धितोपत्र बोर्डले नेपाल लाइफको सेयर कारोबार फुकुवा गर्‍यो, एफपिओको मूल्य पछि तोक्ने

बिजमाण्डू
२०७३ असार १५ गते ००:०० | Jun 29, 2016
धितोपत्र बोर्डले नेपाल लाइफको सेयर कारोबार फुकुवा गर्‍यो, एफपिओको मूल्य पछि तोक्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको छ । बोर्डले विहीबारदेखि कारोबार गर्न पाउने गरी फुकुवा गरेको हो । 
 
कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्न लागेको फर्दर पव्लिक इस्युको मूल्य निर्धारण सम्बन्धमा विवाद देखिएपछि बोर्डले सेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले तोकेको मूल्यले दोस्रो बजारलाई नकारात्मक असर पर्ने भन्दै कारोबार रोक्का गरिएको थियो । कम्पनीले प्रतिकित्ता २८ सय ५१ रुपैयाँ प्रिमियम थपेर २९ सय ५१ रुपैयाँमा एफपिओ गर्न लागेको थियो । 
बोर्डले प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता ल्याउन स्पष्ट नीतिगत आधार तयार गर्ने सम्बन्धी कार्य छिटै सम्पन्न गर्ने गरी अगाडि बढाईए तर यो कामका लागि समय लाग्ने भएकोले तत्कालका लागि सेयर कारोबार खुला गर्ने निर्णय गरेको बोर्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 
 
बोर्डले कति प्रिमियमा एफपिओ जारी गर्न पाउने भन्ने तय गरेको छैन । नीतिगत आधार तयार प्रिमियम तोक्ने जानकारी पनि बोर्डले दिएको छ । मूल्य पछि तय हुने तर बजारमा लामो समय सेयर रोक्का राख्न नहुने भन्दै कारोबार खुल्ला गरिएको बोर्डले जनाएको छ । 
 
धितोपत्र सम्बन्धी कानुनी व्यवस्था अनुसार एफपिओ जारी गर्दा सो प्रयोजनका लागि विवरणपत्र तयार गरी बोर्डबाट स्वीकृत गराई सार्वजनिक निष्काशन कार्य अगाडि बढाउनुपर्नेमा बोर्डमा स्वीकृतिका लागि विवरणपत्र पेश नगर्दै मूल्य सार्वजनिक गरेको थियो । यही कारण बोर्डले कारोबार रोक्का गरेको हो । 
 
नेपाल स्टक एक्सचेञ्जलाई पनि एफपिओको मूल्य सम्बन्धी सूचना संप्रेषण गर्दा धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ अनुरुप भए÷नभएको एकिन गरी सार्वजनिक गर्नका लागि समेत निर्देशन दिइएको बोर्डले जनाएको छ ।

Tata
GBIME
Nepal Life

यस्तो छ बोर्डले जारी गरेको विज्ञप्ति: