विज्ञ नजर : इटलीले मौकाको सदुपयोग गर्‍यो

बिजमाण्डू
२०७३ असार १६ गते ००:०० | Jun 30, 2016
विज्ञ नजर : इटलीले मौकाको सदुपयोग गर्‍यो
  • सञ्जीव मिश्र –

प्रिक्वाटर फाइनलमा सबैभन्दा रोमाञ्चक खेल इटली र स्पेनको हुने अपेक्षा थियो। दुवैको क्वाटर फाइनल प्रवेश सम्भावना ५०–५० थियो। तर डिफेन्डिङ च्याम्पियन भएका कारण स्पेन जित्छ भन्ने धेरैको आशा थियो।

Tata
GBIME
Nepal Life

इटालियन टीम सँधै अन्तर्राष्ट्रिय फुटबलमा राम्रो प्रदर्शन गर्ने र रिजल्ट आफ्नो पक्षमा पार्ने टोलीको रुपमा चिनिन्छ। स्पेन, इंगल्याण्ड, जर्मनी लिगको कुरा धेरै हुन्छ। तर इटालियन लिगको चर्चा कम हुन्छ। इटालियन टीममा रहेको अघिकांश खेलाडी इटालियन लिगमै खेल्ने गर्छन्। स्पेनको तुलनामा धेरैलाई इटलीको बारेमा कम थाहा हुने गर्छ त्यसैले पनि इटली कजमोर छ कि भन्ने थियो।

यस्तै इटलीले समूहको अन्तिम खेलमा आयरल्याण्डसँग हार्‍यो जसले गर्दा इटली कमजोर हो कि भन्ने अनुमान केही सही सावित पनि भयो। तर इटली प्रिक्वाटर फाइनलमा पुगिसकेका कारण कोच कोन्टेले मुख्य खेलाडीलाई आराम दिँदै आयरल्याण्ड विरुद्ध ८ खेलाडी परिवर्तन गरेका थियो। जसमा कोन्टेको रणनीतिले काम गर्‍यो। उनले नयाँ खेलाडीलाई चान्स दिएका थिए।

यस्तै फुटबलममा चान्सको कुरा पनि बढी हुन्छ। जसले मौकालाई सही सदुपयोग गर्छ उसैले खेल जित्छ। स्पेन विरुद्ध पनि इटलीले मौकाको सदुपयोग गर्‍यो।

इटली विरुद्ध स्पेनको पोस्ट अटेम्प र बल पोसेसन राम्रो थियो तर चाहिएको बेला गोल गर्न चुक्यो।

यता इटलीले स्पेन विरुद्ध आफ्नो शैली भन्दा ठिक विपरित खेल्यो। यसअघि डिफेन्सिभ गेम खेल्दै काउन्टर अट्याकमा गोल गर्ने इटलीको मुख्य रणनीति थियो। तर स्पेन विरुद्ध पहिलो हाफमै इटलीले आक्रमक गेम खेल्यो र गोल पनि निस्क्यो। अट्याकिङ गेम खेल्दा इटलीले स्पेनलाई पनि दबाबमा राख्न सफल भयो। स्पेनको तुलना केही राम्रो आक्रमण पनि इटलीले गरेको थियो जसमा स्पेनको गोलरक्षक डेविड डे हेएले पनि राम्रो बचाउ गरेका थिए।

डेथ बलमा जसले राम्रो गर्न सक्छ, युरोमा पटक युरोमा उसैले गोल पनि गर्दै आएको छ र खेल पनि जितेको छ। धेरै जसो गोल सेट पिसमा भएको छ। इटलीले पनि डेड बलमा राम्रो गर्दै सेट पिसमा गोल गर्‍यो। सेट पिसमा इटलीका जर्जियो किलेनीले पहिलो गोल नगरेको भए खेलमा जे पनि हुन सक्थ्यो।

