यार्थी संगठनहरुको आयोजनामा आज बिहान नेपालगन्जमा विरोध प्रर्दशन गरिएको हो।

धम्बोजीबाट निक्लिएको विरोध र्‍याली विभिन्न चोकहरुको परिक्रमापछि जिल्ला प्रशासन कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा सहभागीहरुले निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सन विरुद्ध चर्का नाराबाजी गरेका थिए। उनीहरुले गुणस्तरहीन सडक सुधार गर्नुको साटो पप्पुले विरोध गर्नेलाई महँगा होटेलमा रात्रीभोज दिएर खुसी पार्न लागेको भन्दै आक्रोश पोखेका थिए।

कार्यक्रममा विद्यार्थी संगठनका प्रतिनिधि, स्थानीय शान्ति समितिका संयोजक तेजविक्रम शाह, पत्रकार पूर्णलाल चुके लगायतले पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन काम गरेको भन्दै सडकको मापदण्डअनुसार गुणस्तर कायम गर्न आग्रह गरे। विद्यार्थी संगठन लगायत संघसंस्थाका प्रतिनिधि तथा नागरिकहरुले जिल्ला प्रशासन कार्यालयमा केहीबेर धर्ना समेत दिएका थिए।

धर्नापछि बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई सडकको तत्काल प्रभावकारी अनुगमन गरी ठेकेदार कम्पनीलाई आवश्यक कारवाही गर्नुका साथै सडक सुधारको कार्य अबिलम्ब थालनी गरी नागरिकप्रति जवाफदेही बन्न अनुरोध गरिएको ज्ञापन पत्र समेत बुझाएका छन्।

समयमै नेपालगञ्जबासीको माग सम्बोधन नगरिए चरणबद्धरुपमा सशक्त आन्दोलन गर्न बाध्य हुने समेत नेपालगञ्ज सडक सुधार अभियानले बुझाएको विज्ञप्तिमा भनिएको छ। विभिन्न स्थानमा सडक भत्किएको, नाली भास्सिएको, विटुमिन उडेको, लेभल नमिलेको लगायतको गुनासो गर्दै विरोध कार्यक्रम गरिएको हो।

Tata
GBIME
Nepal Life