नेपालमा गरिवको संख्या २३.७ बाट झरेर १४.९ प्रतिशतमा आयो, रेमिटेन्सका कारण नेपालीहरुको जीवनस्तरमा

बिजमाण्डू
२०७३ असार १३ गते ००:०० | Jun 27, 2016
  • सुदर्शन सापकोटा/बिजमाण्डू

काठमाडौं । विश्व बैंकले जीवनस्तरमा आएको सुधारसँगै नेपालमा गरीबहरुको संख्या उल्लेख्य रुपमा घटेको तथ्यांक सार्वजनिक गरेको छ ।रेमिटेन्सको जोखिम बारे नेपालको विवरण सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा गरीबको संख्या १४.९  प्रतिशतमा झरेको जनाएको छ ।

पर्चेजिङ पावर प्यारेटि (पिपिपी) अनुसार नेपालमा गरीबको संख्या घटेको उसको तर्क छ ।विश्व बैंकले २०१६ मे महिनामा सार्वजनिक गरेको नेपालको विवरण अनुसार, २००५ मा कुल जनसंख्याको २३.७ प्रतिशत गरीब थिए । २०११ सम्म आइपुग्दा गरीबको संख्या १४.९ प्रतिशतमा झरिसकेको छ ।
 
राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । पहिले गरीबको संख्या ६२ लाख ७९ हजार १९७ जना थियो । अहिले घटेर ३९ लाख ४७ हजार ६८१ जनामा सीमित भएको छ ।
 
विश्व बैंकले गरिवको संख्या घटे पनि नेपाल सरकारी नीतिगत विश्लेषण र कार्यान्वयन भने पारिवारिक सर्वेक्षण अनुसार नै गर्नु पर्ने सुझाव दिएको छ ।
 
नेपालमा भुकम्पअघि गरिवको संख्या कुल जनसंख्याको २३.८ प्रतिशत थियो । भुकम्पपछि साढे तीन प्रतिशतसम्म बृद्धि भएको अनुमान सरकारको छ । सरकारी तथ्यांकभन्दा फरक रुपमा विश्व बैंकले नेपालमा गरीबी घटेको आश्चर्यजनक विवरण सार्वजनिक गरेको हो ।
 
रेमिटेन्सका कारण नेपालीहरुको जीवनस्तरमा आएको सुधारले  गरीबी घटेको ठम्याइ विश्व बैंकको हो । विश्व बैंकले नेपालीले खर्च गर्ने क्षमताका आधारमा गरीबी घटेको जनाएको छ ।उदाहरणका लागि, केही निश्चित खाद्य तथा उपभोगका बस्तुहरुलाई लिएर नेपालमा त्यो प्राप्त गर्न कति लाग्छ र अमेरिकामा कति लाग्छ भनेर तुलनात्मक अध्ययन गर्छ । त्यसैका आधारमा पिपिपी तयार हुन्छ । यसलाई आधार मानेर विश्व बैंकले पछिल्लो समय नेपालमा गरीबको संख्या ह्वात्तै घटेको तथ्यांक सार्वजनिक गरेको हो ।
 
नेपाल रेमिटेन्स भित्राउने विश्वकै तेस्रो स्थानमा छ । उसले कुल २९.२ प्रतिशत रेमिट्यान्स भित्राउँछ । एक नम्बरमा ताजाकिस्तान छ भने दोस्रोमा क्रिज रिपब्लिक छ । नेपालमा करिव ६ खर्ब रुपैयाँ रेमिटेन्स भित्रिने गरेको छ ।रोजगारीका लागि अहिलेसम्म ३२ लाख जना विदेशिएका छन् । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि आय बढेका कारण जीवनस्तरमा समस्या आएको छैन ।
 
राष्ट्र बैंकका अनुसार देशका केही जिल्लामा वाहेक सबैतिर रेमिटेन्सको कारणले जीवनस्तरमा सुधार देखिएको छ । विदेश कामको खोजीमा नजाने सुदूर पश्चिमका केही जिल्लाहरुमा जीवनस्तर नउकासिएपनि समग्रमा यसले सुधार ल्याएको छ ।सरकारको उपस्थिति पनि वढेको छ । सरकारी सहयोग धेरै भन्दा धेरै ठाउँमा पुगेको छ । यसले पनि जीवनस्तर उकासेको राष्ट्र बैंकको अनुमान छ । 

Tata
GBIME
Nepal Life