भूकम्प पीडितलाई दिने दुई लाखमा किन मिलेन सरकार र विपक्षीको कुरा, ओली-देउवा झन टाढा

बिजमाण्डू
२०७३ असार १२ गते ००:०० | Jun 26, 2016
भूकम्प पीडितलाई दिने दुई लाखमा किन मिलेन सरकार र विपक्षीको कुरा, ओली-देउवा झन टाढा

काठमाडौं । सधैं ठट्यौलो शैलीमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीको मूड आइतबारको संसद बैठकमा भने अलि फरक देखियो। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग कडा मिजासमा प्रस्तुत भएका ओलीले पटक-पटक देउवालाई जिस्क्याउन भ्याए। जुन, हाउभाउमा प्रस्ट देखिन्थ्यो।
 
कांग्रेस नेताहरुसँग पनि प्रधानमन्त्री  रिसाएपछि प्रमुख प्रतिपक्षी दल र सरकारबीच वार्ता हुन सकेन।

Tata
GBIME
Nepal Life

संसद बैठक अवरोध भएको तेस्रो दिन तीन पटक संसद बैठक बस्दा समेत प्रतिपक्षी र सत्तारुढबीच कुराकानी हुन नसकेको हो।

कांग्रेसका सांसद अर्जुनप्रसाद जोशीले बैठकमै भने, 'सरकारले हाम्रा मागमा सम्बोधन गर्नु परै जाओस्, छलफल र समन्वय समेत गरेको छैन।'

कांग्रेसले तीन दिनयता भूकम्पपीडितलाई एकमुष्ट दुई लाख नगद दिनुपर्ने माग राख्दै संसद बैठक अवरोध गर्दै आएको छ। जसका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले समय लिँदा समेत संसदमा बोल्न पाएका छैनन्।

 
के भयो आइतबारको बैठकमा

संसदको पहिलो बैठक अवरोध गरेपछि सभामुखले बैठक एक घण्टा स्थगित गरिन्। शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई बाहिर जाऔं भन्दै इसारा गरे। तर, ओली रातो अनुहार बनाउँदै झोक्किए।

कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार प्रधानमन्त्रीले 'एकमुष्ट दुई लाख कहाँ दिन सकिन्छ? सकिँदैन' भनेका थिए। जवाफमा देउवाले 'दिनैपर्छ त, कहाँ नदिनु' भनेका थिए।

त्यसबीचको एक घण्टामा प्रधानमन्त्री ओलीले प्रतिपक्षी कांग्रेससँग छलफल गरेनन्। दोस्रो बैठक पनि कांग्रेसले बहिस्कार गर्‍यो।

समय मागेर पनि बोल्न नपाएका प्रधानमन्त्री ओलीले बैठक सकिएपछि कांग्रेसका सांसदहरुलाई बुढीऔंला देखाउँदै 'अल द बेस्ट' को इसारा गरे।

बैठक सकिएपछि पनि ओली केहि बेर हलमै बसिरहे। देउवा हलबाट उठेर गए पनि उनी भने सांसदहरुसँग कुराकानी गर्नतिर लागे।

आइतबारकै संसदको तेस्रो बैठक सुरुवात हुनै लागेको थियो। सभामुख घर्ती आइपुगेकी थिइनन्। घण्टी बजेलगत्तै हलमा आएका प्रधानमन्त्री ओली देउवातर्फ फर्किएर मुस्कुराए। उनले पटक-पटक देउवालाई जिस्क्याए।

देउवाले उभिएर संसद बैठक अवरोध गरिरहँदा ओली देउवातर्फ फर्किएर मुस्कुराए। देउवाले पनि ओलीको नजरको इसाराको बेवास्ता गर्ने प्रयास गरिरहे। संसदमा प्रधानमन्त्रीको दायाँतिर कांग्रेसको सिट व्यवस्थापन छ। बीचमा बाटो छ भने दायाँतर्फ कांग्रेसको र बायाँतर्फ प्रधानमन्त्रीको चेयर छ।

तेस्रो बैठकमा कांग्रेसका सांसद अर्जुनप्रसाद जोशीले भूकम्पपीडितको मागको बारेमा बोल्दैगर्दा ओली टाउको हल्लाउँदै सहमति जनाउँदै थिए।
कांग्रेसले सदनमा बोल्नुअघि आफूसँग सहमति हुनुपर्ने तर्क गर्दै आएको छ।

तेस्रो बैठक समापन भएपछि पनि ओली देउवातर्फ हेर्दै मुस्कुराइरहेका थिए। बैठक अवधिभर कांग्रेससँग असन्तुष्ट देखिएका ओलीले आफ्नो कुर्सीको भागमा तबला बजाए जस्तो औंला बजाए। अनि देउवा बाहिरिएको केही बेरपछि मात्र बैठक हल छाडे।

प्रधानमन्त्री ओलीले देउवालाई शनिबार साँझ बालुवाटार निम्त्याउँदै छलफल गरेका थिए। कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार छलफलमा समेत दुई लाख एकमुष्ट दिनुपर्ने अडान देउवाले राखेका थिए।