बजारमा सुनको काराेबार सुस्त, दैनिक १० केजी भन्दा कम किनबेच, भाउ तोलाको ५८ हजार दुई सय रुपैयाँ

बिजमाण्डू
२०७३ साउन १० गते ००:०० | Jul 25, 2016
बजारमा सुनको काराेबार सुस्त, दैनिक १० केजी भन्दा कम किनबेच, भाउ तोलाको ५८ हजार दुई सय रुपैयाँ


काठमाडौं । साताको दोस्रो दिन सुनको भाउ ओरालो लागेको छ। साताको पहिलो दिन एक सय रुपैयाँले घटेको सुनको भाउ सोमबार पनि दुई सय रुपैयाँले घटेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको ५८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको भाउ तोलाको ५८ हजार चार सय रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि नेपाली सुन बजार पनि प्रभावित बनेको महासंघका निवर्तमान अध्यक्ष तेज रत्न शाक्यले बताए। अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रति औस एक हजार तीन सय २३ अमेरिकी डलर कायम रहेको सुनको भाउ सोमबार एक हजार तीन सय १७ अमेरिकी डलर पुगेको हो।

सुन बजारमा ब्रेक्जिटको प्रभाव घट्दै गइरहेको संकेत देखापरेको शाक्यले बताए। अमेरिकाको केन्द्रीय बैंक फेडेरल बैंकले ब्याजदर बढाउने तयारीमा रहेको जानकारीमा आएका कारण सुनको भाउ प्रति औस एक हजार तीन सय अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ। उनले भने, 'फेडेरल बैंकले ब्याजदर बढाउने बितिकै सुनमा लगानी घट्ने सम्भावना बढी हुन्छ।'

शाक्यका अनुसार हाल फेडेरल बैंकले ०.२५ प्रतिशत ब्याजदर राखेको छ। बैंकले ब्याजदर बढाएर ०.५ प्रतिशतसम्म पुर्‍याउनेमा लगानीकर्ताहरु आशावादी छन्।

माग नहुदा नेपाली सुनबजारमा भने चहल पहल हुननसकेको शाक्यले बताए। साउन महिनामा विवाह, व्रतबन्ध जस्तो शुभकार्यको लगन नभएको कारण सुनको माग बढ्न नसकेको उनले बताए। अहिले सुनको माग दैनिक दस किलो भन्दा कम रहेको छ।
 
माग बढ्न नसके पछि बैंकले पनि सुन आयात गर्नुनपरेको उनले जानकारी दिए। 'सुनको माग बढ्न नसकेपछि बजार सुनसान बनेको छ,'उनले भने, 'अबको पन्ध्र दिनपछि मात्र सुनबजारमा सुधार आउने आश गर्न सकिन्छ।'

सुनको भाउ सँगै चाँदीको भाउ पनि दस रुपैयाँले घटेको छ। महासंघका अनुसार सोमबार चाँदी तोलामा आठ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ। आइतबार चाँदीको भाउ तोलाको आठ सय ७० रुपैयाँ कायम भएको थियो।