सरकारले क्लिन फिड नीति पारित गर्यो, अर्को वर्षदेखि विदेशी च्यानल हेर्दा विज्ञापन हुँदैन

बिजमाण्डू
२०७३ साउन ९ गते ००:०० | Jul 24, 2016
सरकारले क्लिन फिड नीति पारित गर्यो, अर्को वर्षदेखि विदेशी च्यानल हेर्दा विज्ञापन हुँदैन
  • उमेश पौडेल/ विजमाण्डू
काठमाडौं । विज्ञापनरहित सशुल्क विदेशी टेलिभिजन च्यानलको प्रशारण 'क्लिन फिड' नीति मन्त्रिपरिषदबाट पारित भएपछि नेपाल विज्ञापन संघले उठाएको एकसुत्रिय माग संबोधन भयो ।

यो नीति अनुसार अर्को वर्षको साउनदेखि नेपालमा प्रशारण हुने विदेशी च्यानलमा विज्ञापन हुँदैनन् ।निर्वाध रुपमा विदेशबाट प्रशारण हुने विज्ञापन टेलिभिजनमा आउन रोकिनेछ । विदेशी च्यानलमा बहुराष्ट्रिय कम्पनीको विज्ञापन आउन बन्द भएपछि नेपालमा बिक्री वितरण हुने ती उत्पादनले नेपालकै विज्ञापन एजेन्सीमार्फत विज्ञापन दिनुपर्छ ।

Tata
GBIME
Nepal Life

बहुराष्ट्रिय कम्पनीको विज्ञापन स्वदेशबाटै प्रशारण हुन थालेपछि विज्ञापनको बजार समेत विस्तार हुनेछ । अहिले सयौं विदेशी च्यानलले विना रोकतोक विदेशी विज्ञापन प्रशारण भइरहेका छन् । क्लिन फिड नीति दक्षिण एसियामा भारत,चीन, भुटान, पाकिस्तानले कार्यान्वयनमा ल्याइसकेको छ ।
 
 के हो क्लिन फिड ?
 
क्लिन फिड भनेको बिना कुनै पनि रोकावट टेलिभिजनमा चाहेको च्यानल र कार्यक्रम हेर्न पाउनुपर्ने मान्यता हो। यो कार्यान्वयनमा आए कुनैपनि विदेशी च्यानलमा विज्ञापन प्रशारण हुँदैनन् ।  
 
के भन्छन विज्ञ ?
विज्ञापन क्षेत्रका विज्ञ तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रिय विभागका प्रमुख प्राध्यापक डा भोजराज अर्याल क्लिन फिड नीति कार्यान्वयनमा आउनेवितिकै विज्ञापनको बजार विस्तार हुने र यहीका कलाकारले काम पाउने दाबी गरे  ।

 'नेपाली विज्ञापन बजार थप विस्तार र कम्पनी तथा कलाकारको भ्यालु बढ्छ' अर्यालले भने 'यो नीति लागुभएपछि नेपालको विज्ञापन बजार दोब्वर हुन्छ'
विदेशी च्यानलहरुवाट आउने गरेका विज्ञापनहरुले विदेशी कलाकार, भाषा, परम्परा, संस्कृति, भेषभूषा लगायत विदेशी कुराहरुलाई मात्र प्रोत्साहन गरेको अर्यालको ठहर छ।
 
केबलको पैसा बढ्दैन

अनुप नेपाल,उपसचिव,सूचना तथा सञ्चार मन्त्रालय
हामीले क्लिन फिड नीति कार्यान्वयनका लागि लगभग एक बर्षको समय दिएका छौं। धेरैपटक सरोकारवाला निकायसँग छलफल गरेर नीति पारित भएको छ। यसले नेपालमा विदेशी कन्टेन्ट र विज्ञापनको ढाँचालाई परिवर्तन गर्छ।


अब प्रत्येक च्यानलको मनिटरिङ  सरकारले गर्छ।यसका लागि पहिलेदेखि ने सूचना विभागले हेर्दै आएको छ। सवै च्यालनमार्फत प्रशारण हुने कन्टेन्टको डाउनलिन्क जाँच हुन्छ। हामीले सवै सम्वन्धित निकायलाई चित्तबुझ्दो हुनेगरी यो नियम ल्याएका छौं।

 यसको मनिटरिङ गर्नका लागि विचमा अर्कै संयन्त्र पनि आउन सक्छ। हामीले यसको प्रभावकारीता अध्ययन गरिसकेपछि  निर्क्यौलमा पुग्छौं र तत्काल कुनै पनि अपरेटरले केवलको पैसा बढाउँदैनन्।
 
 सरकारको राम्रो कदम
 सन्तोष श्रेष्ठ, अध्यक्ष (आन)
नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठले सरकारको यो निर्णय  विज्ञापनको इतिहासमा उत्कृष्ट निर्णय हो। सरकारले गरेको निर्णयले समग्र विज्ञापन एजेन्सीलगायत नेपाली कलाकारको  भविष्यलाई उज्वल बनाउने निश्चित छ। अब नेपालमा विज्ञापन गर्न चाहने विदेशी कम्पनीहरुले नेपालमा नै आएर नेपाली परिवेशअनुसार विज्ञापन बनाउनुपर्छ ।
 
 निर्णय स्वागतयोग्य
कल्याण अधिकारी,उपमहाप्रबन्धक, डिसहोम

सरकारले गरेको 'क्लिन फिड' नीति स्वागतयोग्य निर्णय हो । अब नेपालको विज्ञापनको बजार धेरै माथि पुग्छ र नेपाली विज्ञापन व्यावसायीलाई फाइदा पुग्छ।यसभन्दा अगाडि निशुल्क विदेशी विज्ञापन बजिरहेको थियो। जसका कारण विज्ञापनवाट आउने नेपालको करोडौं राजश्व गुमिरहेको थियो। त्यो रोकिन्छ । तत्कालै उपभोक्तालार्इ केबलको मूल्यभार पनि पर्दैन् ।
 
नीति स्वागतयोग्य छ
सुधिर पराजुली, सिइओ, सुविसु केबलनेट

सरकारले गरेको निर्णय स्वागतयोग्य छ। यसले स्वदेशी विज्ञापनको बजारलाई फाइदा 

पुर्याउँछ। तर यो निर्णयमा चारवटा पक्षहरु समावेस हुन्छन् ।  विज्ञापन व्यवसायी , केबल अपरेटर, नेपाली ब्रोडकास्टर र विदेशी ब्रोडकास्टरलाई फाईदा हुनेगरी नीति आएको भए यसले समग्र रुपमा फाइदा गर्छ ।  तर कुनै एकलाईमात्र फाइदा हुनेगरी आए त्यसले यो नीतिको कार्यान्वयनमा समस्या उत्पन्न गर्छ। उपभोक्तालार्इ तत्काल केबलको पैसा बढ्दैन ।