निर्जिवन बीमा कम्पनीको सेयरको भविस्य कस्तो छ ?

बिजमाण्डू
२०७३ जेठ २५ गते ००:०० | Jun 7, 2016
निर्जिवन बीमा कम्पनीको सेयरको भविस्य कस्तो छ ?


  • शेषमणि दाहाल
केहि दिनदेखि घटेको सेयर बजार पछिल्लो दुई दिनयता भने फराकिलो आयतनमा बढिरहेको छ ।

Tata
GBIME
Nepal Life

बजारलाई किर्तिमानी उचाईमा पुर्यायउन बीमाको बिशेष योगदान छ । अहिले आएर केहि लगानीकर्ताहरु बीमाको बढ्नुपर्ने परिसुचकहरु बढिसके, अब यो ओरालो लाग्नु बाहेक अन्य बिकल्प छँदैछैन भनेर ठोकुवा गरिरहेका छन् भने केहि अझै बढ्नसक्ने प्रशस्त ठाँउ छ भनिरहेका छन् ।
 
यहि सेरोफेरोमा निर्जिबन बिमा कम्पनीको ब्यापार पहिले कस्तो थियो, अहिले कस्तो छ र भबिस्यमा कस्तो होला भनेर केहि तथ्यगत बिश्लेषण गर्ने प्रयास गरेको छु ।

कस्तो थियो बिगत?
नेपालको निर्जिबन बिमा कम्पनीको बिगत खासै सुखद देखिदैन । बित्तिय अबस्थाहरु पनि खासै चित्तबुझ्दो मान्न सकिदैन । जुन कुरा नेपाल स्टक एक्सचेन्जको बीमा सुचकले पनि प्रमाणित गरेको थियो ।

त्यति कडिकडाउ नियमनकारी निकाय नभएको र आधुनिक ऐन नभएकाले पनि बीमा क्षेत्रले प्रगति गर्न नसेकेको तथ्य कसैबाट छिपेको छैन । गत आर्थिक बर्ष २०७१÷७२ को बिबरणलाई आधार मान्दा पनि निर्जिबन बिमाको प्रगति सन्तोषप्रद देखिँदैन । यत्तिको अर्थतन्त्र भएको मुलकका सबै निर्जिबन बिमा कम्पनीले गरि बार्षिक पाँच अर्ब बीमा प्रिमियम जम्मा गर्न पनि निकै ठुलो पापड पेल्नु पर्दथ्यो । पुँजी कम, ब्यापार कम, जनचेतना कम, निमनकारीको प्रभाबकारी नियमनको अभाबले गर्दा कोहि पनि लगानीकर्ताको आँखामा यो क्षेत्र पर्न सकेन । त्यसैले पनि २०६५ सालमा नेप्सेले रेकर्ड राख्दासमेत बिमा क्षेत्रको योगदान त्यति उल्लेखनीय रहन सकेन ।

कस्तो छ अहिले ?
गत बर्षको भुईचालोले कम्तिमा आमनागरिकमा बीमाप्रति चासो र जागरुकता एकै पटक ह्वात्तै बढाएको छ । सर्वसाधारणले बीमाको महत्व ढिलै भए पनि बुझ्नथालेका छन् । यो एकदमै महत्वपुर्ण कुरा हो । चालु बर्षको चैतसम्मको विवरण हेर्दा आर्थिक बर्ष समाप्तिसम्म बिमा प्रिमियम कम्तिमा दश अरब रुपैयाँ उठ्ने लगभग पक्कापक्कि जस्तै देखिन्छ। गत बर्षको कुल बिमा प्रिमियमको तुलनामा यो सत्प्रतिशत वढि हो ।

एक बर्षमा शतप्रतिशत बृद्धि जुनसुकै ब्यबसायमा असम्भब हुन्छ । यो बृद्धि निर्जिबन बीमा ब्यवसायलाई प्राप्त भएको छ ।

भुईचालोले गर्दा नेपालका बीमा कम्पनीहरु धरासायी हुन्छन् भनेर धेरैले गरेको अनुमान केबल अनुमानमा मात्र सिमित भएको छ । धरासायी हुनुको सट्टा बीमा कम्पनीले झन् झन् नाफा बढाएर लगेकाले पनि यो क्षेत्र सुरक्षित लगानीको क्षेत्र हो भन्ने सोच लगानीकर्तामा परेको देखिन्छ, भने बीमा कम्पनीको आत्माबिश्वास पनि बढेको पाईन्छ ।

