सिस्टम अपडेट नभएको भन्दै सेयर किनबेच भएन, ब्रोकर र नेप्सेबीच आरोपप्रत्यारोप

बिजमाण्डू
२०७३ साउन ९ गते ००:०० | Jul 24, 2016

Tata
GBIME
Nepal Life

काठमाडौं । घटेको सेयर ब्रोकर कमिसन बिलिङ गर्नका लागि सिस्टममा नयाँ दर इन्ट्रि नभएपछि आइबार सेयर कारोबार भएन । ब्रोकर र नेपाल स्टक एक्सचेन्जको लापरवाहीले कारोबार हुन नसकेको लगानीकर्ताको आरोप छ ।
 
ब्रोकरहरुले  वढेको कमिसनको दर बारे नेप्सेले शुक्रबार ४ बजे मात्र पत्र लेखेर व्रोकरहरुलाई औपचारिक जानकारी दिएका कारण सिस्टममा इन्ट्रि गर्न ढिलाइ भएको तर्क गरेका छन् ।
 
नेप्सेका अधिकारीहरुले भने समयमै जानकारी दिँदा पनि व्रोकरहरुले काम नगरेका कारण आइतबार कारोबार हुन नकसेको बताएका छन् ।
 
स्टक ब्रोकर संघका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले आइबार बिजमाण्डूसँग भने- कमिसन घटेको औपचारिक पत्र नेप्सेबाट शुक्रबार ४ बजे मात्र प्राप्त भयो । आइबार मात्र नेप्सेले घटेको दर समायोजन गर्न सफ्टवेयर कम्पनीलाई पत्र लेखेको छ । अनि हामीले कसरी कारोबार गर्न सक्छौं ?
 
ब्रोकरहरुको तर्कलाई नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले झुटो आरोपका रुपमा लिएका छन् ।
 
उनले भने-  हामीले बिहीबार नै ब्रोकरहरुलाई जानकारी दिएको हो । सिस्टम अपडेट गर्ने उनीहरुले हो । ब्रोकरले समयमा काम नगर्दा आइतबार किनबेच भएको छैन । हामीले कारोबार फ्लोर भने ओपन राखेका छौं ।
 
ब्रोकरहरुले  औपचारिक कारोबार आइबार गर्न नसकिने भन्दै किनबेच रोक्न औपचारिक पत्र नेप्सेलाई लेखेको छ । नेप्सेले पनि नियामक निकाय धितोपत्र वोर्डलाई आवश्यक सुनुवाइ गरिदिनका लागि व्रोकरको पत्र पठाइ दिएको छ । कारोबार बन्द हुने समय ३ बजेसम्म वोर्डले जवाफ दिएको छैन ।
 
'ब्रोकरहरुले सोमबारबाट कारोबार गर्ने जानकारी दिएका छन् । आइतबार रातभरी सिस्टम अपडेट गरेर कारोबार गर्ने लिखित प्रतिवद्धता जनाएका छन्' थपलियाले भने ।
 
सिजापतिले घटेको दरले  व्रोकरहरुको घाँटी न्याक्ने काम गरे पनि यसलाई स्वागत गरेको भन्दै आफ्ना कारणले सेयर कारोबार नभएको आरोप गलत भएको बताएका छन् । 'सेयर कारोबार हुँदा दुई/चार लाख रुपैयाँ भएपनि ब्रोकरहरुलाई कमिसन वापत आउँथ्यो' उनले भने, 'स्थगित हुँदा घाटा लागेको छ । त्यही भएर ब्रोकरले जानिजानी कारोबार रोक्ने भन्ने हुँदैन ।'
 
उनले आइतबार रातभरी भएपनि सिस्टम अपडेट गरेर सोमबारबाट नियमित कारोबार थाल्ने जानकारी दिए ।