मौद्रिक नीतिमा हरिभक्तको सुझाव- आइ ह्याव रिपोर्ट माइ हेडक्वाटर काठमाडौं भन्ने दिन कहिले आउँछ?

बिजमाण्डू
२०७३ असार १६ गते ००:०० | Jun 30, 2016
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआइ) का अध्यक्ष हरिभक्त शर्माले नेपाली व्यवसायीहरुलाई पनि विदेशमा लगानी गर्ने बाटो खोलिदिन माग गरेका छन् ।
 
आगामी मौद्रिक नीतिका लागि सरोकारवालासँग सुझाव माग्न नेपाल राष्ट्र बैंकले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विदेशीलाई नेपालमा लगानी गर्न दिएजस्तै नेपालीलाई पनि विदेशमा लगानी गर्ने बाटो खोलिदिन आग्रह गरेका हुन् ।
 
'२० हजार डलरभन्दा वढी पैसा बोकेर संसारका कम्पनीहरु नेपाल आउन पाउँछन्,' उनले भने, 'नेपालीले विदेशमा लगानी गर्न नपाउने नीति संशोधन हुनु पर्छ ।' उनले नेपाली कम्पनीहरुलाई प्रतिस्पर्धी बनाउने हो भने लगानी तुरुन्त खोल्नु पर्ने तर्कसमेत गरे ।
 
'नेपाली कम्पनीहरु ग्लोबल हुनै नसक्ने अवस्था आएको छ । त्यो भएर हामीले ग्लोबल हिसावले कसरी प्रतिस्पर्धा गर्ने ? उनले भने । विदेशमा नेपाली लगानी खुला गरिदिए त्यहाँको राम्रो प्रविधि र जनशक्ति नेपाल भित्राउन सकिने उनको दावी छ ।
 
शर्माले भने- न्युयोर्कबाट उड्न लागेको जहाजमा मेरो हेडक्वाटर नेपाल हो त्यहाँ रिपोर्ट गर्न जान्छु भन्ने दिन कहिले आउँछ ? आइ ह्याव रिपोर्ट माइ हेडक्वाटर काठमाडौं भन्ने दिन ल्याउन पनि लगानी खोल्नु पर्छ ।
 
शर्माले ब्यवसायीका लागि भनेर सय अर्बको ‍औद्योगिक कोष आएपनि कार्यान्वयन हुन नसकेको बताए । 'नेपालमा हामी लागू हुन नसक्ने कार्यक्रमहरु किन ल्याउँछौं ?,' उनले भने । उनले उत्पादनमूलक उद्योगहरुलाई सहुलियत ब्याजमा कर्जाको ब्यवस्था मिलाउन पनि माग गरे ।

Tata
GBIME
Nepal Life