आमनागरिकमा बढेको जागरुकताका अतिरिक्त, यो क्षेत्रको नियमनकारी निकायको बिस्तारै बढ्दै गएको प्रभाबले पनि सकारात्मक दिशा दिएको छ । यसअघि नक्कली बिमा दाबी गरेर वा गराएर कम्पनी चुस्नेहरु बिस्तारै डराउदै गएका छन् । ब्यबस्थापिका संसदबाट नयाँ बिमा ऐन पारित हुने प्रकृयामा छ । यसले बिमा क्षेत्रलाई अझ ब्यबस्थित तरिकाले नियमन गर्ने बिश्वास आमलगानीकर्ताले गरेका छन् ।

भबिस्य के होला ?
आगामी आर्थिक बर्षको बार्षिक बजेटले पनि निर्जिबन बीमा ब्यबसायको भबिश्यको सुखद बाटो केहि हदसम्म भए पनि कोरिदिएको छ । बजेटका केहि ब्यबस्थाले निर्जिबन बिमाब्यबसायलाई टेवा पुर्याउने बिश्वास गर्न सकिन्छ । बजेटले ल्याएको अनिबार्य घर बिमाको ब्यबस्था, बाली बिमामा अनुदानको ब्यबस्था, बाली बिमाको सुरक्षणमा ऋणको ब्यबस्था, सवारी साधनमा यात्रा गर्नेको पनि बिमाङ्क रकम बृद्धिको कुरा, बैदेशिक रोजगारीमा जानेको बीमाङ्क बृद्धि र स्वास्थ्य बिमाको ब्यबस्थाले गर्दा आगामी बर्षमा बिमा ब्यबसायको क्षेत्र अझ ठुलो हुने पक्का छ ।

हालको बिमा ऐनले नै पुँजी सम्बन्धि ब्यबस्था गरेकाले त्यो संसोधन गरि पुँजी बृद्धिको निर्णय गर्न बीमा समितिलाई अधिकार कटौती गरेको छ ।  पाईप लाईनमा रहेको नयाँ बीमा ऐन पारित भए, पुँजी ऐनमा नतोकिएर बीमा समितिलाई तोक्ने अधिकार प्राप्त हुने छ । त्यसो हुदाँ बीमा समितिले समय र बजारको आबश्यकता र अबस्था हेरि पुँजी बृद्धिको निर्णय गर्नेछ । यसले पनि बीमा क्षेत्रलाई सजिलै चलायमान बनाउनेछ ।

स्वास्थ्य बिमाले के गर्ला ?
आर्थिक ऐन, २०७३ ले कुनै पनि करदाताले स्वास्थ्य बिमा गरेको रहेछ भने, उसले त्यो बिमा बापत तिरेको प्रिमियम रकम वा २० रुपैयाँमा जुन कम हुन्छ त्यो घटाई बाँकी रकममा मात्र कर तिरे पुग्ने ब्यबस्था गरेको छ ।

यसरी हेर्दा एउटा करदाताले स्वास्थ्य बिमा गर्दा आफ्नो स्वास्थ्यमा गर्ने खर्च र कर रकम दुबै बचत गर्न सक्ने अबस्था देखिन्छ । त्यसैले आम करदातालाई यो ब्यबस्था सुसुचित गर्ने हो भने मात्रै पनि बिमाको बजार हामीले अनुमान गरेभन्दा धेरै बढ्ने देखिन्छ ।

अहिले नेपालमा नियमित तलब खाने (सरकारी र निजी) ब्यक्तिको संङ्ख्या कम्तिमा बिस लाख रहेको अनुमान गरिएको छ । ती बिस लाख सबैले धेरैथोरै जति भए पनि नियमित रुपमा कर तिरिरहेका छन् । उनीहरुको कर दायित्व कम हुन्छ साथसाथै भबिश्यमा पर्न सक्ने स्वास्थ्य सम्बन्धि जोखिम पनि स्वास्थ्य बिमामार्फत घटाउन सकिन्छ भनेर बुझाउन मात्र सकियो भने पनि यहाँका बिमा कम्पनीलाई पुग्ने बजार श्रृजना हुन्छ ।
 