प्राविधिक रुपमा पनि इटलीले राम्रो प्रदर्शन गर्‍यो। वाल बस्दा पनि इटलीले चलाखी अपनायो र इटलीका खेलाडी बसेकै स्थानबाट एडरले फ्रिकिक कटाएका थिए। एडरको प्रहारलाई रोके पनि स्पेनका डे हेए गोलपोस्टमा अलर्ट भएको पाइएन। फ्रिकिको बललाई पन्च गर्दा डि एरिया बाहिर पुराउन पर्थ्यो। तर सकेन। अनि त्यसैमा केलिनीले गोल गरे। यसमा गोलरक्षकको कमजोरी भयो। अर्को स्पेनको डिफेन्डरको पनि कमजोरी रह्यो। रासमोस, पिके जस्ता डिफेन्डरले पनि त्यसलाई त्यति ध्यान दिएनन्।

इटलीलाई सुरुमै अट्याकिङ गेम खेल्दा फाइदा भयो। सुरुमा अट्याकिङ गेम खेल्यो गोल गर्‍यो र स्पेनलाई दबाबमा राख्यो।
दोस्रो हाफको २० मिनेटभित्र स्पेनले बराबरी गोल गर्न सक्नु पर्थ्यो। तर इटलीका गोलरक्षक बुफानले इनेस्टा र पिकेको आक्रमण सेभ गर्दा स्पेन त्यसमा पनि निराश बन्यो।

अर्को कुरा स्पेनले टीकी टाका शैली पनि यसपटक सफल हुन सकेन। स्पेनका खेलाडीहरु रिल्याक्स पाराले गेम खेलिरहेको थियो। फरवार्ड लाइन पनि स्पेनको कमजोर रह्यो। इटलीको किपर र डिफेन्डर तगडा थियो। फाब्रेगास, शिल्भा, मोराटाले अगाडि राम्रो खेल्न सकेनन्।
स्पेनले राम्रो ठाउँमा फ्रिकिक पनि पाएको थियो त्यसलाई सदुपयोग गर्न सकेन र पराजित हुन पुग्यो। स्पेनको हारसँगै एउटा युगको पनि अन्त्य भएको छ।
 
हारको कारण इंगल्याण्डको स्टार खेलाडी
यता अर्को खेलमा जारी युरो खेल्ने सानो राष्ट्र आइसल्याण्ड अप्रत्यासित नतिजा निकाल्यो। आइसल्याण्डले समूह चरणमा राम्रो प्रदर्शन गर्दै उपविजेता बनेको थियो। आइसल्याण्ड पोर्चुगल, हंगेरी, अष्ट्रिया भएको समूहबाट अगाडि बढेको हो। त्यसैले पनि आइसल्याण्डको मनोबल उच्च थियो भने कुनै दबाब पनि थिएन। अहिले विश्वमा फुटबल भनेपछि इंगल्याण्ड र प्रिमियर लिगलाई सम्झिन्छ। इंग्लिस लिगको वर्ल्ड वाइड मार्केट पनि बढी छ। यसले गर्दा आइसल्याण्डलाई हराउनैपर्ने दबाब इंगल्याण्डमा थियो।

आइसल्याण्डसँग खेल्दा पनि इंगल्याण्ड नै फेभरेट थियो। आइसल्याण्ड टीम अन्डरडग थियो। तर त्यति हुँदाहुँदै पनि इंगल्याण्ड आइसल्याण्डसँग अप्रत्यासित रुपमा पराजित हुन पुग्यो। यसको सबैभन्दा मुख्य कारण भनेको इंगल्याण्डमा धेरै स्टार प्लेअर हुनु हो। स्टार प्लेअर धेरै हुँदा पहिलो रोजाईँमा कसलाई खेलाउने निर्णय गर्नै गाह्रो हुन्छ।

चार खेल खेल्दासम्म पनि इंगल्याण्डले फस्ट एलेभेन रोज्न सकेन। चारै खेलमा इंगल्याण्डले प्रयोग मात्रै गरिरह्यो। उपाधि दाबेदारको रुपमा रहेको टीमले यस्तो खालको प्रयोग गर्नु आफैमा घातक बन्यो।

