युरो प्रिभ्यु : इटलीलाई स्पेन विरुद्ध बदला लिने मौका

बिजमाण्डू
२०७३ असार १३ गते ००:०० | Jun 27, 2016
युरो प्रिभ्यु : इटलीलाई स्पेन विरुद्ध बदला लिने मौका


फ्रान्समा जारी युरो २०१६ अन्तर्गत प्रिक्वाटरफाइनलका अन्तिम दुई खेल आज राती हुँदैछन्। राती ९:४५ बजे हुने खेलमा दुई पुराना प्रतिद्वन्दी इटली र स्पेन भिड्दैछन्। 

Tata
GBIME
Nepal Life

यी दुई बीचको खेलले गत संस्करणको फाइनलको झल्को दिनेछ। सन् २०१२ को फाइनलमा स्पेनले इटलीलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो।
 
स्पेन र इटली दुवै पुर्व विजेता हुन्। डिफेन्डिङ च्याम्पियन स्पेन जर्मनीसँगै सर्वाधिक तीन पटकको च्याम्पियन हो। पछिल्लो दुई संस्करणको युरो उपाधि जितेको स्पेन फ्रान्समा उपाधि जित्दै युरो उपाधिमाथि ह्याट्रिक गर्ने योजनामा फ्रान्स पुगेको हो।

यता इटलीको कथा केही फरक छ। सन् १९६८ को विजेता इटली सन् २००२ र २०१२ को पछिल्लो संस्करणमा उपविजेता बनेको थियो। 

फ्रान्समा युरो सुरु हुनु अघि इटलीलाई कमैले उपाधि दाबेदारको रुपमा हेरेका थिए। तर समूह चरणमा बेल्जियम र स्वीडेनलाई पराजित गरेको इटली त्यसपछि उपाधिकै दाबेदारका रुपमा अगाडी आएको छ। तर आठ खेलाडी परिवर्तन गर्दा इटली समूहको अन्तिम खेलमा आयरल्याण्डसँग पराजित बनेको थियो। 

इटली समूह ई को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो। यसक्रममा इटलीले बेल्जियमलाई २–० र स्वीडेनलाई १–० ले हराएको थियो। दुई खेल जितेसँगै समूह विजेता बनिसकेको इटली अन्तिम खेलमा भने आयरल्याण्डसँग १–० ले हार्यो। 

यता दुई जित र एक हार नतिजा निकालेको स्पेन समूह डी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। चेक गणतन्त्रलाई १–० र टर्कीलाई ३–० ले पराजित गरेको स्पेन समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग अप्रत्यासित रुपमा २–१ ले हारेको थियो। 

स्पेनले लगातार तेस्रो उपाधि जित्ने हो भने पहिला इटलीलाई हराउनुपर्नेछ। इटलीको लागि आफ्नो खेल प्रमाणित गर्न स्पेन विरुद्ध जितको खाँचो छ। साथै पछिल्ला दुई युरोमा बेहोरेको हारको बदला लिने रणनितीमा छ इटली। 

स्पेनले सन् २००८ को युरो क्वाटरफाइनलमा इटलीलाई पराजित गरेको थियो। त्यो नै स्पेनले इटलीमाथि ठुला प्रतियोगितामा हात पारेको पहिलो जित थियो। 

पछिल्लो तीन युरोकपमा इटली र स्पेन भिड्न लागको यो चौथो पटक हो जसमा इटलीले जित हात पार्न सकेको छैन। दुई खेल स्पेको पक्षमा गएको थियो भने एक खेल बराबरीमा सकएिको थियो। 

इटली र स्पेन बीच अहिलेसम्म ३४ खेल भएको। जसमा दुवैले समान १० खेलमा जित हात पारेका छन् भने १४ खेल बराबरी भएको छ । 
इटलीका एन्टोनियो आन्ड्रेभा चोटका कारण स्पेन विरुद्ध खेल्ने सम्भावना कम छ। 

यस्तै गोलरक्षक जियालुजी बफोन, डिफेन्डर चिलेइनी, बार्जाली, बुनुची लगायत आठ खेलाडीले अघिल्ला खेलमा पँहलो कार्ड खाएका छन्। यदी इटलीले स्पेनलाई पराजित गर्दै क्वाटरफाइनल यात्र तय गर्ने क्रममा यी खेलाडीले पँहेलो कार्ड पाए अर्को खेल खेल्न पाउने छैनन्। 


खेल हुने समय : राती ९ः४५ बजे
खेल हुने स्थान : स्टेड  डे फ्रान्स, सेन्ट डेनिस पेरिस  
हेर्नलायक खेलाडी  : ग्राजियानो पेल्ले इटली, अल्भारो मोराटा स्पेन
हेड टु हेड : इटली १०, स्पेन १०, बराबी १४
रेफ्रि : चुनेट साकिर, टर्की
युरो उपलब्धी : इटली विजेता १९६८, २००२ र २०१२ को उपविजेता
स्पेन १९६४, २००८ र २०१२ को विजेता
युरो सहभागिता : इटली ९, स्पेन १०
फिफा वरियता : इटली १२, स्पेन ६