प्रमको राजीनामा स्वीकृत, ओली सरकार कामचलाउमा परिणत, बाधाअड्काउ फुकाउ पारित गर्न बाँकी

बिजमाण्डू
२०७३ साउन ९ गते ००:०० | Jul 24, 2016

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छिन्।

Tata
GBIME
Nepal Life

व्यवस्थापिका संसदमा चलिरहेको अविश्वासको प्रस्तावको छलफल टुङ्गिएर छलफलको जवाफ दिने क्रममा आफूले राजीनामा दिइसकेको जानकारी प्रधानमन्त्री केपी ओलीले गराएका थिए। 



राजीनामा नदिएको भए सोही बैठकमा सभामुख ओनसरी घर्तीले मतदान प्रक्रियामा लाने थिइन्। तर राजीनामाको घोषणासँगै संसद बैठक १५ मिनेटका लागि स्थगित गरियो। 



१५ मिनेटपछि पुनः बसेको बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र सभामुखले वाचन गरेर सुनाइन्। पत्रमा प्रधानमन्त्री ओलीले आजैका मितिदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत भएको र संविधान अनुसार अर्को मन्त्रिपरिषद् गठन नहुन्जेल कामचलाउ मन्त्रिपरिषद्को कार्यभार सम्हाल्न भनेको उल्लेख थियो। 

अब के हुन्छ?

प्रधानमन्त्री ओलीले नयाँ प्रधानमन्त्री निर्वाचनको लागि बाधा अड्काउ फुकाउको आदेश जारी गर्न राष्ट्रपतिलाई सिफारिश गरेको भए पनि त्यसले वैधता सं‌सदले पारित गरेपछि मात्रै पाउँछ। 



कांग्रेस र माओवादी बाधा अड्काउ फुकाउनै नपर्ने गरी यही संविधान र संसदको नियमावलीबाट नयाँ प्रधानमन्त्री निर्वाचन गर्न सकिन्छ भन्ने अडानमा थिए। तर कांग्रेस सभापति शेरबहादुर देउवाले आजकै बैठकमा बोल्ने क्रममा 'बाधा अड्काउ फुकाउन नपर्ने भए पनि यसको विरोध नगर्ने' बताएका थिए। 



संविधानको धारा ३०५ मा ‘यो संविधान बमोजिम संघीय संसदको निर्वाचन भई त्यसको पहिलो अधिवेशन प्रारम्भ नभएसम्म यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्रपतिले नेपाल सरकार मन्त्रिपरिषदको सिफरिसमा त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्नेछ। त्यस्तो आदेश जारी भएपछि तत्काल बसेको व्यवस्थापिका संसद वा संघीय सदन समक्ष अनुमोदनका लागि पेश गर्नुपर्नेछ’ भनेर लेखिएको छ।



त्यसका लागि मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित बैठक बसेपछि संसदले बाधा अड्काउ फुकाउ आदेशलाई पारित गरिसकेपछि बल्ल प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिया सुरु हुनेछ। 



प्रधानमन्त्री निर्वाचनका लागि उम्मेदवारी दिने, नामावली प्रकाशन गर्ने र मतदान हुने दिन संसदका महासचिवले सूचना प्रकाशित गर्नेछन्। मतदानमा संसदको तत्काल कायम संख्याको बहुमत अर्थात् कम्तिमा २९८ मत ल्याउने उम्मेदवार प्रधानमन्त्री निर्वाचित हुनेछ।