मूल्यबृद्धि नियन्त्रणमा गभर्नरलाई शशिन जोशीको टिप्स, नगदको कारोबार निरुत्साहित गर्न पनि सुझाए

बिजमाण्डू
२०७३ असार १६ गते ००:०० | Jun 30, 2016
काठमाडौं । मूल्यबृद्धि नियन्त्रण कसरी गर्न सकिन्छ भनेर नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाललाई टिप्स दिएका छन् ।
 
उनले गभर्नर नेपाललाई नगदको कारोबारलाई निरुत्साहित गर्दै लैजान समेत सुझाए । आगामी मौद्रिक नीतिका लागि सरोकारवालासँग सुझाव माग गर्दै बिहीबार राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा जोशीले माग पक्षबाट हुने मूल्यबृद्धि नियन्त्रण गर्ने उपाय गभर्नरलाई सुझाएका हुन् ।
 
मूल्यबृद्धि नियन्त्रमा
नेपाल राष्ट्र बैंकको मूख्य उद्देश्य मूल्यबृद्धि नियन्त्रण हो । यो नियन्त्रणको मूख्य टुल्स पोलिसी रेट हो । यति भन्दा भन्दै पनि राष्ट्र बैंकले मूल्यबृद्धि नियन्त्रण गर्न सप्लाइ साइड (आपुर्ति पक्ष) बाट केही गर्न सक्ने अवस्था छैन । तर डिमान्ड साइड (माग पक्ष) बाट गर्ने हो भने पोलिसी रेट (बैंक दर) बाटै हो ।
 
अहिले पोलिसी रेटको इफेक्टिभ ट्रान्समिसन (प्रभावकारीता) देखिएको छैन । एकातिर रेट अफ इन्फ्लेसन १० प्रतिशतको हाराहारीमा छ । पोलिसी रेट सात प्रतिशत छ । यसको इफेक्टिभ ट्रान्समिसन किन भएको छैन भनेर म उदाहरण दिन चाहन्छु । एकातिर बचतकर्ताहरुलाई एकदेखि तीन प्रतिशत मात्र ब्याज दिनसक्ने अवस्थामा हामी छौं । अर्कोतिर पाँचदेखि ६ प्रतिशतमा ऋण पाइरहेको अवस्था छ ।
 
यदि पोलिसी रेटको ट्रान्समिसन इफेक्टिभ गर्ने हो भने त्यसलाई वास्तविक बनाउन सक्नु पर्छ ।  यसले वास्तविक दरसँग तालमेल गर्न सकोस् । या ओपन मार्केट अपरेसनबाट बजारको रेटलाई पोलिसी रेटको हाराहारीमा ल्याउनु पर्‍यो । नत्र भने राष्ट्र बैंकले ल्याउने पोलिसी रेटको कुनै अर्थ हुँदैन ।
 
पैसाको प्रयोग सम्बन्धमा
एफएटिएफ (फाइनान्सियल एक्सन टाक्स फोर्स) ले नेपाललाई फेरी पनि वाच लिस्टमा राख्ने कुरा आएको छ । यसको मूख्य कारण बैंकको मात्र अनुगमन हो । अरु निकाय, जहाँ धेरै नै पैसाको कारोबार भएको छ त्यहाँ अनुगमन भएको छैन । त्यतातिर पनि ध्यान दिनुपर्छ ।
 
अहिले बैंकमार्फत नगद कारोबार गर्ने हो भने ५० लाखसम्मको डिपोजिट र त्यति नै झिक्न पाउने ब्यवस्था छ । ५० लाख भनेको नेपालको सन्दर्भमा एकदमै ठूलो पैसा हो । यसलाई विस्तारै निरुत्साहित गर्न कारोबार गर्न पाउने रकम घटाउँदै लैजानु पर्छ । ५० लाखलाई एकै पटक पाँच लाख गर्दाखेरी यसको पब्लिक रियाक्सन एकदमै नकारात्मक आउला । तर यो बर्ष २५ लाखमा झारेर अर्को बर्ष १० लाख गर्न सकिन्छ ।

Tata
GBIME
Nepal Life