एफएनसिसिआईको अध्यक्ष हुने पालो मेरो हो, बरिष्ठ उपाध्यक्ष भवानी राणासँगको अन्तर्वार्ता

बिजमाण्डू
२०७३ असार १२ गते ००:०० | Jun 26, 2016
एफएनसिसिआईको अध्यक्ष हुने पालो मेरो हो, बरिष्ठ उपाध्यक्ष भवानी राणासँगको अन्तर्वार्ता

नेपाल उद्योग बाणिज्य महासंघको साधारणसभा आउन एक वर्ष बाँकी छ । एक बर्ष बाँकी रहँदै महासंघमा निर्वाचनको फिबर लागिसकेको छ। महासंघको निर्वाचनबाट चुनिएर आएका प्रदीपजंग पाण्डे विशेष परिस्थितीबाट वाहिरिनुपर्ने अवस्था आएपछि महासंघमा सर्वसम्मत रुपमा पशुपति मुरारका अध्यक्षमा चयन भए । मुरारका अध्यक्षमा चयन हुँदा केही कार्यकाल अध्यक्षको निर्वाचन नहुने र बरिष्ठलार्इ स्वत: अध्यक्ष बनाउने सहमति भएको चर्चा चल्यो । त्यही चर्चा अनुसार महासंघको १४औं कार्यसमिति बैठकले बरिष्ठ उपाध्यक्षलार्इ स्वत: अध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने निर्णय गर्यो । महासंघकी बरिष्ठ उपाध्यक्ष भवानी राणालार्इ बिजमाण्डूका उमेश पौडेलले सोधे, अघिल्लो पटक पशुपति मुरारका सर्वसम्मत अध्यक्ष र तपाई वरिष्ठ उपाध्यक्ष  हुँदा भएको सहमति अनुसार तपार्इ सर्वसम्मत अध्यक्ष हो ?

Tata
GBIME
Nepal Life

 

नेपाल उद्योग बाणिज्य महासंघको साधारणसभा आउन अझै एक वर्ष बाँकी छ तर अहिलेदेखिनै प्रचार अभियान सुरु भइसकेको छ । तपार्इले पनि प्रचार अभियान सुरु गरिसक्नुभयो ?
होइन, चुनाव आउनका लागि अझै एक बर्षको समय छ। हामी काम गरिरहेका छौँ चुनावका लागि लबिङ  गर्ने भन्दा काम गर्ने हो । अहिले हामी काम गरिरहेका छौं। निर्वाचनका लागि अरुले के गरिरहेका छन् मलार्इ मतलब छैन । मैले कुनै प्रचार अभियान थालेको छैन ।
 
अघिल्लो पटक पशुपति मुरारका सर्वसम्मत अध्यक्ष र तपाई वरिष्ठ उपाध्यक्ष हुँदा तपाइहरुबीच गोप्य सहमति भएको चर्चा छ , त्यहि सहमतिअनुसार तपाईँ अध्यक्ष बन्ने लाइनमा हो ?
 
हैन सहमतिभन्दा पनि त्यो बेला महासंघलाई सहमतिमा अगाडि बढाउनुपर्छ भन्ने कुरा भएको थियो। महासंघलाई इलेक्सनले धेरै विगार्यो र त्यसलाई अगाडि लैजानका लागि एउटा सहमति भएको हो।

अहिलेको मुख्य एजेण्डा भनेको देशको आर्थिक सम्बृद्धि नै हो। देशमा लगानीको वातावरण बनाउन र सबृद्ध मुलकतिर लैजान  सवै व्यावसायी एकजुट हुनुपर्यो । त्यसका लागि आफ्नो एजेन्डा अगाडि बढाउनु राम्रो हो। त्यही भएर हामीले महासंघमा एकजुट भएर जाउ मात्र भनेको हौ, अहिले त चुनाबले गर्दा हाम्रो छवि नै विग्रेला कि भन्ने डर भइसक्यो।

अघिल्लो चुनावमा उहाँ पशुपति बरिष्ठ पनि हुनुहुन्थो र अहिले अध्यक्ष हुनुहुन्छ त्यहि भएर अब मेरो पालो नै हो।
 
 तपार्इँहरुबीच सहमति  के भएको थियो ?
 
