धितोपत्र बोर्ड भन्छ- बजारमा गोप्य सूचना चुहिने प्रबृत्ति हावी भयो, साना लगानीकर्ता सचेत हुनुस्

बिजमाण्डू
२०७३ साउन १२ गते ००:०० | Jul 27, 2016
धितोपत्र बोर्ड भन्छ- बजारमा गोप्य सूचना चुहिने प्रबृत्ति हावी भयो, साना लगानीकर्ता सचेत हुनुस्

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सूचिकृत कम्पनीबाट सूचनाहरु चुहिँदा सर्वसाधारण लगानीकर्ता जोखिममा पर्न सक्ने भएकोले सचेत हुन सुझाव दिएको छ। कुन कम्पनीले कस्ता विवरण सार्वजनिक गर्दैछ र बोनस वा लाभांसको सूचना पहिले नै चुहाउँदा पहुँच हुने लगानीकर्ताले मात्रै लाभ लिने अवस्था आएको जनाइएको हो ।
 
बजारमा निश्चित समूहहरुले  कम्पनीका आन्तरिक सूचना चुहाउँदा कुन कम्पनी कस्तो प्रस्ताव बाहिर आउँदैछ भनेर सीमित लगानीकर्ताले पहिलेनै थाहा पाउँदा साना लगानीकर्ता जोखिममा पर्न सक्ने बोर्डले जनाएको छ।
 
बोर्डले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनामा साना लगानीकर्तालाई सचेत रहन पनि आग्रह गरेको छ। ठूला लगानीकर्ताले सेयर धमाधम बेचिरहेका कारण उनीहरुलाई समस्या नपर्ने र त्यसका कारण बजार 'मिसलिड' हुने सम्भावना रहेकाले साना लगानीकर्ताले समयमै विचार पुर्याउन  धितोपत्र बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले आग्रह गरे।
 
देशको अर्थतन्त्रको अवस्थाका कारणले नै लगानीकर्ता सेयरबजारमा ओइरिएको धितोपत्र बोर्डका अध्यक्ष कार्कीले बताए। उनले प्राथमिक निश्कासन र फरदर पब्लिक अफरिङमा स्वतन्त्र मूल्य तोक्ने स्पस्ट आधारहरु तय गर्नुपर्ने बताए ।
 
उनले बोर्डको ध्येय लगानीकर्ताले लगानी गरुन तर समस्या नपरुन भन्नेमात्र रहेका पनि बताए । उनले बजारलाई सँधै एकै किसिमले हिँडाउँछु भन्ने कुरा सम्भव नरहेको जनाए।
 
बोर्डले सेयरको कारोवार समय बढाएका कारण क्लियरिङ बैंक थप गर्ने, सफ्टवेयरमा सुधार गर्ने, सेटलमेन्ट फण्ड र अक्सन मार्केटको व्यवस्था गर्ने, नेप्सेले ब्रोकर कम्पनीहरुको नियमन तथा  अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएको जनाएको छ।
 

Tata
GBIME
Nepal Life