साढे तीन अर्बमा बन्दैछ वीरगंज–पथलैया सडक ६ लेन, चार वर्षभित्र फेरिनेछ वीरगञ्ज

बिजमाण्डू
२०७३ साउन ९ गते ००:०० | Jul 24, 2016
  • राधेश्याम पटेल/बिजमान्डू

वीरगञ्ज ।  वीरगंज –पथलैयाको सडकखण्ड ६ लेनको बनाउने तयारी सुरु भएको छ । भैरहवा–बुटवल ६ लेन सडकखण्डजस्तै यही महिनादेखि सडक  विस्तार हुने भएको छ ।

सडक विस्तारका लागी ठेकेदार कम्पनीहरु नियुक्त भएका छन् । गत असारमा ठेक्का स्वीकृत भएको थियो । सडक विस्तार योजनाको लगाी सडक विभागले टेन्डर स्वीकृत गरी साउनभित्रै निर्माणको काम अघि बढ्ने व्यापारिक मार्ग विस्तार योजना वीरगंज–पथलैया कार्यालयका प्रमुख रविन्द्रलाल दासले जनाए ।

Tata
GBIME
Nepal Life

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कार्यको लागी गत आर्थिक वर्षमा साढे ५ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । ठेकेदार कम्पनीले २८ देखि ३४ प्रतिशत कममा अर्थात साढे तीन अर्बमा ठेक्का सकार गरेका छन् ।योजनाबाट बचेको २ अर्ब रुपैयाँबाट  परवानीपुर –गण्डक,बसपार्क–वीरगंज भन्सार सडकखण्डलाई चार लेनमा विस्तार गर्ने मन्त्रालयको सोच रहेको छ ।

व्यापारिक मार्गको काम चार वर्षमा सम्पन्न गराउन सडक डिभिजन कार्यालय ,पथलैयाले ‘व्यापारिक मार्ग विस्तार योजना (वीरगंज–पथलैया) ’ नामक छुटै कार्यालय स्थापना गरेर काम थालेको छ  ।

सडक विस्तार रुट

  वीरगंज –पथलैया सडकखण्ड विस्तारको काम पथलैया–परवानीपुर–ड्राईपोर्ट सडकखण्डमा हुन्छ ।  पथलैया–परवानीपुर–वीरगंज शहरको योजना प्रस्तावित गरिएकोमा हाल यो योजनाको रुट परिवर्तन भएकोे छ ।

एकिकृत जाँच चौकी ड्राईपोर्ट नजिकै सरेपछि वीरगञ्ज शहर सम्म ६ लेन सडक विस्तारको योजनामा परिवर्तन गरी परवानीपुर–ड्राईपोर्ट सडकमा ल्याइएको हो । परवानीपुर–डाईपोर्ट ११ किलोमिटर र पथलैया–परवानीपुर १५ किलोमिटर गरी कुल २६ किलोमिटर लम्बाईमा सडक विस्तारको काम हुनेछ ।
 
सडक विस्तारको डिजाइन

 कुल २६ किलोमिटर लम्बाई रहेको सडक विस्तारको काम दुई भागमा हुन्छ ।परवानीपुर–डाईपोर्ट  भाग १ र पथलैया–वीरगंज भाग २ हुनेछ । पहिलो भागमा साढे तीन किलोमिटर र दोस्रो भागमा साढे ५ किलोमिटरको दुरीमा पर्ने ३/३ खण्डहरु तोकेर काम गरिनेछ ।

सडकको चौडाई ३४ मिटरको हुन्छ । सडकको वीचमा ६ लेन र किनारमा २ सर्भिस लेन गरी जम्मा ८ लेन सडक बन्ने योजना छ । ६ लेनमा ४ लेनका सडकहरु सधै चालु  र तीब्र सडकको रुपमा सञ्चालनमा ल्याइन्छ ।

वीचको लेनमा अत्यावश्यक मालसमान बोक्ने सवारीहरु मात्र गुड्छन् । यो  सडक कुनै पनि अवस्थामा बन्द हुँदैनन् । एउटा लेनको चौडाइ साढे ३ मिटर हुन्छ । प्रत्येक लेनको वीचमा डिभाइडर लगाइन्छ । साथै आवश्यक ट्राफिक बत्ती पनि ।

कुनकुन ठेकेदार कम्पनीले काम गर्ने

यो सडकको समायाअवधि पाँच वर्षको हुनेछ । यो सडक निर्माणका लागि नेपाली, भारतीय र चिनियाँ गरी ४४ ठेकेदार कम्पनी सहभागी थिए । सहभागीमध्ये ६ वटा ठेकेदार कम्पनीले निर्माणको ठेक्का पाएका छन् ।

 ती मध्ये पाँच स्वदेशी तथा एक भारतीय एएमआर कन्टेक कम्पनी रहेको छ । पहिलो भाग परवानीपुर–ड्राईपोर्ट सडकको पहिलो खण्ड भारतीय कम्पनी एएमआर कन्टेक÷पप्पु जेभीले ५२ करोडमा ,दोस्रो खण्डको काम श्रेष्ठ /विरुवा/अपेक्स नेपाल जेभीले ४८ करोडमा र तेस्रो खण्ड लुम्बिनी÷पप्पु जेभीले ४८ करोडमा ठेक्का पाएका छन् ।

यसैवीच ,दास्रो भाग पथलैया–परवानीपुर सडकखण्डमा पहिलो खण्डको काम एएमआर कन्टेकले ५९करोडमा ,दोस्रो खण्डको काम यूनाईटेड/ डिवा निर्माण कम्पनीले ७६ करोडमा र तेस्रो खण्डको काम एएमआर कन्टेकले ६७ करोडमा ठेक्का लिएको छ ।

व्यापारीको नजरमा फाइदा

 योजना सम्पन्न भएपछि वीरगंज –पथलैया औद्योगिक करिडरको कायापलट हुने वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडिया बताउँछन् । उनी भन्छन् –‘सडक विस्तारले वीरगञ्जको व्यापारमा थप सुधार आउनेछ भने सामान ढुवानीमा समेत सहजता थपिनेछ ।

सडक विस्तारको चूनौती
जीतपुर बजार हटाउन समस्या

सडक निर्माण सम्पन्न गर्न चुनौतिहरु धेरै छन् । सडक निर्माणका लागि जीतपुर बजार खाली गराउनुपर्छ । बजारमा रहेका स्थानीयलाई हटाउन धेरै समस्या भोग्नुपर्ने देखिन्छ । तर सडक विभागका अधिकारीहरुका अनुसार सडककै २५ मिटर दुबैतर्फ रहेकोले समस्या छैन । अतिक्रमणमा परेका जमिनमा रहेका बजारलाई खाली गराउन कुनै समस्या नहुने उनले बताए ।

     
पप्पुकन्सट्रक्सन माथि शंका

ठेका स्वीकृत भएलगतै व्यापारीहरुले स्वीकृत भएका ठेकेदार कम्पनीहरु माथि टिपणी  गर्न थालेका छन् । पप्पु कन्सट्रक्सनले  काम प्रभावकारी तवरले गर्न नसक्ने उदाहरण धेरै छन् ।

पप्पुले विभिन्न जिल्लामा अस्पताल ,सडकलगायतको काम अधुरो राखेको रहेकोले निर्माणमा शंका गरिएको हो । बाँकेमा जमुनाहा–राधा सडकखण्डको  आठ किलो मिटरको काममा पप्पुले गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले विरोध प्रर्दशन गरिरहेका छन् ।