समूह चरणको अन्तिम खेलमा स्लोभाकियासँग खेलाडी परिवर्तन गर्दै नयाँ प्रयोग गर्‍यो। त्यो गल्ती थियो। जब आफ्नो पहिलो रोजाईको टीम नै सेट छैन भने त्यस्तो बेला इंग्ल्याण्डले अरु खेलाडीलाई मौका दिनु नै भूल भयो। हरेक म्याचमा नयाँ खेलाडी खेलाउँदा कोचलाई पनि कुन खेलाडी कुन पोजिसनमा खेलाउने भन्ने गाह्रो हुन्छ।

कसले कसरी खेल्ने नै तय भएन। कम्तीमा ६/७ जना खेल्ने खेलाडी निश्चित हुनुपर्थ्यो। यी कुनै पनि हुन सकेन। रुनी जस्ता खेलाडीले आफूलाई प्रमाणित गर्न चुके। यस्तै रासफोर्ड र भार्डी पछि आए तर त्यतिखेर ढिला भइसकेको थियो।

बल होल्ड गरेर खेल्ने मिडफिल्डर पनि भएन। डेड बललाई खेल्ने खेलाडी पनि भएन। इंगल्याण्डसँग पेस र अट्याक पनि थियो तर प्लेअरको कन्फिडेन्ट भएन।

रासफेर्ड आएपछि खेलमा केही तालमेल मिल्न खोजेको थियो तर तेतिखेर ढिला भइसकेको थियो। स्टार खेलाडीहरुलाई प्रयोग गर्दा नै इंगल्याण्ड हार्न पुग्यो।

अर्को कुरा आइसल्याण्डले पनि राम्रो खेल्यो। इंगल्याण्डले सुरुमै पेनाल्टी पायो र गोल गर्‍यो। तर त्यसको दुई मिनेपछि नै आइसल्याण्डले गोल फर्कायो जुन इंगल्याण्डले सोचेको पनि थिएन।

दोस्रो गोल हुँदा इंगल्याण्डका तीन डिफेन्डर त्यहीँ थिए। सिथोरसनले राम्रोसँग प्रहार पनि गर्न पाएका थिएनन्। तर त्यसमा जो हार्टको मिस्टेककले गोल हुन पुग्यो हार्ट जस्तो किपरले त्यो सेभ गर्नै पर्थ्यो। किपरले ९ राम्रो सेभ गरेर एक बिगार्‍यो भने पनि त्यो गल्ती उसैलाई जान्छ।

आइसल्याण्डको टीम फिजिकल्ली फिट थिया, जुन उनीहरुको एड्भान्टेज थियो। इंगल्याण्डले जति चुनौति दिए पनि त्यसलाई सामना गर्‍यो। आइसल्याण्डका डिफेन्डरले इंगल्याण्डका फरवार्डलाई खुलेर खेल्ने मौका दिएनन्। इंगल्याण्डले बल पोसेसन आफ्नो पक्षमा राखे पनि आक्रमण गर्न सकेन। पोस्ट अटेम्पट पनि धेरै अफ टागेर्ट थियो। समय बितेपछि हड्सन आफैँमा तनाबमा आए कसलाई खेलाउने भनेर। भार्डी र रासफोर्डलाई दोस्रो हाफको सुरुमै छिराउनुपथर्यो तर यसैमा चुक्यो इंगल्याण्ड।
 
फ्रान्सले प्रिक्वाटरमा राम्रो खेल्यो
फ्रान्सले समूह चरणमा अन्तिमतिर गोल गर्दै खेल जितेको थियो। यो टीम गोल गर्नमै संघर्ष गरिरहेको थियो। तर फ्रान्सले आफ्नो रियल गेम प्रिक्वाटर फाइनलमा खेले जस्तो लाग्छ। आयरल्याण्ड विरुद्ध दोस्रो मिनेटमै पेनाल्टीमा गोल खाएपछि फ्रान्सले जुन किसिमको संघर्ष गर्‍यो। त्यसको फल दोस्रो हाफमा देखियो।