चुनाबको वेला पुर्व पदाधिकारी पनि हुनुहुन्थ्यो, महासंघको छबि विग्रिरहेको बेला मिलेर अगाडि बढौं भन्ने नै थियो। उहाँ वरिष्ठ भएको बेला अध्यक्षमा दिउँ भन्ने सहमति भएको थियो र म बरिष्ठ उपाध्यक्षमा बस्ने सहमति भएको थियो र आउने कार्यकालका लागि म अध्यक्ष हुने सहमति भएको थियो। उपाध्यक्ष भइसकेको व्यक्ति नेतृत्व गर्न सक्ने क्षमता पनि भइसकेको हुन्छ । एक व्यक्ति एक कार्यकालको व्यवस्था गर्नुपर्छ ।  

तर अहिले चुनावका लागि अर्को पक्षले उम्मेद्वार तयार गरिसक्यो र क्याम्पेन समेत सुरु गरिसक्यो । यसलार्इ तपार्इँले कसरी हेर्नुभएको छ ?
अर्को पक्षले के गर्यो भन्ने कुरा हैन, हामी अर्थतन्त्र संकटमा परेको बेला कसरी लगानी मैत्री बनाउने, कसरी भएका पोलिसीहरुलाई एक्टमा परिणत गर्ने भन्ने कुरामा हामी सरकारसँग लविङ गरिरहेका छौ। हामी आफ्नो एजेण्डा स्थापित गर्नका लागि सरकारसँग वार्ता गरिरहेका छौं।
 
बाहिरवाट हेर्दा महासंघ व्यावसायिक देखिन्छ तर निर्वाचनमा विभिन्न दलको भातृसंस्था जस्ताे लाग्छ  के तपाइँहरुले महासंघलाई निजी क्षेत्रको एडभोकेस गर्ने राजनीति संस्थाको अखडा बनाउन लाग्नुभएको हो ?
निजी क्षेत्र भनेको शुद्ध आर्थिक विकासका लागि , आर्थिक सम्बृद्धिका लागि देशमा लगानी बढाउनका लागि, वैदेशिक लगानी भित्र्याउनका लागि महासंघ स्थापना भएको हो र  त्यहि हुनुपर्छ भन्ने  मेरो धारणा हो। त्यो बनाउनका लागि म पनि त्यो बेलामा लड्न सक्थे तर एकचोटि बरिष्ठ भइसकेकोलाई मैले अवसर दिएँ। हामी मिलेर अगाडि बढौं अवसर सवैको आउँछ, काम गरेर देखाउनुपर्छ भन्ने कुरा हो। त्यहि भएर यो संस्थालाई राजनीतिकरण गर्न दिनुभएन र निर्वाचनले धेरै विगार पनि गरेको छ, राजनीतिकरण भएको छ भनेर दुईचार कार्यकालसम्म सहमतिमा अघि बढौं भनिएको हो ।
महासंघको विगतको नजीरले गर्दा यो राजनीति गर्नेथलोका रुपमा अगाडि आएको जस्तो देखिन्छ तर अब त्यस्तो हुँदैन।
 

'एकचोटि बरिष्ठ भइसकेकोलाई मैले अवसर दिएँ। हामी मिलेर अगाडि बढौं अवसर सवैको आउँछ, काम गरेर देखाउनुपर्छ भन्ने कुरा हो। त्यहि भएर यो संस्थालाई राजनीतिकरण गर्न दिनुभएन र निर्वाचनले धेरै विगार पनि गरेको छ, राजनीतिकरण भएको छ भनेर दुईचार कार्यकालसम्म सहमतिमा अघि बढौं भनिएको हो'

तपाई मान्नुहुन्छ महासंघमा राजनीति भएको छैन भनेर ?
 
राजनीति नभएको हैन भएको छ, त्यहि भएर नै अघिल्लो चुनावमा हामीले सहमति गरेको हौ। सवैभन्दा त हामी वस्ने संस्था राम्रो हुनुपर्यो पद ठूलो कुरा होइन । भोलि म यो संस्थामा रहुँला या नरहला संस्था  स्ट्रोङ हुनुपर्यो ।  महासंघ इन्डिपेन्डेन्ट हुनुपर्यो र सरकारसँग निजी क्षेत्रका मुद्धा स्ट्रोङसँग राख्न सक्नुपर्यो । हामीले  महासंघलाई अगाडि लैजाने हो भने यहाँ राजनीति हुनु भएन। विगतको घटनावाट पनि पाठ सिक्नुपर्छ जस्तो कि प्रदिपजंग पाण्डेको जस्तो हुन दिनुहुन्न।

