डिडिसीले ल्यायो चियाका लागि ‘स्पेसल मिल्क टि’, पहिलेकोभन्दा बाक्लो र दोब्वर कप चिया हुने

बिजमाण्डू
२०७३ असार ३० गते ००:०० | Jul 14, 2016
डिडिसीले ल्यायो चियाका लागि ‘स्पेसल मिल्क टि’, पहिलेकोभन्दा बाक्लो र दोब्वर कप चिया हुने
काठमाडौं। दुग्ध विकास संस्थान (डिडिसी)ले साउन १ गतेदेखि बजारमा दुई किसिमका नयाँ उत्पादन ल्याउने भएको छ। विहिवार एक कार्यक्रमको आयोजना गरी बजारमा नयाँ दुई नयाँ उत्पादन 'डिडिसी स्पेसल टि मिल्क' र गाइभैसीका लागि नयाँ दाना ल्याउन लागेको जानकारी दिएको हो।
 
डिडिसीले चिया पकाउनका लागि छुट्टै प्रकारको टि मिल्क ल्याउन लागेको छ। बजारमा दुध सम्बन्धि अनुसन्धान गरी पसलहरुको  चाहनाअनुसार यो दुध बजारमा ल्याउन लागेको दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक इश्वरी प्रसाद अधिकारीले बताए।
 

Tata
GBIME
Nepal Life

यो दुधमा चिल्लो पदार्थ कम हुने र अरु दुधभन्दा बाक्लो हुने अधिकारीले जानकारी दिए। अरु सामान्य दुधमा चिल्लो पदार्थको मात्रा तीन प्रतिशत रहेको हुन्छ भने आउन लागेको नयाँ दुधमा १.५ प्रतिशत मात्र चिल्लो पदार्थ रहनेछ। साथै यो दुध बाक्लो हुनेछ जसका कारण धेरैकप चिया बनाउन सकिने अधिकारीले जानकारी दिए। यसमा प्रोटिन, कार्वोहाइड्रेड, मिनिरलका साथै अरु विभिन्न किसिमका पैष्टिक तत्वहरु रहने छन्।
 
यस्तो दूध चिया र कफी लागि उपयुक्त हुने र स्वाद पनि मिठो हुन्छ। दूधमा सोलिड नट फ्याट(एसएनएफ) र फ्याट हुन्छ। चियाका लागि एसएनएफको मात्रा बढाउने र फ्याटको मात्रा घटाएर बिक्री गर्ने प्रचलन छ। संस्थानले पनि एसएनएफको मात्रा बढाएर फ्याटको मात्रा डेढ प्रतिशतमा झारेर यो दूध बजारमा ल्याउनेछ।  
 
फ्याटको मात्रा घटाएर एसएनएफको मात्रा बढाउनेवित्तिकै दूधको मूल्य घट्छ भने दूध बाक्लो हुन्छ। अहिले बजारमा आइरहेको दूधमा एसएनएफको मात्रा ८ र फ्याटको मात्रा ३ प्रतिशत हुनुपर्ने प्रावधान छ। संस्थानले चियाका लागि ल्याउने दूधमा एसएनएफको मात्रा ९ प्रतिशत र फ्याटको मात्रा डेढ प्रतिशत मात्रै हुनेछ।
 
चिया पसलेलाई लक्षित गरेर ल्याएका कारण यो दुध अरु दुधभन्दा सस्तो रहेको छ। बजारमा विक्रि भएको अरु दुधको मूल्य ६४ रुपैंया प्रतिलिटर रहेको छ भने यो दुध ६० रुपैंया प्रतिलिटरमा पाइने अधिकारीले बताए।
 
गाई भैंसीका लागि दाना उत्पादन सुरु
डिडिसीले हेटौंडाको सिसौधारीमा गाई भैंसीलाई खुवाइने दाना उत्पादन सुरु गरेको छ। किसानहरुलाई गुणस्तरीय दाना उपलब्ध गराई दुधको उत्पादन वृद्धि गर्ने लक्षका साथ दाना उत्पादन सुरु गरेको हो।

संस्थानले कृषिमन्त्रालय अन्तर्गत रहेको रुग्ण उद्योगलाई २५ बर्षका लागि लिजमा लिएर दाना उद्योग बनाएको हो। संस्थानले कारखानको सम्पूर्ण भौतिक संरचनाको मर्मतका साथै नयाँ मेसिन खरिद गरी उत्पादन थालेको हो। उसले कारखानामा चाहिने जेनेरेटर लगाएतका अरु सामाग्रीहरु पनि किनिसकेको छ। कुल तीन करोडको लगानीमा संस्थानले यो दाना उद्योग सञ्चालनमा ल्याएको हो।

एक घण्टामा पाँच क्विन्टल दाना उत्पादन गर्ने लक्ष राखेको सो उद्योगमा चाहेअनुसारको परिमाणमा दाना उत्पादन गर्न सकिनेछ। संस्थानले विशेषगरी देशभरीका दुध बेच्ने १२ सय कृषि सहकारीलाई लक्षित गर्दै यसको स्थापना गरेको जनाएको छ।

'संस्थानलाई दुध विक्रि गर्ने किसानलाई लक्षित गरी उत्पादन थालेका छौं' अधिकारीले भने 'हामी किसानलाई दाना उधारोमा दिन्छौ अनि किसानहरुले हामीलाई दुध उदारोमा दिनुहुन्छ र बाँकि रकम हमी हिसाव गरेर किसानलाई दिन्छौं।'

संस्थानले दानाको मुल्य प्रतिकेजी ३१ र ३३ रुपैयाँ निर्धारण गरेको छ । थोरै परिमाणमा किन्न आउनेका लागि ३४ रुपैंया र एक क्विन्टलभन्दा धेरै किन्नेका लागि ३१ रुपैंया प्रतिकेजीमा उपलब्ध गराउने अधिकारीले जानकारी दिए।

डिडिसीले चालू आर्थिक वर्षमा ६ करोड रुपैयाँभन्दा बढि मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थानमा भएको व्यवस्थापकिय सुधार र चुवाहटलाई न्युनिकरण गरेर नै संस्थान विगत वर्षदेखि मुनाफामा गएको हो । नियमित रुपमा घाटामा गएको डिडिसीले चुहावटलाई नै नियन्त्रण गर्दा यो मुनाफा आर्जन गर्न सफल भएको हो ।

डिडिसीले  आर्थिक वर्ष २०७१/०७२ मा पाँच करोड रुपैयाँ नाफा कमाएको थियो । यो वर्ष उक्त नाफाको रकम वृद्वि हुने डिडिसीले दाबी गरेको छ ।

यस्तै पोखरामा दुग्ध पदार्थ उत्पादन कारखाना, खुमलटारमा दहि उत्पादन कारखाना स्थापना गर्ने, चिस्यान केन्द्रहरु तथा प्रशोधन कारखानाहरुमा अटोमाईटेजसन गरिने, भुस तथा दाउरा ब्वाईलर सञ्चालमा ल्याई डिजेल खपत घटाउने, दक्ष जनशक्ति आपूर्ति तथा ज्यालादारीहरुलाई स्थायी गर्ने, केन्द्रीय कार्यालयमा रहेको जगगाको उचित व्यवस्थापन गर्ने योजना डिडिसीले अघि सारेको छ ।