कसरी भयो औसत भन्दा दोब्बर रकमको सेयर किनबेच? कहाँबाट अायो पैसा? अझै आपुर्ति भन्दा माग धेरै

बिजमाण्डू
२०७३ जेठ ११ गते ००:०० | May 24, 2016
काठमाडौं । सेयर कारोबार रकमले तेस्रो दिन पनि नयाँ रेकर्ड कायम गरेको छ । बजारमा मंगलबार एक अर्ब ६५ करोड रुपैयाँ सेयर किनबेच भयो । सेयर संख्या निकै उच्च छ । दिनभरमा ४० लाख ६ हजार कित्ता सेयरको कारोबार भएको छ।
 
यो साता सुरु देखिनै सेयर कारोबार निकै बढेको छ । नेप्से परिसूचकले पनि हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । नेप्से २०.४६ अंकले बढेर मंगलबार बजार बन्द हुँदा १५४४.५३ अंकमा पुग्यो । दिनभर बजार बढ्ने क्रममा नै रह्यो ।
सोमबारसम्म इन्स्योरेन्स समूहले नेतृत्व गरेको बजारलाई मंगलबार बैंक अघि लाग्यो । बैंकिङ समूहको सूचक २५.५२ अंकले बढेपछि बजार हरियो भएको हो । उत्पादनमुलक समूह, अन्य र होटल समूहको सूचक ओर्लिएको छ । 
 
कुल कारोबारमा सबैभन्दा ठूलो हिस्सा पनि बाणिज्य बैंक समूहकै रह्यो । यो समूहको ६२ करोड पाँच लाख रुपैयाँको सेयर किनबेच भयो । दोस्रोमा बीमा समूह रह्यो । बीमा कम्पनीहरुको ५६ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 
 
सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कम्पनी नेपालको आठ करोड ७८ लाख रुपैयाँको, नेपाल बंगलादेश बैंकको आठ करोड ४७ लाख रुपैयाँको, नेपाल लाइफ इन्स्योरेन्सको सात करोड ३५ लाख रुपैयाँको, सानिमा बैंकको ६ करोड ११ लाख रुपैयाँको र रिलायवल डेभलपमेन्ट बैंकको सस्थापक सेयर पाँच करोड ९२ लाख रुपैयाँको किनबेच भयो ।  
 
कसरी बढ्यो कारोबार रकम?
कारोबार रकम बढ्नुको प्रमुख कारण लगानीकर्ताले पोर्टफोलियो परिवर्तन गर्नु हो । बजारमा नयाँ लगानीकर्ता थपिएर भन्दा पनि भएकै लगानीकर्ताले एउटा कम्पनी वा समूहको सेयर विक्री गरेर अर्कोको किन्न थालेपछि कारोबार रकम यति माथि पुगेको हो । 
 
‘केही लगानीकर्ताले पोर्टफोलियो परिवर्तन गर्दा कारोबार रकम धेरै भएको हो, स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मी भन्छन्, थोरै मात्र नयाँ लगानीकर्ता थपिएका छन् ।’ लगानीकर्ताले बैंक, फाइनान्सको सेयर बेचेर बीमा कम्पनीको र बीमाको सेयर बेचेर बैंक तथा फाइनान्स समूहको सेयर किनेका छन् । 
आवासको अनिवार्य बीमा गराउने नियम लागु हुने हल्लाका कारण बीमा समूहको सूचक माथि पुगेपछि केही लगानीकर्ताले यो समूहको सेयर बेचेर बैंक तथा फाइनान्स समूहमा प्रवेश गरेका छन् । 
 
बैंकले कर्जा सजिलै दिएको कारण पनि बजारमा थप पैसा आएको अनुमान लगानीकर्ताको छ । विटी लोन बढेको कारण पुँजी बजारमा थप पैसा गएको अनुमान गरिएको छ । 
 
सस्थागत लगानीकर्ताले पनि सेयर किनेका छन् । सस्थाहरुले थप पैसा बजारमा हाल्दा स्वतः कारोबार रकम र नेप्से परिसूचक बढ्छ । केही बैंक तथा वित्तीय सस्थाहरुले बीमा कम्पनीको सेयर किनेको अनुमान ब्रोकर कम्पनीहरुको छ । साना लगानीकर्ताले बेच्न चाहेको सेयर सजिलै यस्ता सस्थाहरुले किनेपछि बजारमा माग बढी भयो । माग बढेको कारण सेयरको भाउ पनि बढ्यो र कारोबार रकम पनि बढेको छ । 
 
बैंकले मात्रै होइन, बीमा कम्पनीहरुले बजारमा लगानी बढाएका छन् । केही बीमा कम्पनीले बैंक तथा वित्तीय सस्थाको सेयर किने । यसले कारोबार रकम माथि उठाउन थप सहयोग गर्यो । 
 

Tata
GBIME
Nepal Life