प्रतियुनिट तीन देखि १४ रुपैयाँसम्म तिर्नुपर्ने, नयाँ महशुलले प्राधिकरणको आम्दानी ५ अर्ब बढ्ने

बिजमाण्डू
२०७३ असार १६ गते ००:०० | Jun 30, 2016
प्रतियुनिट तीन देखि १४ रुपैयाँसम्म तिर्नुपर्ने, नयाँ महशुलले प्राधिकरणको आम्दानी ५ अर्ब बढ्ने
काठमाडौं । विद्युत महशुल निर्धारण आयोगले विजुलीको भाउ १९ प्रतिसतसम्म बढाउन सिफारिस गरेको छ । आयोगको विहीबार साँझ बसेको बैठकले भाउ महशुल बढाउन सिफारिष गरेको हो । प्रतियुनिट तीन देखि १४ रुपैयाँसम्म महशुल लगाउन आयोगले सिफारिस गरेको हो ।

Tata
GBIME
Nepal Life

साना उपभोक्ताले प्रति युनिट तीन रुपैयाँ र ठूला उपभोक्ताले १४ रुपैयाँसम्म तिर्नुपर्ने छ । यो महशुल दर साउन देखि लागु हुनेछ । गत वर्ष १३ प्रतिसतका दरले महशुल बढाउन आयोगले सिफारिस गरेको थियो । तर सर्वोच्च अदालतम मुद्दा परेपछि महशुल बढ्न रोकिएको थियो । 

 
मासिक २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकले न्युनतम ३० रुपैयाँ र प्रतियुनिट तीन रुपैयाँका दरले महशुल तिर्नुपर्नेछ । यसरी तिर्दा २० युनिट खपत गर्ने ग्राहकले अहिलेको भन्दा १० रुपैयाँ बढी शुल्क तिर्नुपर्छ । हालसम्म यस्ता ग्राहकले ८० रुपैयाँ तिर्दै आएका छन् । 
 
३० युनिटसम्म खपत गर्ने ग्राहकले प्रतियुनिट सात रुपैयाँको दरले, ५० युनिटसम्म खपत गर्नेले ८.५०पैसाका दरले १५० युनिटसम्म खपत गर्ने ग्राहकले ११ रुपैयाँका दरले र दुई सय युनिटसम्म खपत गर्नेले प्रतियुनिट १२ रुपैयाँका दरले महशुल तिर्नुपर्छ ।

आयोगले सिफारिस गरे अनुसार चार सय युनिटसम्म विद्युत खपत गर्नेले १३ रुपैयाँका दरले र चार सय युनिट भन्दा बढी विद्युत खपत गर्ने उपभोक्ताले १४ रुपैयाँको दरले विद्युत महशुल बुझाउनु पर्नेछ । 
 

ग्राहकलाई ३० देखि १५० रुपैयाँसम्म न्युनतम शुल्क तोकिएको छ । 
 
महशुल बृद्धिले नेपाल विद्युत प्राधिकरणलाई थप ५ अर्ब रुपैयाँ आम्दानी हुनेछ । नयाँ महशुल दर लागु भएपछि प्राधिकरणले प्राप्त गर्ने महशुलमा पाँच अर्ब थपिन्छ, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश राज काफ्लेले भने, तीन वर्षपछि महशुल बढ्न लागेको हो । यसले लोडसेडिङ कम गर्न सघाउँछ । 
 
आगामी डिसेम्बर महिना देखि भारतबाट थप तीन सय मेगावाट विद्युत आयात गर्ने योजनामा प्राधिकरण छ । विद्युत आयात गर्न अहिले बढेको महशुलले सघाउने जानकारी कार्यकारी निर्देशक काफ्लेले दिए । भारतबाट तीन सय मेगावाट विद्युत आयात गरेपछि आगामी हिउदमा लोडसेडिङ दैनिक चार घण्टामा झार्न सकिने जानकारी पनि उनले दिए । 
 
हरेक वर्ष महशुल दर समायोजन नहुँदा प्राधिकरणको वित्तीय अवस्था राम्रो हुन नसकेको बताइन्छ । प्राधिकरण विद्युत चुहावटको मारमा पनि छ ।