चितवनमा जग्गाको मूल्य यसरी अस्वभाविक रुपमा बढ्यो, जग्गाको कारोबार बढेपछि पास नहुँदै ६ तहसम्म

बिजमाण्डू
२०७३ साउन ५ गते ००:०० | Jul 20, 2016
  • सरिता पौडेल/बिजमाण्डू

चितवन। चितवनमा जग्गाको भाउ आकासिएपछि बैना माथि बैना गरेर ६ तहसम्म पुग्ने गरेको भेटिएको छ । एउटा व्यक्तिले किनेको जग्गा ६ तहसम्म पुगेर मात्रै पास गर्ने प्रवृति देखिएको स्वंय व्यवसायी बताउँछन् ।

जग्गाको भाउ आकासिएपछि चितवनमा फेरी गैरव्यवसायिक काम हुन थालेका छन् । एउटा व्यक्तिले जग्गा किन्ने र त्यो व्यक्तिले अर्कोलार्इ बिक्री गर्दै ६ तहसम्म पुग्ने गरेको छ, नारायणी जग्गा तथा आवास व्यवसायी संघका संस्थापक अध्यक्ष दिनेश चुकेले बिजमाण्डूसँग भने, यसरी जग्गा किन्ने प्रणालीले फेरी जोखिम बढाएको छ ।

Tata
GBIME
Nepal Life

 राष्ट्र बैंकले २०६५ सालमा घरजग्गा कर्जामा सीमा नतोक्दा काठमाडौं, चितवन लगायतका क्षेत्रमा  यसरीनै जग्गाको कारोबार हुने गरेको थियो । राष्ट्र बैंकको सीमापछि चितवनको कारोबारमा समेत मन्दी आएको थियो भने बैना माथि बैना गर्ने प्रवृति रोकिएको थियो । गत वर्षको भूकम्पपछि फेरी चितवनमा जग्गाको कारोबार बढ्न थालेपछि गैरव्यवसायिक कारोबारले प्रश्रय पाउन थालेको हो ।

चुकेका अनुसार बैना माथि बैना गरेर बिक्री गर्दा जग्गाको मूल्य समेत अवास्तविक रुपमा वृद्धि भएको छ । चितवनमा जग्गाको कारोबार वास्तविक ग्राहक भन्दा व्यवसायीबीच मात्रै भएको र यसले जग्गाको मूल्य र कारोबारलार्इ दिगो नबनाउने उनले बताए । एक व्यवसायीका अनुसार अहिले चितवनमा जग्गाको बबल सुरु भएको र यसले व्यवसायलार्इ फेरी मन्दीमा लैजाने अवस्था छ ।

कठ्ठाकै दुर्इ करोड

सबै क्षेत्रबाट प्राइम लोकेशनमा भएका कारण चितवनमा जग्गाको कारोबार बढेको छ भने मूल्य पनि अस्वभाविक रुपमा आकासिएको छ । अहिले पुल्चोकदेखि लायन्स चोकसम्मको जग्गा कठ्ठाकै दुर्इ करोडमा बिक्री भइरहेको छ । यो क्षेत्रको सरकारी मूल्यांकन १ करोड ३० लाख मात्रै छ । भरतपुरको मुख्य चोकमा एक कठ्ठाको एक करोड रुपैयाँ भन्दा बढी पर्छ ।

यो क्षेत्रको सरकारी मूल्य ४६ लाख रुपैयाँ मात्रै छ । चुकेले सरकारी दररेट भन्दा घटाएर जग्गाको कारोबार नभएको दाबी गर्छन् ।हामीले सरकारी दररेट घटाएर बेचेका छैनौं, उनले भने, अहिले यहाँ बजारको माहोल हेरेर जग्गाको मूल्य हुन्छ । सरकारको राजस्वमा कुनै समस्या छैन ।

राजस्वनै दोब्बर भन्दा बढी

जग्गाको कारोबार बढेको मालपोत राजस्व हेर्दानै पुष्टि हुन्छ । जिल्ला मालपोत कार्याल चितवनको तथ्यांक अनुसार गत वर्ष १ अर्ब ११ लाख २१ हजार १ सय ५१ रुपैयाँ संकलन भएको छ । कार्यालयले यो वर्ष ४५ करोड २४ लाख २२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो ।

मालपोत कार्याल चितवनका प्रमुख टंकप्रसाद उपाध्यायले जग्गाको कारोबार बढेकोले लक्ष्य भन्दा दोब्बर राजस्व उठेको बताए । कार्यालयका सूचना अधिकृत हरिकृष्ण सुवेदीका अनुसार गत वर्ष जेठसम्म २५ हजार २ सय ४७ जनाले लिखत पास गरेका थिए । घरजग्गा रजिष्ट्रेशन दस्तुरको लक्ष्य ४१ करोड ८३ लाख ७२ हजार लिइएकोमा प्रगति ८२ करोड २६ लाख ३१ हजार १३ रुपैयाँ भएको छ ।

अनलार्इन सेवा
जिल्ला मालपोत कार्यालयले सेवाग्राहीको चापलाई मध्यनजर गरेर अनलाइन सेवा सञ्चानलमा ल्याएको छ । जिल्लाका साविक सहित ६ वटा गाविसमा अनलाइनमार्फत जग्गाको कारोवार गरिएकोे सुचना अधिकृत हरिकृष्ण सुवेदीले बताए ।

‘अहिले चितवनका कठार,काउले ,कुमरोज, कविलास, कोराक र चण्डिभज्याङ गाविसमा सेवा दिइएको छ, उनले भने, यस आर्थिक बर्षमा ४ वटा गाविस थप्ने लक्ष्य  छ ।’