दोस्रो हाफमा फ्रान्सले राम्रो खेल्यो। पोस्टमा पनि धेरै आक्रमण गर्‍यो। यसअघि खासै जम्न नसकेका एन्टोनी ग्रिज्मनले तीन मिनेटको अन्तरमा दुई गोल गरे। उनैको फलले गर्दा आयरल्याण्डका खेलाडीले रेड कार्ड पायो।

दोस्रो गोल गर्दा फ्रान्सको टीम स्पिरिट राम्रो थियो। अहिलेसम्म हेर्दा युरोमा अन्य टीमको भन्दा फ्रान्सको टीम स्पिरिट राम्रो थियो। दोस्रो हाफमा मैदान छिरेका गिग्नाकले पनि थोरै समयमै गोल गर्ने मौका पाएका थिए तर गोल गर्न सकेन।

फ्रान्सको डिफेन्समा पनि पुराना र नयाँको समायोजन उत्कृष्ट छ। डिफेन्स राम्रो छ। गोलरक्षक पनि राम्रो छ।
 
कस्तो होला क्वाटरफाइनलका खेल?
क्वाटरफाइनलसम्म पुगेका आठवटै टीम उत्कृष्ट छन्। राम्रो खेलेर नै उनीहरु क्वाटर फाइनलमा पुगेका हुन्। प्रिक्वाटर फाइनलमा जुन किसिमको प्रतिस्पर्धा भयो, क्वाटर फाइनलमा अझ बढी प्रतिस्पर्धा र रोमाञ्चक हुनेछ।

क्वाटर फाइनलमा सबैभन्दा रोमाञ्चक खेल जर्मनी र इटलीबीच हुने अनुमान गर्न सकिन्छ। जर्मनीको टीम सन्तुलन छ र अहिलेसम्म गोल खाएको छैन। प्रिक्वाटर फाइनलमा पनि जर्मनीले राम्रो खेल्यो। यता इटली पनि राम्रो खेलेर नै क्वाटर फाइनलमा पुगेको छ। ग्रुप डेथमा परे पनि इटलीले उत्कृष्ट प्रदर्शन गर्दै समूह चरण पार गर्‍यो। प्रिक्वाटरमा डिफेन्डिङ च्याम्पियन स्पेनलाई हरायो। अब क्वाटर फाइनलमा जर्मनीसँग खेल्दा इटलीको मनोबल अझै उच्च हुनेछ।

तर जर्मनीलाई जित्न इटलीले धेरै संघर्ष गर्नुपर्छ। जर्मनीको फरवार्डको खेल्ने शैली स्पेनको भन्दा धेरै फरक छ। स्ट्राइकर मारियो गोमेज र नयाँ आएका युलियन ड्राक्सलर फर्ममा छन्। उनीहरुलाई ओजिल, मुलरको राम्रो साथ छ। जर्मनीको अग्रपंतिमा रोक्न इटलीलाई गाह्रो हुनेछ। यस्तै जर्मनीको डिफेन्स राम्रो छ। गोलरक्षक राम्रो छ। गोल पनि खाएको छैन। तयसैले इटलीको लागि जर्मनी गाह्रो अपोनेन्ट हो।
 
यस्तै नवप्रवेशी वेल्स र बेल्जियमको खेल पनि हेर्न लायक हुनेछ। पहिलो खेल इटलीसँग हारे पनि बेल्जियमका गोल्डेन जेनेरेसन फर्ममा आएको छ। समुह चरणमा स्वीडेन र आयरल्याण्डलाई हराएको बेल्जियमले प्रिक्वाटरमा हंगेरीलाई ४–० ले हराउँदै आफ्नो क्षमता प्रमाणित गरिसकेको छ।

प्रिक्वाटरमा हंगेरीलाई हराउँदा कप्तान एडेन हाजार्डले उत्कृष्ट प्रदर्शन गरे। हाजार्ड फर्ममा फर्किनु, हरेक खेलमा गोल स्कोरिङ राम्रो हुनु बेल्जियमको लागि एड्भान्टेज बनेको छ। केभिन डे बु्रएन पनि राम्रो खेल्न थालेका छन्। अर्को कुरा बेल्जियमको हरेक पोजिसनका खेलाडी राम्रो छन्। बेन्च पनि बलियो छ।

