११ हजार भूकम्प पीडितले मात्रै पाए ५० हजार रुपैयाँ, सं‌झौता एक लाख ८० हजारसँग पीडितसँग

बिजमाण्डू
२०७३ असार १६ गते ००:०० | Jun 30, 2016

काठमाडौँ । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि अनुदान सम्झौता भएकामध्ये ११ हजार ८४० घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रकम जम्मा गरिएको छ ।
 
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ११ जिल्लाका एक लाख ८० हजार ४१३ घरधनीसँग अनुदान सम्झौता गरेकामा निकै कमको खातामा पुनःनिर्माणका लागि रकम जम्मा गरिएको हो ।  
 
प्राधिकरणले रामेछापमा ४० हजार ५५३ घरधनीसँग सम्झौता गरेको छ । रामेछापमा शिविर राखेर अनुदान सम्झौता गर्ने काम सम्पन्न भएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए। रामेछापमा कुल लाभग्राहीको सङ्ख्या ४३ हजार ६०९ रहेकामा तीन हजार ५६ सँग सम्झौता गर्न बाँकी छ । बाँकीसँग पछि सम्झौता गरिने उपक्षेत्रीय कार्यालय दोलखाले जनाएको छ ।
 
रामेछापमा गत चैत २८ गतेदेखि ओख्रेनीबाट अनुदान सम्झौता सुरु भएको थियो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार मङ्गलबारसम्म गोरखामा ४० हजार ८५७, सिन्धुपाल्चोकमा २८ हजार ९६४, दोलखामा २० हजार ५५७, ओखलढुङ्गामा १७ हजार दुई, धादिङमा १२ हजार ६३९, काभ्रेपलाञ्चोकमा आठ हजार ९९१, नुवाकोटमा सात हजार ७५३, रसुवामा दुई हजार ७७, सिन्धुलीमा एक हजार १००, मकवानपुरमा ५२० घरधनीसँग अनुदान सम्झौता भएको छ ।
 
बैंक खातामा रकम जम्मा गरिएकामध्ये रामेछापमा एक हजार ३९०, गोरखामा चार हजार ६५६, दोलखामा चार हजार ४१६, रसुवामा ७०५, ओखलढुङ्गामा ४४१ र सिन्धुपाल्चोकमा २३२ घरधनी रहेको प्राधिकरणले जनाएको छ ।
 
पहिलो किस्तामा प्रतिघरधनी ५० हजार बैंक तथा वित्तीय संस्थामार्फत अनुदान रकम उपलब्ध गराउने प्राधिकरणको कार्यविधिमा व्यवस्था छ । पहिलो किस्ताबाट भूकम्प प्रतिरोधी विधिअनुसार जगको काम सक्नुपर्छ । अनुदान सम्झौताका क्रममा ११ जिल्लाबाट ८६ हजार ४२३ गुनासा दर्ता भएको स्थानीय विकास मन्त्रालयले जनाएको छ । रासस

Tata
GBIME
Nepal Life