देशमा यत्रो भूकम्प आयो, मुलुकले नयाँ संविधान पायो, अर्थतन्त्र डामाडोल भएको छ त्यहि भएर हामी राजनीति नगरौं भनेको हो, बरु राजनीति गर्ने हो भने कुनै राजनीतिक पार्टीको सदस्य लिऔं र राजनीतिक क्षेत्रमा जाऔं भन्ने मेरो विचार हो।
 
त्यसो भए किन चुनावका बेला गुट उपगुट हुन्छ त मिलेर जान सकिन्थ्यो होला नी, यस्तो संस्था कमजोर हुँदैन ?
 
प्रजातन्त्रमा चुनाव हुनु नराम्रो हैन। निर्वाचन भनेको प्रजातान्त्रिक प्रक्रिया हो । तर अहिलेको अवस्था यस्तो छ कि सहमतिका साथ अगाडि बढ्यो भने यो संस्था अगाडि बढ्छ भनेर मैले व्यक्तिगत रुपमा विश्वास गर्छु । अहिले प्रजातान्त्रिक अभ्यासमा निर्वाचन गरेपनि एकअर्कालाई गिराएर भन्दापनि  आफ्नो काम देखाएर अगाडि बढ्नुपर्छ। अर्कालाई फालेको हिलो आफ्नो हातमा पनि पर्नसक्छ भनेर बु्झ्नुपर्छ। अरुलाई गिराएर हैन कि आफ्नो कामलाई देखाएर अगाडि बढ्नुपर्छ।

अहिलेको समय भनेको सवै व्यवसायीहरु एकिकृत भएर अगाडि बढ्नुपर्ने समय हो। हामीले विगतदेखि नै लड्दै आएका कुराहरु पाउन र नेपाली अर्थतन्त्रलाई उकास्न एकजुट हुनु जरुरी देख्छु। केही हदसम्म प्राप्त गर्यौहोला तर हाम्रो लगानी विस्तार हुन सकेको छैन । आन्दोलनपछि कति उद्योग बन्द भए ? हिजोअस्ती पनि सरकारले प्लास्टिक उद्योग बन्द गर्यो । धेरै समस्याहरुका बीचमा हामी छौं ।

 उद्योगहरु धरासायी भएको बेला हामी व्यापारी व्यापारी नै लड्न थाल्यौ भने राम्रो मेसेज जाँदैन। भोलिका दिनमा हामी जून लक्यका लागि लडेका थियौ त्यो प्राप्त नहुनसक्छ त्यसैले महासंघमा राजनीति हुनुहुँदैन भन्ने नै हो।
 
 
महासंघ पछिल्लो समय कमजोर भएको हो कि अहिलेका पदाधिकारी भन्दा पुर्व पदाधिकारीहरु हावी भएका हुन ?
 
अहिल्यै त नभनौ बीचमा दुइ/चार कार्यकालमा  भएकै हो । मैले पनि १२ बर्ष भयो महासंघमा आएको  मैले पनि फिल गरेको छु। यहाँ चुनावका नाममा राजनीति  हावी हुने गरेको छ। त्यो पनि कस्तो भने अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ ।  निर्वाचनमा र कम्पिटिसन भन्दा पनि एकअर्कालाई गिराउने कम्पिटिसन भएको छ । त्यो नहोस भनेर सहमतिमा अघि बढौं भनिएको हो ।

अहिले महासंघमा भएको पदाधिकारीमा र कार्यसमितीमा गुट उपगुटहरु छैन ।  हामी मिलेर काम गरिरहेका छौं ।

हामीले जुन सहमति गरेर आएका छौ त्यो अहिलेसम्म तोडिएको छैन। महासंघलाई बद्नाम बनाउन लाग्नेहरु पनि नभएका होइनन्  तर त्यसलार्इ परास्त गरेर अघि बढ्न आवश्यक छ ।

महासंघका पूर्व पदाधिकारीहरुले पावर इन्फ्लिुएन्स गर्नुभन्दा कामको एजेण्डा तय गरेर बढाउनमा मद्दत गर्दा राम्रो हुन्छ ।
 
