भाडामा यसरी लुटिरहेका छन् यातायात व्यवसायीले, तेलको मूल्य घट्यो तर भाडा घटेन

बिजमाण्डू
२०७३ असार १६ गते ००:०० | Jun 30, 2016
  • अमर बडुवाल/ बिजमाण्डू

काठमाडौं ।  पेट्रोलियम पदार्थको मूल्य अनुसार भाडा घटेपनि यातायात व्यवसायीले पूरानै भाडादर कायम राखेर उपभोक्ता ठगिरहेका छन् । पेट्रोलियम पदार्थको मूल्य घटेको छ महिनाभन्दा बढी भएपनि व्यवसायीले पूरानै भाडादर कायम गरेका छन् ।

सरकारले २०७२ सालको माघ २४ गते सार्वजनिक सवारी साधनको छोटो दूरीको भाडा न्यूनतम १३ रुपैयाँ कायम गरेको थियो । तर उपत्यकाभित्र चल्ने अधिकांश सवारी साधनले न्यूनतम १५ रुपैयाँ लिने गरेका छन् ।
 
पूरानो बसपार्क हुँदै किर्तिपुर जाँदा २० रुपैयाँ भाडा असुली गरिरहेका छन् । यो माघ अघिको भाडादर हो ।  किर्तिपुर बस्ने कमल कठायतका अनुसार एक वर्ष अघि १८ रुपैयाँ तिरेपनि अहिले अझै भाडा बढाएर लिने गरेका छन् । उनका अनुसार एक वर्षअघि एक लिटर डिजलको ८६ रुपैयाँ थियो भने अहिले ७५ रुपैयाँमा झरेको छ ।

Tata
GBIME
Nepal Life

किर्तिपुर यातायातका संयोजक अर्जुन कार्कीले भने किर्तिपुरमा ८० प्रतिशत विद्यार्थी र २० प्रतिशत अन्य भएकोले व्यवसायी मर्कामा परेको बताए । उनले विद्यार्थी बढी भएकाले २० रुपैयाँ भाडा लिने गरेको दाबी गरे । पुरानो बसपार्क हुँदै सूर्यविनायक भक्तपुर रुटमा चल्ने गाडीले २५ रुपैयाँ भाडा लिने गरेका छन् ।

विद्यार्थी सहुलियतमा पनि किचलो

विद्यार्थी सहुलियतमा समेत किचलो छ । विद्यार्थी सहुलियतको भाडा  न्यूनतम सात रुपैयाँ हुनुपर्छ । तर सवारी मजदुरले १० रुपैयाँ लिने गरेका छन् । यातायात व्यवसायीले खुद्रा पैसा नभएकाले फिर्ता गर्न नसकेको बताएर उपभोक्तामाथि भार थपेर तर्किने गरेका छन् ।  यातायात व्यवस्था विभागका अधिकृत अर्जुन रिजालले भाडाका बारेमा अनुगमन गरिरहेको बताए ।

उनका अनुसार असार १६ गतेदेखि ६ वटा टोली बनाएर अनुगमन गरिरहेका छौं ।चार वटा यातायात विभागको टोली र दुर्इवटा ट्राफिक प्रहरीको टोली बनाएर अनुगमन गरिरहेका छौं, उनले बिजमाण्डूसँग भने, हामीले बढी भाडा लिएकालार्इ कारवाही समेत गरेका छौं । ट्राफिक प्रहरीका नायब निरीक्षक भरत जिसीका अनुसार एक महिनाको अवधिमा ४० सवारी साधनलार्इ कारवाही गरिसकिएको छ ।(प्रशिक्षार्थी)