सेयर किन्दै हुनुहुन्छ? किन्ने अर्डर गरेको पर्सिपल्टसम्म पैसा बुझाउनै पर्छ, डिलरको पनि व्यवस्था

बिजमाण्डू
२०७३ साउन ४ गते ००:०० | Jul 19, 2016
सेयर किन्दै हुनुहुन्छ? किन्ने अर्डर गरेको पर्सिपल्टसम्म पैसा बुझाउनै पर्छ, डिलरको पनि व्यवस्था
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँग छलफल गरेर पुँजी बजारको सुधारका योजना अघि बढाएको छ । बोर्डले सोमबार नेप्से र सिडिएससीसँग छलफल गरेको हो । 
 
बोर्ड बजार सुधारका आठ वटा कार्ययोजना अघि बढाएको छ । बजारको बृद्धिसँगै सुधारका योजना पनि अघि बढाउन आवश्यक रहेकोले समयसीमा तोकेरै कार्ययोजना बनाएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । 
बोर्डले लगानीकर्ताको कारोबारलाई छिटो सेटलमेन्ट गराउन सेयर किन्ने अडर्र दिएको दोस्रो दिन पैसा जम्मा गर्नुपर्ने अनिवार्य व्यवस्था गर्ने भएको छ । सेयर विक्री गरेपछिको तेस्रो दिन बिक्रेताले पैसा पाउनै पर्ने व्यवस्था गर्ने बोर्डले जनाएको छ । अहिले पनि टि प्लस थ्रिको व्यवस्था छ । तर यो प्रभावकारी नदेखिएको गुनासो लगानीकर्ताले गर्दै आएका छन् । 
 
त्यस्तै लगानीकर्तालाई इन्भेष्टर आइडी कार्ड दिन आवश्यक तयारी पुरा गर्न सिडिएससीलाई जिम्मा दिइएको छ । भदौं १५ गतेभित्र यो प्रक्रियालाई अन्तिम रुप दिइने छ । साउन अन्तिमसम्ममा क्लियरिङ बैंक थप्ने प्राविधिक काम सम्पन्न गर्ने जानकारी पनि बोर्डले दिएको छ । 
 
धितोपत्र दलाल व्यवसायीको भौतिक पूर्वाधारसहित मार्जिन लेण्डिङ्ग, डिलरसिप कार्य गर्न दिने सम्बन्धमा नेप्सेले साउन मसान्तसम्ममा राय सुझाव उपलब्ध गराउने सहमति पनि भएको छ ।
 
धितोपत्र बजारको सदस्य तथा कारोबार विनियमावली, २०५५ तथा धितोपत्र सूचिकरण विनियमावली, २०५३ लाई प्रतिस्थापन गर्न पेश गरेको विनियमावलीहरुमा बोर्डको सुझाव अनुसार परिमार्जन गरी आगामी भदौ १५ गते भित्र बोर्डको स्वीकृतिका लागि पेश गर्ने सहमति पनि भएको छ ।
 
सेटलमेन्ट ग्यारेण्टी फण्ड तथा अक्सन मार्केटको व्यवस्था गर्न पनि नेप्सेले भदौ १५ गते भित्र आवश्यक कार्यविधि धितोपत्र बोर्डमा पेश गर्नुपर्ने छ । 
 

Tata
GBIME
Nepal Life