बजार किन ओर्लियो? अन्जन पौडेल- ठूला लगानीकर्ता होल्ड भए, निरञ्जन टिवरेवाला- संवोधन आवश्यक

बिजमाण्डू
२०७३ भदौ ६ गते ००:०० | Aug 22, 2016

काठमाडौं । बीचमा केही दिन थामिएको बजार बिहीबारदेखि निरन्तर घट्न थालेको छ । सामान्य अंकले घटिरहेको बजार सोमबार भने ३९.३१ अंकले ओरालो लागेको छ । बजार घट्ने क्रमसँगै कारोबार रकम पनि निरन्तर झरिरहेको छ ।
 
सोमबार १४० कम्पनीको ८६ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । ४१ प्रतिशत लाभांस घोषणा गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर बजार खुल्दा किन्नलाई लगानीकर्ता आकर्षित भएका थिए । तर समग्र बजार ओरालो लाग्न थालेपछि २० प्रतिशत वोनस र २१ प्रतिशत नगद पाउँदासमेत लगानीकर्ताले धमाधम बिक्री गरेका थिए ।
 
इन्भेष्टमेन्ट बैंकको नौं रुपैयाँ बढेर कारोबार बन्द भएको छ । बैंकको कुल एक लाख २५ हजार ६१९ कित्ता सेयर १२ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको छ ।
 
ब्रोकरका अनुसार, असार मसान्तताका ठूला र संस्थागत लगानीकर्ताले नाफा बुक गर्न सेयर बिक्री गरेपछि बजार घट्दो क्रममा गएको हो । नाफा बुक गरिसकेपछि घटिरहेको बजारमा संस्थागत लगानीकर्ता प्रवेश नगर्दा अहिले कारोबार र सुचक दुबै घटेको हो ।
 
स्टक व्रोकर संघका पूर्वअध्यक्ष अन्जनराज पौडेलले भने
छोटो समयमा बजारले निकै उचाइ लिइसकेकाले कुनै पनि बेला करेक्सन आउन सक्थ्यो । अहिले बजारमा करेक्सन देखिएको हो । असार मसान्तमा नाफा बुक गर्नु पर्ने वाध्यताका कारण संस्थागत लगानीकर्ताहरुले सेयर बिक्री गरे । त्यसबेला बजार बढ्नुका साथै कारोबार रकममा पनि बृद्धि भएको थियो ।
 
पहिले चौथो त्रैमासिकमा सार्वजनिक हुने मुनाफा, कम्पनीले घोषणा गर्नसक्ने सम्भावति लाभांसको प्रभावले विगतमा बजार बढ्ने गरेको थियो । अचेल सञ्चार माध्यमहरुले पहिले नै नाफा र लाभांस सार्वजनिक गरिदिन थालेका छन् । यसले गर्दा नाफासहितको वासलात सार्वजनिक हुँदा पनि लगानीकर्ता खासै उत्साहति देखिएनन् । किनभने उनीहरुले कम्पनीहरुले आधिकारिक रुपमा सार्वजनिक गर्नुअघि नै थाहापाइसकेका थिए ।
 
अहिले संस्थागत र ठूला तथा पुराना लगानीकर्ताहरुले नाफा बुक गरिसकेका छन् । नाफा बुक गरिनसकेकाहरुले अझै घट्छ भन्ने ठानेर धमाधम सेयर बेच्न थाल्दा बिक्रीको चाप वढि देखिएको छ । नयाँ लगानीकर्ताहरु पनि आत्तालिएको देखिन्छ । उनीहरु अहिले वेकारमा पो छिरियो कि भन्ने मनस्थितिमा पुगेको पनि देखिन्छ । यसले गर्दा अहिले बजारमा नवप्रवेशी र नाफा बुक नगरिसकेका पुराना लगानीकर्ता प्यानिक भएका छन् ।
 
घट्दो बजारमा ठूला तथा सामूहिक लगानी कोषहरु आइरहेका छैनन् । उनीहरु आएको भए बजार सुचक तलमाथि भएपनि कारोबार रकम बढ्थ्यो । तर अहिले कारोबार रकम पनि घटिरहेको छ । इन्डेक्ससँगै कारोबार रकम घट्नु अलिक निरासाजनक हुन्छ । ठूला र संस्थागतले प्रोफिट बुक गर्नलाई बेचेका छन् । उनीहरुसँग अहिले पुँजी पर्याप्त छ । उनीहरुले थप घटोस् भन्ने पनि चाहेको हुनसक्छ । केही समयमा उपयुक्त रेट आयोजस्तो भयो भने उनीहरुले फेरि पुँजी लगानी गर्न सक्छन् । त्यसले कारोबारमा सुधार आउँछ ।
 
सेयर बजारका ठूला लगानीकर्ता निरञ्जन टिवरेवालाले भने
लगानीकर्तामा थोरै कन्फिडेन्स लुज भयो, त्यसैले बजार अलिकति घटेको हो । नयाँ अर्थमन्त्री आए, उनले पुँजी बजारका बिषयमा सकारात्मक कुरा गरेका छन् । तर अहिलेसम्म कुरा मात्र भएका हुन् । लगानीकर्ता उनको नीति पर्खिरहेका छन् । नयाँ अर्थमन्त्री आउँदा सेयर बजारले यस्तै ब्यवहार देखाउँछ । अर्थमन्त्रीको नीति बजारमैत्री देखियो भने बजारले पुन गति समात्छ ।
 
अहिले बजार घट्नु पर्ने अरु कारणहरु छैन । लगानीकर्ताले सचेत भएर लगानी गरेका थिए । बैंक तथा वित्तीय संस्थाहरुको नाफा राम्रो छ । प्रति सेयर आम्दानी राम्रो छ । बजारले मूल्यलाई जस्टिफाइ गरेको थियो । बैंक तथा वित्तीय संस्थामा पुँजी बृद्धिको क्रम चलिरहेको छ । बाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब पुर्याउने काम भएको छ । यस्तो बेला बजार घट्दैन । त्यसैले अर्थमन्त्रीले नीतिगतरुपमा बजारलाई संवोधन गर्ने हो भने बजार फेरि बढ्छ । अहिले पनि बजार धेरै घटेको हो भन्न मिल्दैन ।

Tata
GBIME
Nepal Life