‘सरकारले उद्यमीलार्इ सहजरुपमा पूँजी उपलब्ध गराउनुपर्छु’: खनाल, जोखिम लिन तयार हुनुपर्छ: उद्यमी

बिजमाण्डू
२०७३ असार १६ गते ००:०० | Jun 30, 2016
‘सरकारले उद्यमीलार्इ सहजरुपमा पूँजी उपलब्ध गराउनुपर्छु’: खनाल, जोखिम लिन तयार हुनुपर्छ: उद्यमी

काठमाडौं । आर्थिक विश्लेषक तथा पूर्व अर्थसचिव समेत रहेका रामेश्वर खनालले सामाजिक उद्यमशीलता गर्न चाहनेका लागि सरकारले सहजरुपमा पूँजी उपलब्ध गराउनुपर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

किङ्स कलेजद्वारा विहिबार आयोजित सामाजिक उद्यमशिलता सम्वन्धि अन्तराष्ट्रिय सम्मलेनमा बोल्दै खनालले ग्रामिण तथा दुर्गम क्षेत्रमा गरिने व्यवसायले नाफा मात्र नभई सिङ्गो समाजलाई नै सुविधा दिन मद्दत पुर्‍याउने बताए  । उनले भने, 'स्थानियरुपमा वा व्यक्तिगत तवरले साना स्केलका जलविद्युत बनाउने उद्यमीहरु छन्', उनले भने, 'त्यस्ता उद्यमीहरु नाफामा केन्द्रित छैनन्।'

समाजलाई संगठित राख्न मद्दत पुर्‍याउने व्यवसायमा गति प्रदान गर्न सरकारको भूमिका महत्वपूर्ण रहेको खनालले बताए । उनले भने, 'उद्यम गर्न चाहने वास्तविक इमान्दार मानिसहरुले पूँजीको अभाव बेहोर्नुपरेको छ।'नेपालमा उद्यमीले उद्यमका लागि अवसर नपाएको पर्यटन व्यवसायी कर्ण शाक्यले बताए। 'सामान्यतया व्यापारीले कपाल नभएकालाई पनि काइयो बेच्नुपर्छ'उनले भने, 'तर नेपालका उद्यमीले कपाल भएकालाई  पनि काइयो बेच्न नसकिरहेको बिडम्बना छ।'

सामाजिक उद्यमशिलतामा नेतृत्वको अहम् भूमिका रहेको गियर अफ भेन्चरकी सह-संस्थापक लेना रामफेल्टले बताइन्। उद्यममा जोखिमको सम्भावना रहने गरेकाले उद्यमीले जोखिम उठाउन सधैं तयार रहनुपर्ने उनले बताइन्। उनले भनिन्, 'उद्यमीले गल्ति र हार पनि स्विकार गरेर अगाडी बढ्नुपर्छ ।' सामाजिक उद्यमीले सृजनशील सोच बनाइराख्नु जरुरी रहेको उनले बताइन्।

लिनाले भनिन्, 'सामाजिक उद्यमीले उपभोक्ताको चाहना सँगै लाभ लिने तत्परता पनि देखाउन आवश्यक पर्छ।' सामाजिक उद्यमीले सधै उपभोक्ताको दुख तथा चाहनालाई  मेटाउने सोच आवश्यक रहेको बताउँदै उनले उद्यमीमा लाभ लिने तत्परता पनि उत्तिकै आवश्यक पर्ने बताइन्।इन्टरनेटले विश्वलाई एकत्रित पारेको अवस्थामा नेपाल जस्ता मुलुकहरुका दुर्गम क्षेत्रमा इन्टरनेटको पँहुच आवश्यक रहेको एप्पल इन्कका उद्यमी सिद्धार्थ राझन्सले बताए।

'खाना, लत्ताकपडा र आवास जसरी विश्वमा इन्टरनेट पनि अपरिहार्य चिज भइसकेको छ। तर विश्वको तीन चौथाई भागका मानिसहरु अझै पनि इन्टरनेटबाट बञ्चित रहनुपरेको तितो यथार्थ रहेको छ, उनले भने, 'इन्टरनेट सुविधाले सिङ्गो समाजलाई आवश्यक रहेको अवस्थामा यो विषय सामाजिक उद्यमशिलतासँग गासिएको छ।'    

अब भविष्यमा इन्टरनेटको विकसित रुप आउटरनेटको अवधारणा सफल बन्ने सम्भावना रहेको राझान्सले बताए। आउटरनेट भनेको भू उपग्रहको माध्यबाट इन्टरनेट पहुँच नपुगेका अर्बौंका संख्यामा रहेका मानिसहरुमा सहजरुपमा इन्टरनेट सेवा प्रदान गर्ने प्रविधि हो। उनले भने, 'सबैमा मानिसले इन्टरनेटको सुविधा उपभोग गर्न पाउनुपर्छ, भविष्यमा आउटरनेटले विश्वलाई जोड्नेछ।'