भिसा लिएका पाँच सय कामदार रोकिए, ईपिएसका अधिकारी भन्छन् तालिमको कोटा र हवाई टिकट पुगेन

बिजमाण्डू
२०७३ असार २६ गते ००:०० | Jul 10, 2016
भिसा लिएका पाँच सय कामदार रोकिए, ईपिएसका अधिकारी भन्छन् तालिमको कोटा र हवाई टिकट पुगेन
  • अमर बडुवाल/बिजमाण्डू
काठमाडौं । तालिमको कोटा सीमित भएपछि भिसा लिएर पनि करिव पाँच सय कामदार दुई महिना देखि कोरिया जानबाट रोकिएका छन् । 
 
कृषि कामदारले कोरियामा लिनुपर्ने तालिमको कोटा सिमित भए पछि दुई महिना देखि नेपालबाट जाने कृषि कामदार रोकिएका हुन् । 
 
विगतमा भिसाको प्रक्रिया निकै चाँडो हुन्थ्यो । एक साता भित्रै भिसा पाउने र अन्य प्रक्रिया पुरा गर्नासाथ कामदार कोरिया जान पाउँथे । यस पटक भिसा पाएको दुई महिना भन्दा बढी समय लागि सकेको छ । 
यतिबेला कृषि क्षेत्रका लागि प्रतिकुल मौसम हुनु र दोब्बर कामदार एकै पटक पठाउँदा हवाइ टिकटमा पनि अपुग भएकोले कामदार पठाउन ढिला भएको ईपिएस कोरिया शाखाका शाखा अधिकृत शोभाकर भण्डारीले बताए । 
 
यो वर्ष ६ महिनाको अवधिमा ५ हजार ६ सय १२ कामदारको श्रम सम्झौता भएकोमा ५ हजार २८ जना कोरिया पुगिसकेको र बाँकी रहेका ५ सय ८४ जना कामदार जान बाँकी छ । यी मध्ये अधिकांस कृषिक्षेत्रका कामदार रहेका छन् । भिसा लागेका र अनुमानित उडान सूचिमा नाम परेका कृषि कामदारको पाँच पटक सम्म उडान तालिका परिवर्तन भैसकेको पनि शाखा अधिकृत भण्डारीले बताए । 
 
अछाम रामारोशनमा प्रकाश बुढाको मे ३ तारिकमा श्रमसम्झौता आएपछि त्यही महिनाको २३ तारिकमा सिसिभिआई आएको थियो । ३८ दिन पुरा भैसक्दा पनि उडान तालिकामा उनको नाम परेन । आज, भोलि भन्दा भन्दै डेढ महिना बित्यो, घरबाट ल्याएको सबै खर्च सकिए पछि ऋण लिएर खर्च चलाउन थालेको उनले बताए । 
 
पहलमानपुर कैलालीका नारायण बुढाक्षेत्री पनि कोरिया जान भन्दै घरपरिवार सहित काठमाडौ आएको दुई महिना पुग्न लाग्यो । तीन पटकसम्म उडान परिवर्तन भए पछि उनले परिवारका सदस्यलाई घर फर्काएर आफु एक्लै काठमाडौं बसिरहेको बताए। 
 
मौसम अनुकुल भएपछि र अन्य देश बाट कोरिया आउने कामदारको चाप कम भए पछि भिसा प्राप्त गरेका कामदार पठाउने जानकारी शाखा अधिकृत भण्डारीले बताए । जुलाई महिनाको अन्त्यसम्म बाँकी कृषि कामदार कोरिया पठाउने लक्ष रहेको जानकारी पनि उनले दिए । 
 

Tata
GBIME
Nepal Life