विस्तारकारी बजेट आएकाले मूल्य बृद्धि नियन्त्रण गर्नु चुनौतीपूर्ण: गभर्नर, अध्यारा दिनको संकेत

बिजमाण्डू
२०७३ असार १६ गते ००:०० | Jun 30, 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मूल्य बृद्धि दर एकल अंकमा सीमित गर्ने कार्य चुनौतीपूर्ण रहेको बताएका छन् ।
 
'मूल्य बृद्धि दर ९.५ प्रतिशतसम्म झर्ला कि भन्ने थियो । तर विस्तारकारी बजेट आएका कारण त्यसमा सीमित राख्न चुनौतीपूर्ण छ,' उनले भने ।
 
सरोकारवालासँग आगामी मौद्रिक नीतिका लागि राय सुझाव माग्ने क्रममा बिहीबार गभर्नर नेपालले विकास र पुनर्निर्माणका लागि ठूलो आकारको बजेट आएको भन्दै त्यसले बजारमा मुद्रा प्रवाह बढाएर मूल्य बृद्धि एकल अंकमा सीमित गर्ने प्रयासमा सफलता हाँसिल नहुने बताएका हुन् ।
 
'ठूलो बजेट भनेको बजारमा ठूलो रकम जानु हो' उनले भने, 'भारतमा पनि पछिल्लो समय मूल्य बृद्धि केही बढेको छ । त्यसैले मूल्य बृद्धि नियन्त्रण गर्ने चुनौतीलाई संवोधन गर्न निकै गाह्रो छ ।'
 
गभर्नर नेपालले मुलुकको आर्थिक बृद्धि दर ०.७७ प्रतिशतमा सीमित भएका बेला विस्तारकारी बजेटले नगद प्रवाह बढाएर मूल्य बृद्धिमा दवाव पर्ने उल्लेख गरे । उनले मूल्य बृद्धि घटाएर रोजगारी बढाउँदै आर्थिक बृद्धि दर बढाउन सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने तयारी भएपनि त्यो हासिल गर्न भने चुनौती रहेको बताएका हुन् ।
 
डा. नेपालले मूल्य बृद्धि मात्रै नियन्त्रण गर्न सकिए गरिवी निवारण स्वत हुने बताए । उनले यसपाली अपेक्षा अनुसारको रेमिट्यान्स नभित्रिएको भन्दै ब्यापार घाटा चरम अवस्थामा पुगेको भन्दै आगामी दिन जटिल हुने संकेत पनि गरे ।
 
कार्यक्रममा राष्ट्र बैंकका तर्फबाट अनुसन्धान विभागका कार्यकारी निर्देशक नरवहादुर थापाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Tata
GBIME
Nepal Life