शनिबारदेखि इपिएस कोरिया भाषा परीक्षा, राहदानीको सक्कल र प्रवेशपत्रको सक्कल बोक्न नविर्सनुस्

बिजमाण्डू
२०७३ असार ३ गते ००:०० | Jun 17, 2016

काठमाडौँ । रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा शनिबारदेखि हुँदैछ।
 
इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले निरीक्षक र अनुगमनकर्ता गरी एक हजार ५०० परीक्षामा खटिने जानकारी दिए। परीक्षा शनिबार र आइतबार दुई दिन बिहान ८:३० बजे र अपराह्न १२:३० बजेदेखि सञ्चालन हुनेछ। पढाइ १०० र लेखाइ १०० गरी २०० पूर्णाङ्कको हुने सो परीक्षा ७० मिनेटको हुनेछ।
 
यस वर्ष ५२ हजार २२२ पुरुष र आठ हजार ४०४ महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार १७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार ४५१ छन्।
 
यस वर्ष तीन हजार १०० लाई उत्तीर्ण गराइने र तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन्। काठमाडौँ उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन्।
 
परीक्षा दिन आउँदा आवेदन दर्ता गर्दा पेस गरिएको राहदानीको सक्कल र प्रवेशपत्रको सक्कल लिई आउनुपर्ने व्यवस्था यस पटक गरिएको छ। सक्कल कागजातबिना परीक्षामा समावेश नगराइने निर्देशक बास्तोलाले बताए।
 
आगामी साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरु सन् २०१७ देखि कोरिया जान पाउने छन्। हालसम्म ३८ हजार जना भाषा परीक्षा मार्फत कोरिया गएका छन्। रासस

Tata
GBIME
Nepal Life