चार अर्बमा तयार भएको चन्द्रागिरी केबलकारमा कलाकार मनुजबाबुको अनुभुति, ‘आहा’, ‘अति सुन्दर

बिजमाण्डू
२०७३ असार ९ गते ००:०० | Jun 23, 2016
चार अर्बमा तयार भएको चन्द्रागिरी केबलकारमा कलाकार मनुजबाबुको अनुभुति, ‘आहा’, ‘अति सुन्दर

● ऋषिकेश दाहाल/बिजमाण्डू
काठमाडौं
।  घाम नअस्ताउँदै सुतिहाल्ने र मध्यरातमा उठेर घोत्लिरहने अथवा चित्र बनाउन थाल्ने कलाकार तथा साहित्यकार मनजुबाबु मिश्रलाई उनको घरबाट बाहिर भेट्नु दुर्लभ नै हो।

राणाकालीन व्यवस्था अन्त्य गर्दै भित्रिएको बहुदलीय व्यवस्थाको विरुप पक्षले उनलाई प्रजातन्त्रको पक्षधर बन्नै दिएन। २०४६ सालको परिवर्तनपछि कुनै पनि समारोहमा वा सार्वजनिक ठाउँमा उनी देखिएनन्। आफ्नै घरबाट उनी बाहिर आउन मानेनन्। उनलाई घरबाट बाहिर बोलाउन जानेहरु नै थाके।

Tata
GBIME
Nepal Life

यसपाला भने हामीले उनलाई बाहिरै भेट्ने मौका पायौं। उनलाई हामीले त्यहाँ भेट्यौं, जहाँ पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका हेरेर नेपाल खाल्डोमाथि विजय हासिल गर्न एउटा शिलामा शिर झुकाएका थिए। त्यहाँ भेट्यौं जहाँ महाकवि लक्ष्मीप्रसाद देवकाेटाले कविता कोरेका थिए – यात्री-
‘कुन मन्दिरमा जान्छौं यात्री
कुन मन्दिरमा जाने हो…।’

यो चन्द्रागिरी हो। यहाँबाट दक्षिणतिर हेर्दा राति वीरगञ्जमा बलेको बत्ती देखिन्छ भने उत्तरतिर हेर्दा हिमश्रृंखलाको पर्खाल। तर जतिखेर हामी मिश्रलाई भेट्दै थियौं, २० मिटर दूरीका मानिसहरु पनि देख्न सकिने थिएन। काठमाडौंमा झरी परिरहेको थियो र यहाँ पानी बोकेर आएको बादलको बीचमा हामी थियौं। पानी फुसफुसाउँदै थियो रुझाउने गरी होइन।

आकाश नखुल्दा केही पनि देखिएन बादल सिवाय।‘यो सुन्दरता त पछि खोजेर पनि पाउन सकिन्न,’ सबैतिर बादलले छोपेको देख्दा मिश्र भने प्रफुल्लित थिए। घरबाट बाहिर ननिस्किएरै संसार नियाल्ने मनजुबाबु यहाँ बादलभित्रै रमाइरहेका थिए। भन्दै थिए, 'आहा', ‘अति सुन्दर!’

बिहान थानकोटको पुलिस चौकीबाट दक्षिणतिर लागेपछि पुगिएको चन्द्रागिरी हिल्सको केबुलकार स्टेसन रित्तै थियो। मनुजबाबु परिवारका अन्य सदस्यसँगै टहलिँदै थिए। केबुलकार तयार भइसक्यो, परीक्षणहरु पनि पूरा भइसके। ‌ओपनिङ हुन बाँकी छ। मानिसहरुको भिड सुरु नहुँदै मिश्र यो केबुलकार चढ्दै थिए। उनका छोरा रविन्द्र र बुहारी सारिका बाबुको रहर पूरा गराउन साथै थिए। सँगै थिए भाइ र बुहारी पनि। परिवार नै यहाँ आइपुगेको थियो।