बेल्जियमको खेल्ने शैली पनि अरुको भन्दा फरक छ। अरुले ४–३–३ को रणनीतिमा खेल्दा बेल्जियम भने ४–२–१–३ को शैलीमा खेल्न थालेको छ। पछाडिको २ खेलाडीलाई लाई एक प्लेमेकरले सहयोग गर्छ र अगाडिको तीन फरवार्डलाई पनि सहयोग गर्छ।

यता वेल्स वन म्यान आर्मी हो। पहिलो पटक युरो खेल्दै गरेको वेल्सले क्वाटर फाइनससम्म पुग्दा राम्रो प्रदर्शन गरेको छ। तर वेल्स गारेथ बेलमा बढी निर्भर रहन्छ।

वेल्सको लागि राम्सेको मेहनत र बेलको म्याच डिसाइडिङ फ्याक्टर महत्वपूर्ण रहन सक्छ। हरेक म्याचमा बेलको फ्रि किक राम्रो थियो। डेड बल बेलको पक्षमा गयो भने वेल्सले फाइदा उठाउन सक्छ। नत्र भने बेल्जियम फेभरेट हो।
 
रोनाल्डो नै निर्णायक
पोर्चुगल समूह चरणबाट अगाडि बढ्न नै संघर्ष गरेको टोली हो। उनीहरु भाग्यको साथमा क्वाटर फाइनलसम्म पुगेको छ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पछिल्ला दुई खेलमा राम्रो खेल्दै आएका छन्। अन्य खेलाडीहरुको प्रदर्शन राम्रो छ। नानी, क्वारेस्मा फर्ममा छन्। वैकल्पिकमा आएका सान्चेज उत्कृष्ट फर्ममा देखिएका छन्। क्रोएसिया विरुद्ध काउन्टरमा गोल गर्दा पनि रोनाल्डो निर्णायक देखिए। उनले प्रहार किपरले क्लियर गर्न नसक्दा त्यसैमा क्वारेस्माले गोल गरेका हुन्। वेल्समा बेल जस्तै पोर्चुगलमा पनि रोनाल्डो नै मुख्य हुनेछन्। पोर्चुगल कतिसम्म अगाडि जाने भन्नेमा रोनाल्डोको प्रदर्शन महत्वपूर्ण हुनेछ।

यता पोल्याण्ड प्रिक्वाटर फाइनलमा भाग्यमानी बन्दै क्वाटर फाइनल पुगेको हो। पोल्याण्डभन्दा स्विट्जरल्याण्डको खेल धेरै राम्रो थियो। तर अन्तिममा एउटा पेनाल्टी मिस्टेक गर्दा स्विट्जरल्याण्ड पराजित हुँदै बाहिरिन पुग्यो। प्रत्येक म्याच सोचेअनुसार हुँदैन। ठिक त्यसै भयो, स्विट्जरलयाण्डका लागि। यो नै फुटबलको रोमाञ्चकता हो। पोल्याण्डले पोर्चुगलसँग खेल्दा स्विट्जरल्याण्डसँग भन्दा धेरै मेहनत गर्नुपर्छ।

इंगल्याण्ड विरुद्ध अप्रत्यासित नजिता निकाले पनि क्वाटर फाइनलमा फ्रान्स नै बलियो छ। आइसल्याण्डले इंगल्याण्ड विरुद्ध जुन गोल गरेको छ, सधैं त्यस्तो हुन्छ भन्ने छैन। आइसल्याण्डले गोल गर्दा हरेक टीमको डिफेन्स कमजोर बनेको थियो। तर फ्रान्सको आक्रमणसँगै डिफेन्स, गोलरक्षक पनि राम्रो छ। फ्रान्सले अपोनेन्टलाई प्रेसरमा राखेर आक्रमण गर्छ र गोल गर्छ। आइसल्याण्ड विरुद्ध पनि फ्रान्सको सोही रणनीति हुनेछ।

जर्मनी, बेल्जियम, पोर्चुगल र फ्रान्स सेमिफाइनलमा पुग्ने सम्भावना बढी छ।