महिना दिनमै राष्ट्रिय बीमा कम्पनीको मूल्य दोब्बरले बढ्यो, महँगोमा बेच्नेभन्दा किन्ने बढी

बिजमाण्डू
२०७३ असार १६ गते ००:०० | Jun 30, 2016
महिना दिनमै राष्ट्रिय बीमा कम्पनीको मूल्य दोब्बरले बढ्यो, महँगोमा बेच्नेभन्दा किन्ने बढी
काठमाडौं । पुँजी बजारमा पछिल्ला दुई साता हरेक दिन एउटै कम्पनीको सेयर मुल्य १० प्रतिसतका दरले बढ्यो । हरेक दिन जस्तै यो कम्पनीको सेयरमा सर्किट लागेको छ । त्यो कम्पनी हो राष्ट्रिय बीमा सस्थानबाट टुक्राएर बनाइएको राष्ट्रिय बीमा कम्पनी ।

Tata
GBIME
Nepal Life

यो बीमा कम्पनीको सेयर मूल्य एक महिनाको अवधिमा प्रति कित्ता सात हजार ४३० रुपैयाँले बढ्यो । यो कम्पनीको मूल्य जेठ १७ गते प्रतिकित्ता ६५०० रुपैयाँको दरले नेपाल स्टक एक्स्चेन्जमा कारोबार भएको थियो भने असार १५ गते प्रतिकित्ता १३ हजार ९३० रुपैयाँमा करोबार भयो ।

मूल्यसँगै माग पनि बढिरहेको छ । बेच्नेभन्दा किन्ने धेरै बढी भएको कारण बजारमा भाउ लगातार जस्तै बढेको हो । यो सरकारी स्वामित्वको कम्पनी हो । जीवन र निर्जीवन बीमा कम्पनी अगल गर्दै सरकारले ठीक दुई वर्षअघि नर्जीवन बीमा व्यवसाय मात्रै गर्न कम्पनी बनाएको हो । अहिले दोस्रो बजारमा कारोबार भइरहेको यही निर्जीवन बीमा कम्पनीको सस्थापक सेयर हो ।

के कारण यति धेरै मूल्य बढ्यो?
पुँजी बजार बुलिस ट्रेण्डमा हुँदा अधिकांस कम्पनीको सेयर मूल्य बढेकै हुन्छ । यही कारण अहिले नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत अधिकांस कम्पनीको मूल्य बढेको छ । तर तुलनात्मक रुपमा यो कम्पनीको मूल्य निकै धेरै बृद्धि भएको छ ।

यो कम्पनीले चुक्ता पुँजी बृद्धि गर्नै पर्ने अवस्था छ । हालसम्म कम्पनीको चुक्ता पुँजी करिब १३ करोड रुपैयाँ छ । यो कम्पनी सबैभन्दा कम पुँजी भएको बीमा कम्पनीमा पर्छ । पुँजी बढाउँदा कम्पनीले बोनस सेयर दिने निश्चित जस्तै छ ।

सेयरहोल्डर फण्ड नै तीन अर्ब ६२ करोड रुपैयाँ छ । गत वर्षसम्मका सञ्चित नाफा १३ करोड २३ लाख रुपैयाँ छ । विगतका वर्षहरुको लेखा परीक्षण भएपछि लगानीकर्ताहरुले उच्चदरमा बोनस सेयर पाउने संभावना रहेकोले सेयरको भाउ हरेक दिन जस्तै सर्किट लाग्ने गरि बढेको हो । दैनिक एक हजार दुई सय कित्ता भन्दा बढी सेयर कारोबार भइरहेको तर माग भने दुई हजार पाँच सय कित्ता भन्दा बढी हुने गरेको ब्रोकर कम्पनीहरु बताउँछन् ।

यो कम्पनीको सेयर नेप्सेमा सूचिकृत मध्ये दोस्रो महँगो बनेको छ । युनिलिभर नेपालको सेयर सबैभन्दा महँगो छ भने दोस्रोमा यो कम्पनीको सेयर पुग्यो । नेटवर्थ र सम्पत्ति धेरै भएको कारण पनि लगानीकर्ताले सेयरका लागि यति धेरै मूल्य तिर्न चाहेका हुन् ।