जलमग्न विराटनगर, बसपार्क, महेन्द्र चोक लगायतका अन्य बजार डुबानमा, विमानस्थलसमेत प्रभावित

बिजमाण्डू
२०७३ असार ११ गते ००:०० | Jun 25, 2016
जलमग्न विराटनगर, बसपार्क, महेन्द्र चोक लगायतका अन्य बजार डुबानमा, विमानस्थलसमेत प्रभावित

विराटनगर । बिहानैदेखिको अविरल वर्षाका तराईका विभिन्न ठाउँको जनजीवन प्रभावित बनेको छ। मोरङ, सुनसरी, झापा, सिरहा लगायतका तराईका जिल्लामा वर्षाको प्रभाव बढी देखिएको हो।
 
बिहानदेखि जारी अविरल वर्षाका कारण मोरङको विराटनगरका विभिन्न ठाउँहरु डुबानमा परेका छन्। दर्जनौं घरमा पानी पसेको छ भने सडकमा दुई फिटमाथिबाट पानी बगिरहेको छ।
 
सडक विस्तार र ढल निर्माणको काम भइरहेको कारण पानीको समुचित निकास हुन नपाउँदा अधिकांश व्यक्तिको घरमा पानी पसेको हो।
 
मोरङका अन्य ठाउँमा जलमग्न भएका छन्। केही दिनदेखि पानी परे पनि बिहानबाट वर्षाको मात्रा बढेकाले जनजीवन झन् प्रभावित बनेका हुन्।

जारी वर्षाले बसपार्क, महेन्द्र चोक लगायतका अन्य बजार डुबानमा परेका छन्। मधुमल्ला बजार, कसेनी लगायत ठाउँका घर पनि डुबानमा परेका छन्। बजारका मुख्य सडक जलमग्न अवस्थामा देखिन्छन्। मानिस घरबाट बाहिर निस्कन आँट गरिरहेका छैनन्।
 
लगातार वर्षाका कारण विराटनगर विमानस्थलसमेत प्रभावित भएको छ। निरन्तर रुपले वर्षा भइरहेका कारण मोरङ जिल्ला भएर बग्ने नदीको जलस्तर वृद्धि भएको छ। बाढीबाट अतिप्रभावित मधुमल्ला र हसन्दहको जनजीवन कष्टकर बनेको छ।
 
ती दुई गाविसमा केही दिनअघि खोलाको पानी पस्दा ५० भन्दा बढी परिवार विस्थापित भएका थिए।
 
सप्तरीमा पनि बाढीको असर देखिएको छ। खाँडो खोलामा आएको बाढीले दक्षिणी भेगका करिब एक दर्जनभन्दा बढी गाविस डुबानमा परेका छन्।

खाँडो नदीमा आएको बाढीमा पानी हाल गाउँघरमा पसेपछि गाउँका झन्डै सयभन्दा बढी घरमा दुई फिटसम्म पानी जम्मा भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। साथै बाढीले तिलाठी–हनुमाननगर सडक खण्डको दुई किमी कटान गरेको बताइएको छ।
 
बाढीबाट राहत तथा उद्धार र बाँध मर्मतका लागि हाल जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षको नेतृत्वमा १५ जनाको टोली त्यसतर्फ गएको छ। जिल्लाका दक्षिण भेगमा पर्ने सकपुरा लोनिया, तिलाठी, रमपुरा मल्हनिया सहितका गाविस र भारतसँग जोडिएको कुनोलीमा समेत बाढीले घर डुबानमा परेका बताइएको छ।
केराखेती नष्ट

Tata
GBIME
Nepal Life

अविरल वर्षासँगै आएको बाढीले सप्तरीको भारदह– १ मा हजारौँ बिघामा लगाइएको केराखती डुबानमा परेको छ।
 
पूर्वी पहाडी जिल्लामा लगातार परेको पानीले सप्तकोसी नदीमा पानी थुनिएपछि भारदहमा लगाइएको हजारौँ बिगाहाको केरा डुबानमा परेको हो।
 
करोडौँको लागतमा स्थानीय किसानले लगाएको केरा लगातार परेको पानीले केराको खेतखेतमा पानी पसेको स्थानीय किसान अशोक माझीले बताए।
 
केराखेतमा पानी पसेपछि किसान अहिले चिन्तित देखिएका छन् । यस्तै लगातार परेको पानीले मोहली खोलामा आएको बाढीले भारदह– १ मा लगाइएको केरामा पनि आज बिहानबाट केराको बोट काटेर बगाउन थालेको छ।

आज बिहानसम्ममा मात्र करिब दुई बिघाहा भन्दा बढी केरा मोहली खोलाले कटान गरेको बताइएको छ।

कटानले स्थानीयवासी त्रासमा
अविरल वर्षासँगै तराईका विभिन्न ठाउँ प्रभावित भएका छन्। कतिपय ठाउँमा बाढीमा फसेका स्थानीयलाई उद्धार गरिएको छ भने कतै बाढीले निम्त्याउने जोखिमका कारण स्थानीय त्रासमा छन्।
 
अविरल वर्षापछिको बाढीले आज बिहानैदेखि सिरहाको डुमरी गाविस– ७ तिलुवास्थित घुर्मी खोलाको बाँध भत्काउन थालेपछि स्थानीयवासी त्रसित भएका छन्।
 
एक सातादेखिको वर्षाका कारण बिहानैदेखि घुर्मीखोलामा आएको तीव्र गतिको बाढीले बाँध भत्काउन थालेको हो। गाउँमा बाढी पस्ने भएकाले स्थानयवासी त्रसित बनेको गाविस सचिव हरिकृष्ण मैनालीले जानकारी दिए।
 
'बाढीले घुर्मी खोलाको बाँध टुटेको छ,' सचिव मैनालीले भने. 'जसका कारण गाविसको वार्ड नं ७ मा ठूलो क्षति पुर्‍याउन सक्ने सम्भावना देखिन्छ।'
 
सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले भने जल उत्पन्न कार्यालय सिरहाबाट इन्जिनियरसहितको प्राविधिक टोली बिहानै त्यसतर्फ पठाएको जानकारी दिएका छन्।
 
अविरल वर्षाका कारण सिरहा सदरमुकामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेको छ। सदरमुकामस्थित जिल्ला पशु कार्यालय, कृषि विकास, जिल्ला जनस्वास्थ्य, विद्युत् प्राधिकरण कार्यालय लगायतका कार्यालयमा पानी जमेका कारण त्यहाँ आवतजावत प्रभावित बनेको छ।
 
यसअघि हिजो सिरहाको लहानस्थित बलान खोलाबाट प्रहरीले तीन जनालाई उद्धार गरेको थियो।
 
लहान नगरपालिका ४ स्थित सुकुम्बासी टोलछेउ बलान खोलामा आएको बाढीमा प्रवेश राम, छोटु अन्सारी र बैधनाथ पासमान फसेका थिए।

इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी नायव उपरीक्षक राजकुमार केसीको कमाण्डमा गएको टोली र सशस्त्र प्रहरी नायव उपरीक्षक लिलाराम पुनको नेतृत्वको टोलीले उनीहरुलाई उद्धार गरेको थियो।
(राससको सहयोगमा)