सीमा क्षेत्रको पाँच किलोमिटरभित्र मदिरा उद्योग खोल्न रोक, संशोधित मापदण्ड झनै कडा

बिजमाण्डू
२०७३ असार १४ गते ००:०० | Jun 28, 2016
सीमा क्षेत्रको पाँच किलोमिटरभित्र मदिरा उद्योग खोल्न रोक, संशोधित मापदण्ड झनै कडा

काठमाडौं । सरकारले मदिरा तथा वियर उद्योग स्थापना र क्षमता वृद्धिको  मापदण्डलार्इ संशोधन गरेर थप कडा बनाएको छ । नयाँ मापदण्ड अनुसार अब कुनैपनि मदिरा र वियर उद्योग अन्तर्राष्ट्रिय सिमानाको पाँच किलोमिटर भित्र स्थापना गर्न पाइने छैन ।

यसअघि अन्तर्राष्ट्रिय सिमानाको पाँच किलोमिटर भित्र मझौंला र ठूला स्तरका उद्योग स्थापना गर्न नपाइने प्रावधान थियो । नेपालको भारत र चीनसँग सीमा जोडिएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा मदिरा बिक्री बितरणमा प्रतिवन्ध लगाएको छ । केही महिनाअघि भारतको विहारमा मदिरा बिक्री बितरणमा प्रतिवन्ध लगाएको थियो ।

Tata
GBIME
Nepal Life

नयाँ मापदण्ड अनुसार लुम्बिनी क्षेत्र संरक्षणको निम्ति निर्माण भएका बाउण्ड्रीको दक्षिणतर्फ भारतीय सीमासम्म र पूर्व पश्चिम उत्तरतर्फ बाउण्ड्रीदेखि १५ किलोमिटर दूरीभित्रमा मदिरा र वियर उद्योग स्थापना गर्न नपाइने व्यवस्था छ । संशोधित मापदण्डमा लुम्बिनी भैरहवा कोरिडर खण्डको सडकको दायाँ बायाँ ८०० मिटरसम्म पनि मदिरा र वियर उद्योग स्थापना गर्न नपाउने उल्लेख छ । सरकारले मदिरा उद्योग स्थापना लागि २०६९ असोज २१ गते अनुमति पाएकाहरुका लागि यो संशोधित मापदण्ड लागु हुनेछ भने कुनैपनि संचालनमा रहेका उद्योगको पुँजीवृद्धिमा समेत संशोधित मापदण्ड बाध्यकारी हुने उल्लेख छ ।

मदिरा तथा वियर उद्योग स्थापना गर्न इजाजत पाएको व्यक्तिले इजाजत पाएको मितिले एक वर्षभित्र कम्पनी, संचालक वा लगानीकर्ताको नाममा उद्योगका लागि आवश्यक जग्गाको स्वामित्व कायम गर्नुपर्ने संशोधित मापदण्डमा उल्लेख छ ।  नयाँ मादपण्डमा सो जग्गालार्इ आधार मानेर उद्योगीले उद्योग दर्ता प्रयोजनको लागि सार्वजनिक सूचना जारी गरेर वातावरणीय परीक्षणको लागि पेश गर्नुपर्ने उल्लेख छ ।

मदिरा उद्योगका लागि ब्रुअरी र डिष्टिलरीको हकमा एकै चाक्लाका न्यूनतम तीन हेक्टर र ब्लेण्डिङ मात्रै गर्ने उद्योगका लागि एक हेक्टर जग्गा हुनुपर्ने संशोधित मापदण्डमा छ । डिष्टिलरी, ब्लेण्डिङ, ब्रुअरी, वाइन र साइडर लगायतका मदिराजन्य उत्पादन गर्ने उद्योगले एक परिसरमा संचालन गर्ने हकमा न्यूनतम चार हेक्टर जग्गा हुनुपर्ने संशोधित मापदण्डमा छ । संशोधित मापदण्डमा डिष्टिलरी, ब्लेण्डिङ, ब्रुअरी, वाइन र साइडर उत्पादन गर्ने उद्योगको कारखाना भवन छुट्टै हुनुपर्ने प्रावधान राखिएको छ ।