डायबिटिजले मनुजबाबुको शरीरमा स्थायी डेरा जमाएको छ। आउँदा बुहारी सारिकाले सुगर फ्री बिस्कुट साथै ल्याएकी छिन्। तर उनी सुगर फ्रीमा रमाउन चाहिरहेका छैनन्। चियामा चिनी हाल्न लगाएरै पिए। चुरोट पटक पटक सल्किरह्यो। ८० वर्षका उनले सुनाए, ‘म होइन, मेरो परिवार नै बिरामी छन्।’ व्यङ्ग्यात्मक शैलीमा आफू स्वस्थ रहेको बताउँदै थिए उनी।

‘मुखले चुरोट खानेलाई क्यान्सर हुन्छ,’ उनी रोकिएनन्, ‘आत्माले मागेर मनैदेखि खाने हो भने सबै पच्छ। मनले मागेन भने भात पनि पच्दैन।’
नेताहरुलाई बिबिसीको अन्तर्वार्तामा हायलकायल बनाउने रविन्द्र यता भने निरीह थिए। आफ्ना बाबु मनजुबाबुको तर्कमा उनी पनि सहमत देखिए। ‘अस्ति परीक्षण गरेको कसरी हो छातीमा एउटा दागसमेत देखिएन। अचम्मै लाग्यो,’ रविन्द्रले सुनाए।

केहीअघि उनको प्रोस्टेटको शल्यक्रिया भएको थियो। बेड रेस्टमै रहँदा उनले छोरासँग भनेछन् – ‘केबुलकारबाट चन्द्रागिरी जाऔं, कहिलेदेखि सुरु हुन्छ?’

घरको गुलाफलाई हेर्दा आउने आनन्दानुभूति बाहिर निस्किएर नपाउने उनी बादल चिर्दै उकालिने केबुलकारभित्र छन्। चन्द्रागिरीतिर उकालिरहँदा उनले पटक पटक ‘वाह’ र 'आहा' शब्द दोहर्यााइरहे। दक्षिणतिर फर्केर बसेका उनी पूरै टाउको तलतिर मोड्दै काठमाडौं हेरिरहेका थिए। एकाएक केबुलकार बादलभित्र घुस्यो। केबुलकारका लठ्ठासमेत देख्न मुस्किल।

‘तपाईँ आएरै होला आज बादलले छोप्यो,’ हामीले जिस्क्यायौं, ‘अन्तर्मनले हेर्ने बानी परेकाले तपाईँलाई बादलले साथ दियो।’उनले हाम्रो भनाइमा समर्थन जनाउँदै हाँसे। उनकी पत्नीले केही देख्न नपाएको बताइरहँदा मिश्रले भने, ‘हरेक मौसममा फरक टेस्ट छ। यस्तो मजा अर्को पटक पाइन्नँ।’ केबुलकारको यात्रा सकिएको छैन तर उनले योजना बुनिसके, ‘यो पहिलोपटक हो र, अब फेरि अर्को चोटी पनि आउने हो।’

एकाएक केबुलकार रोकियो तर हल्लियो राम्रैसँग। केबुलकार अड्याउने टावर कता छ भन्नेसमेत देखिएन। बुहारी सारिका सबैभन्दा धेरै आत्तिइन्। तर मनजुबाबु रोकिँदासमेत आनन्द लिइरहेका थिए। सायद् बिजुली गएको थियो। एकैछिनमा फेरि केबुलकारले गति लिइहाल्यो। हामी पुग्यौं चन्द्रागिरीको शीर्षस्थानमा।यहाँ पुग्दा बादल थप बाक्लिएको थियो। ‘कहिलेकाँही त नजिकैको मानिस पनि देखिन्न,’ उनले हस्यौलीमा भने, ‘यहाँ आउने एउटा जोडीले अर्को जोडीसमेत देख्दैन।’