अर्को अलि फरक प्रशंग जोडौं, महासंको उदेश्य व्यावसायीक हकहितमा लाग्नुपर्ने हो तर गैर सरकारी संस्थाको जस्तो कृषि उद्यम केन्द्र नामको संस्था चलाएर बसेको छ नि ?
एनजिओ हैन, यो त व्यावसाय चलाउनका लागि हो। सार्वजनिक निजी साझेदारी अवधारणामा काम गर्नका लागि यो स्थापना भएको हो। यो विशुद्ध व्यावसायिक काम गर्नका लागि र उद्योग खोल्नका लागि हो। हामीले चार पाँचवटा सेक्टरलाईचाहिँ एकदमै ट्रेस गरेका छौं। कृषिलाई औद्योगिकरण गर्नुपर्यो, कृषिलाई आधुनिक प्रविधिमार्फत लैजानुपर्यो ।  कृषिको आधुनिकरणको लागि एक जिल्ला एक उत्पादनको सुरु गरेको थियो जुन १०/१२ बर्ष अगाडि हो त्यसैको निरन्तरता हो।

जिल्ला जिल्लामा भएको प्रोडक्टलाई कसरी भ्यालु एड गरेर त्यसको बजार विस्तार गर्ने भन्ने नै हो। महासंघले विभिन्न मोडेलका कार्यक्रम ल्याउनु त आफ्नो कर्तव्य हो। यसमा सरकारले पनि बजेट दिन्छ र हामी पनि त्यसलाई रकम थप गरेर विस्तार गर्छौ।
 
त्यो त हो, एक गाउँ एक उत्पादन राम्रो  र सफल कार्यक्राम पनि हो तर यसैको नाम विकाएर महासंघका पदाधिकारीको राजनीति गर्ने थलोको रुपमा विकास भइरहेको छ नी ?
 
यो राजनीति गर्ने थलो होइन। जिल्लामा कार्यक्रम त दिनुपर्यो ।  पहिला ३२ वटा जिल्लामा एक गाउँ एक उत्पादन थियो मैले अहिले ७५ वटै जिल्लामा पुर्याएको छु ।  जिल्लाको उत्पादनलाई बढाउने हो भने यसलार्इ विस्तार गर्दै लैजानुपर्छ ।

त्यो ३२ वटा जिल्लामा रोजगारी थियो  अहिले ७५ बटै जिल्लामा छ, सवै जिल्लामा पिपिपी मोडेलमा कार्यक्रम लिएर गएका छौं, निजी क्षेत्रको उत्पादनलाई बढाइरहेका छौ । कसैले युवाहरुलाई रोजगार दिनु, उद्योगहरु आउनुलाई राजनीतिकरण भन्छन् भने त्यो कुरा गलत हो।

त्यो भनेको विकास हो आर्थिक संबृद्धि भनेर काठमाडौमा मात्र बसेर हासिल हुँदैन। जबसम्म बाजुरा, बझाङ, जाजारकोट, हुम्लाजस्ता जिल्लामा विकास हुँदैन देश संबृद्धितिर जाँदैन।
 
तपाई महासंघको बरिष्ठ उपाध्यक्ष भइसक्नुभएको छ, तपाइले यो संस्थालाई एउटा व्यवसायिक रुपमा अगाडि लैजान के  आवश्यक देख्नु भएको छ ?
 
महासंघ भनेको एउटा सरकारलाई इकोनोमिक एजेण्डामा सल्लाह दिने इन्टिच्युसन पनि हो। यहाँ अहिले डेटावेस सिस्टमको पनि कमि देखेको छु किनभने नेपालीहरुको कस्तो छ भने एउटाले होटेल खोल्यो भने दशजनाले खोल्छ तर अध्ययन नगरी । अध्यनन विना गरिएको लगानीले प्रतिफल प्राप्त हुँदैन । निजी क्षेत्रको लगानी समेत डुब्ने डर हुन्छ ।  सरकार र निजी क्षेत्र मिलेर कुन क्षेत्रमा कति लगानी आवश्यक छ भनेर अध्ययनसहितको डेटावेश तयार गर्नुपर्छ ।

सवैभन्दा ठूलो कुरा महासंघभित्रको ऐक्यवद्धता हो, मैले अहिलेसम्मको कार्यसमितिमा यो कुराको कमि देखेको छु जुन अत्यावस्यक हो ।  यो ऐक्यवद्धता हाम्रो अहिलेको कार्यसमितिमा देखिएको छ ।