मेगा बैंकले २५ प्रतिसतका दरले हकप्रद सेयर जारी गर्ने, सिइओ भन्छन् प्रक्रिया अघि बढिसक्यो

बिजमाण्डू
२०७३ साउन ८ गते ००:०० | Jul 23, 2016
मेगा बैंकले २५ प्रतिसतका दरले हकप्रद सेयर जारी गर्ने, सिइओ भन्छन् प्रक्रिया अघि बढिसक्यो
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले लगानीकर्तालाई २५ प्रतिसत हकप्रद सेयर दिने भएको छ । बैंकको सातौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो । बैंक शुक्रबारबाट सातौँ बर्षमा प्रवेश गरेको छ । 
 
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहले चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी भइरहेको जानकारी दिए । त्यसका लागि औपचारिक प्रक्रिया अगाडि बढिसकेको पनि उनले बताए । उनले राष्ट्र बैंकको नियमानुसार संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गरिएको जानकारी पनि दिए । 
सिइओ शाहका अनुसार, मेगा बैंकले गत आर्थिक बर्षमा अछाम र डडेल्धुरामा शाखा विस्तार गरेको छ । चालु आर्थिक बर्षमा पनि राजधानीसहित बैंकिङ सेवा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक सेवासहितको शाखा विस्तार गर्ने योजना रहेको छ र त्यसका लागि सम्भाव्यता अध्ययन भइरहेको उनले बताए ।
 
बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले मेगा बैंकलाई अब संघीय संरचना अनुसार लैजाने घोषणा गरे । उपत्यकाबाहिरका ग्राहकहरुलाई लक्षित गर्दै बैंकले वुटवलमा क्षेत्रीय कार्यालय स्थापना गरिसकेको जानकारी दिँदै उनले संघीयताको कार्यान्वयनसँगै मेगा बैंकलाई संघीय संरचनामा लैजाने गरि गृहकार्य भइरहेको बताए । 
 
हलोदेखि हाइड्रोसम्म भन्ने नारा बमोजिम मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुबित्तलाई प्राथमिकतामा राख्दै आएको छ । गत आर्थिक बर्षमा निक्षेप संकलन १० अर्ब बढेर ३१ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि करिब १० अर्ब बढेको छ । गत आर्थिक बर्ष कर्जा प्रवाह १८ अर्बबाट बढेर २८ अर्ब पुगेको हो । ग्राहक संख्या पनि झण्डै एक लाख बढेको जानकारी दिइएको छ । कर्जाको औसत आकार २५ लाख ५० हजार र निक्षेपको १ लाख ४४ हजार रहेको छ । 
 

Tata
GBIME
Nepal Life