नेपालले भारतमा बैंक शाखा खोल्न पुँजीले मात्र हुँदैन, प्रतिस्पर्धी क्षमता पनि चाहिने



बिजमाण्डू
२०७३ असार ८ गते ००:०० | Jun 22, 2016
नेपालले भारतमा बैंक शाखा खोल्न पुँजीले मात्र हुँदैन, प्रतिस्पर्धी क्षमता पनि चाहिने


  • सुदर्शन सापकोटा/बिजमाण्डू

मुम्बर्इ। भारतीय केन्द्रीय बैंकका गभर्नर डा. रघुराम राजनले प्रतिस्पर्धी क्षमता वढाएर आएमा नेपाली बैंकहरुलाई भारतमा शाखा खोल्न सक्दो सहयोग गर्ने बताएका छन् ।

ठूलो पुँजीभन्दा पनि क्षमताका कारणले शाखा सञ्चालन गर्न अप्ठेरो पर्न सक्ने भन्दै राजनले पुर्वाधार विकास गरेर ब्यवसायिक कारोबार गर्न आएमा सहयोग गर्ने बताएका हुन् ।नेपालबाट आएका आर्थिक पत्रकारहरुलाई संवोधन गर्दै रिजर्भ बैंक अफ इन्डियाका गभर्नर राजनले भने-  नेपालका बैंकको अवस्था कस्तो छ भनेर वास्तवमा मलाई थाहा छैन । ठूलो बजारमा आउँदा प्रतिस्पर्धी हुनुपर्छ । त्यसका लागि तयार भएर आउँदा सजिलो हुन्छ ।
 
नेपाल राष्ट्र बैंक र युकेएड अन्तर्गतको सक्षमको सहयोगमा भारतको पुनेस्थित आरबिआइको ट्रेनिङ सेन्टर गएका पत्रकारहरुसँग कुराकानी गर्दै उनले आयात निर्यातको अवस्थालाई मात्र हेरेर बैंकको कुरा गर्न नमिल्ने तर्क गरे ।भारतसँग नेपालको ६५ प्रतिशतभन्दा वढि ब्यापार निर्भरता रहेको अवस्थामा नेपाली बैंक खोल्नका लागि भारतले सहयोग गर्न सक्दैन र भन्ने प्रश्नको उत्तरमा यो जवाफ  फर्काएका हुन् ।
 
बैंक खोल्न पुँजीवाहेक पनि धेरै कुरा आवश्यक पर्ने भन्दै डा. राजनले बैंक खोल्नका लागि पुँजीसँगै एउटा राम्रो पुर्वाधार चाहिने बताए । उनले न्युनतम पुँजी जसले पनि पुर्‍याउनु पर्ने बताए । भारतमा बैंक खोल्नका लागि पाँच अर्ब भारतीय रुपैयाँ चुक्ता पुँजी आवश्यक पर्छ ।
 
नेपाली बैंकहरुले अहिलेसम्म भारतमा एउटा सम्पर्क कार्यालय मात्र खोल्न सकेका छन् । निजी क्षेत्रको ग्लोवल आइएमइ बैंकले भर्खरै भारतमा सम्पर्क कार्यालय खोलेको हो । यो कार्यालयले ब्यापारिक कारोबार गर्न पाउँदैन ।
 
नेपालको बैंकको शाखा कार्यालय हुँदा आयात निर्यात ब्यापारमा निकै सजिलो हुन्छ । आरबिआइले पुँजीमा केही पुनरावलोकन गर्दा नेपाली बैंकहरु पनि भारतमा आउन सक्ने थिए नि भन्ने प्रश्नमा उनले भन्- प्रतिस्पर्धाका लाग पनि पुँजी आवश्यक पर्छ । नेपालजस्तो मुलुकले यहाँ ब्यवसाय गर्नका लागि प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।
 
सेप्टेम्बरदेखि गभर्नरबाट अवकास हुन लागेका राजनले अर्को एक प्रश्नमा तत्काल सार्क क्षेत्रमा साझा मुद्रामा जान नसकिने पनि बताए ।नेपालबाट आएका पत्रकारहरुले उनलाई बैंकिङ कनेक्टिभिटिदेखि साझा मुद्राको कुरा धेरै हुने गरे पनि यसबारेमा ठोस कदम बढ्न नसकेको बारेमा जिज्ञासा राखेका थिए ।जवाफमा राजनले भने- युरो जोनमा पनि कमन करेन्सी छ । त्यही कुराहरु यहाँ पनि आएको हो । यो राम्रो कुरा त हो तर यसका लागि हामी तयार छौं कि छैनौं हेर्न आवश्यक छ ।उनले साझा मुद्राको बिषयमा निकै धेरै कम्प्लिकेसनहरु रहेको बताउँदै कमन करेन्सीको कुरा गर्नुभन्दा अगाडि धेरै काम गर्न बाँकी रहेको बताए ।

Tata
GBIME
Nepal Life