करिब बीस लाख तलबि करदातामध्येमा २५ प्रतिशत मात्र कर्मचारीले स्वास्थ्य बिमा गरेर बार्षिक दश हजार मात्र तिरे भने पनि बार्षिक प्रिमियम पाँच अर्ब उठ्छ । जुन गत बर्ष सबै निर्जिबन बिमा कम्पनीले सबै किसिमका ब्यबसायबाट गरेको कमाईको रकम बराबर हो ।

यसका अतिरिक्त नेपाल सरकारले केहि क्षेत्रका नागरिकलाइ स्वास्थ्य बिमाको लागि दुई अर्ब पचास करोड रुपैया छुट्याईसकेको छ । यत्रो बजार समात्न केबल जरुरी छ त, चुस्त प्रसासन, बिमितलाई लोभ्याउन सक्ने पोलिसीहरु र झन्झट रहित सेवा सुबिधा । यति मात्र नेपालका निर्जिबन बिमाकम्पनीले ब्यबस्था गर्न सके भने पनि ब्यबसायको आकार निकै माथि पुग्ने देखिन्छ ।

लगानीमा जोखिम के छ ?
जोखिम नलिई प्रतिफल प्राप्त गर्न सकिदैन । जति बढि जोखिम लियो त्यति नै धेरै प्रतिफलको सम्भाबना पनि हुन्छ । नेपालका बिमा कम्पनीले बीमाको दाबि भुक्तानी गर्न नसकेर कम्पनी नै खारेज हुने जोखिमको सम्भाबना शुन्यप्रायः छ, किनकी बीमा कम्पनीले निश्चित रकमभन्दा बढिको जोखिम अनिबार्य रुपमा पुनर्बिमा कम्पनीमा सार्नै पर्दछ । त्यसैले कुनै ठुलो दाबि परेमा  पुनर्बिमा कम्पनीले त्यो दाबि भुक्तानी गर्नु पर्ने हुन्छ । त्यसैले यहाँ त्यस्तो कम्पनी नै खारेज हुने सम्मको जोखिम एकदमै न्युनः रहेको छ ।

नेपालको बीमा क्षेत्रको एउटै जोखिम भनेको बीमाको बारे जनचेतना हो । जनचेतनाको स्तर माथि गए, भबिस्य पनि सुखद देख्न सकिन्छ । जनचेतनाको स्तर बढ्न सकेन भने नेपालको बिमा क्षेत्रले आफुले पाउने अबसर सधै गुमाउने छ ।

सेयर मुल्य बढि भएकै हो त ?
सेयर मुल्यलाई हेर्ने आआफ्नो दृष्टिकोण हुन्छ । उदाहरणको लागि एउटा प्याकेट चाउचाउ २० रुपैयाँमा पाउछ भने त्यो कसैलाई निकै सस्तो लाग्छ भने कसैलाई निकै महङ्गो, कसैलाई ठिकै । सस्तो लाग्नेले धेरै किन्ला, महङ्गो लाग्नेले नकिन्ला वा ठिक्क लाग्नेले ठिक्क किन्ला । त्यसैले यो सामनको यति नै रकम हुनुपर्छ भन्नु नियन्त्रित सोच मात्र हो ।

लगानी महङ्गो वा सस्तो लाग्नुमा बिभिन्न कारक तत्वहरुले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । जस्तै कि, लगानीको लागत, लगानीको अपेक्षित प्रतिफल, अन्य लगानीको मौकाको प्रतिफल लगायतले भूमिका खेलेको हुन्छ । यदि लगानीको अन्य स्थान नपाईएमा, लगानीकर्ताहरु थोरै प्रतिफलको लागि भएपनि लगानी गर्न तयार हुन्छन । यदि अर्थतन्त्रमा लगानीका लागि प्रशस्त अबसरहरु भए, लगानीकर्ताहरु त्यसतर्फ पलायन हुन्छन् । त्यसैले सेयर मुल्यलाई कहिल्यै पनि निरपेक्ष आधारमा हेर्नु हुदैन, यो जहिले पनि सापेक्षित हुन्छ ।