युरो प्रिभ्यु : स्टार खेलाडीको इंगल्याण्ड विरुद्ध सरप्राइजिङ प्याकेज आइसल्याण्ड

बिजमाण्डू
२०७३ असार १३ गते ००:०० | Jun 27, 2016
युरो प्रिभ्यु : स्टार खेलाडीको इंगल्याण्ड विरुद्ध सरप्राइजिङ प्याकेज आइसल्याण्ड

युरो २०१६ अन्तर्गत प्रिक्वाटरफाइनलको अन्तिम खेलमा इंगल्याण्ड र आइसल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। इंगल्याण्ड र आइसल्याण्ड विरुद्धको मध्य राती १२ः४५ बजे हुनेछ। 

Tata
GBIME
Nepal Life

फुटबल इतिहास हेर्ने हो भने इंगल्याण्ड र आइसल्याण्डमा धेरै खालका असमानता हरु होलान्। तर जारी युरोमा भने यी दुई टोली बिच धेरै कुरा मिल्छ। 

दुवै टोली फ्रान्समा चलिरहेको युरो २०१६ मा अपराजित छन्। दुवै टोली आ आफ्नो समूहको उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् र दुवै टोलीको एउटै लक्ष्य छ प्रिक्वाटरफाइनलमा जित हात पार्दै क्वाटरफाइनल पुग्ने।

समूह चरणमा इंगल्याण्ड र आइसल्याण्डले एक एक खेल जितेका थिए भने समान दुई खेल बराबरी गरेका थिए। समूह बी मा रहेको इंगल्याण्डले रसिया र स्लोभाकियासँग बराबरी खेल्दा वेल्सलाई पराजित गरेको थियो। यता पहिलो पटक युरो खेल्दै गरेको आइसल्याण्डले पोर्चुगल र हंगेरी जस्ता ठुला टीमलाई बराबरीमा रोक्दै अन्तिम खेलमा अष्ट्रियालाई हराएको थियो। 

समूह चरणमा आइसल्याण्ड ४ गोल गर्दा ३ गोल बेहोरेको थियो। आइसल्याण्डले हरेक खेलमा गोल गरेको थियो। यता स्लोभाकिया विरुद्ध गोलरहित बराबरी खेलेको इंगल्याण्डले ३ गोल गर्दा २ गोल खाएको थियो। 

छनोट चरणमा पनि इंगल्याण्ड र आइसल्याण्डले उत्कृष्ट प्रदर्शन गरेका थियो। तर अन्तर्राष्ट्रिय फुटबलमा यी दुई टोलीको स्थान निकै फरक छ।
इंगल्याण्ड हरेक ठुला फुटबल प्रतियोगिता हुँदा दाबेदारको रुपमा खडा हुने गर्छ। तर इंगल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन। सन् १९६६ को विश्वकप नै इंगल्याण्डले अहिलेसम्म हात पारेको सबैभन्दा ठुलो उपलब्धी हो। इंगल्याण्ड सन् १९६८ मा को युरोमा तेस्रो भएको थियो भने सन् १९९६ मा सेमिफाइनलसम्म पुगेको थियो।

यस पटक युरो छनोटमा कुनै खेल नहारेको इंगल्याण्डले दश वटै खेल जितेको थियो तर जारी युरोमा भने उक्त प्रदर्शन दोहोर्याउन सकेको छैन। स्टार खेलाडीहरुको वर्चस्व रहेतापनि इंगलयाण्ड गोल गर्नमै संघर्ष गरिरहेको छ। यता युरोमा पहिलो सहभागितामै फुटबल समर्थकको मन जित्न सफल आइसल्याण्डले यसपटक सबैभन्दा धेरै कुरा गरिने टोलीको छवी बनाएको छ। आइसल्याण्ड जारी युरोको सरप्राइज टोली हो।
त्यसैले पनि इंगल्याण्डलाई आइसल्याण्डसँगको खेलमा डर छ भने आइसल्याण्ड इंगल्याण्डलाई स्तब्ध पार्दै अघि बढ्ने दाउमा छ। 

फ्रान्समा युरो खेल्नेमध्ये सबैभन्दा थोरै जनसंख्या भएको आइसल्याण्डमा कुनै व्यावसायीक फुटबल लिग छैन तर फुटबल संस्कृती भने गजबको छ। आइसल्याण्डको जनसंख्या ३ लाख ३० हजार मात्र छ।

युरो २०१६ को छनोटमा नेदरल्याण्ड्स, चेक, टर्की जस्ता युरोपकै बलियो टोलीहरु रहेको समूहबाट चेक पछि दोस्रो स्थानमा रहँदै आइसल्याण्ड पहिलो पटक युरोमा छनोट भएको हो।

इंगल्याण्ड र आइसल्याण्ड फुटकल खेलमा एक आपसमा भिड्न लागेको यो तेस्रो पटक हो भने प्रतियोगितात्मक खेलमा पहिलो पटक आमने सामने हुन लागेका हुन्। यसअघि भएका दुवै खेलमा इंग्ल्याण्ड विजयी भएको थियो। 

इंगल्याण्डका प्रशिक्षक रोए हड्सनले आइसल्याण्ड विरुद्धको खेलमा केही खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ। स्लोभाकिया विरुद्धको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका कप्तान वायन रुनी, डेले अली, ह्यारी केनलाई  आइसल्याण्ड विरुद्ध पहिलो रोजाईमै मैदान उतार्ने योजनामा छन् हडसन। यस्तै स्लोभाकिया विरुद्ध नखेलेका डिफेन्डरद्धय ड्यानी रोस र केल वाल्कर पनि आइसल्याण्ड विरुद्ध खेल्नेछन्। 
आइसल्याण्डले भने अष्ट्रिया विरुद्ध जित हारेको टोलीलाई नै निरन्तरता दिने सम्भावना रहेको छ।

खेल हुने समय : मध्यराती १२ः४५ बजे
खेल हुने स्थान  : स्टेड डे नाइस, नाइस
हेर्नलायक खेलाडी  : ह्यारी केन इंगल्याण्ड, गिल्फी सिगुरसन आइसल्याण्ड
हेड टु हेड  : इंगल्याण्ड २ आइसल्याण्ड २
रेफ्रि : दमिर स्कोभिना, स्लोभेनिया
युरो उपलब्धी : इंगल्याण्ड तेस्रो स्थान सन् १९६८
युरो सहभागिता : इंगल्याण्ड ९, आइसल्याण्ड १
फिफा वरियता : इंगल्याण्ड ११, आइसल्याण्ड ३४