नेपालको एससिटि कार्ड विश्व वजारमा प्रवेश गर्दै, अब माइक्रो फाइनान्स र सहकारीले पनि एटिएम पाउने

बिजमाण्डू
२०७३ भदौ ८ गते ००:०० | Aug 24, 2016
उमेश पौडेल/बिजमाण्डू
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा इलेक्ट्रोनिक मनि ट्रान्जेक्सनको काम गरिरहेको स्मार्ट चोइस टेक्नोलोजी (एससिटी) अब ग्लोवल्ली सर्भिस दिने तयारीमा छ । एससिटीले चीनको युनियन पे, भारतको एनपिसिआई र अमेरिकाको डिस्कभर फाइनान्सियल सर्भिसेससँगको सहकार्यमा विश्वबजारमा प्रवेश गर्न लागेको हो।
 
'एससिटीले सन् २०१७ को जनावरीदेखि नै ग्लोवल्ली सर्भिस दिन्छ' कम्पनीका चिफ टेक्नोलोजी अफिसर समिर बज्राचार्यले भने 'सफ्टवेयर अपग्रेडिङ गरेर मिलाउने र पोलिसी फर्मेसनको काम अन्तिम चरणमा पुगेको छ।'
 
चीनको इलेक्ट्रोनिक पेमेन्ट कम्पनी युनियन पे कम्पनीले हाल विश्वभरिका  एक सय ४० वटा देशहरुमा सेवा दिइरहेको छ । त्यस्तै भारतको एनपिसिआइले भारतमा मात्र सेवा दिन्छ भने अमेरिकाको डिस्कभर फाइनान्सियल सर्भिसले एक सय ५० देशमा सेवा दिइरहेको छ।
 
कसरी चल्छ विश्ववजारमा एससिटी कार्ड
यो कार्ड विश्ववजारमा चलाउनका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले तोकेको नियम अनुसार डलरमा खाता खोलेको हुनुपर्छ । विदेश भ्रमणमा जाँदा तपाईले भ्रमण कोटा अनुसारको रकम पनि झिक्न सक्नुहुनेछ। जसअनुसार तपाई गएको मुलुकको नियमअनुसार एक बर्ष वा महिनामा कति रकम झिक्न पाउने हो सोहि अनुसार रकम झिक्न सकिनेछ।
 
विदेशमा अध्ययनका लागि पनि यो सेवा लिन सक्नुहुनेछ जुन कलेजलाई डलरमा फि तिर्नुपर्नेहुन्छ। त्यसबाहेक विदेशी डलर स्रोतमा बैङ्क खाता रहेका व्यक्तिले भने सामान्य किसिमले भुक्तानी सेवा लिनसक्ने  बज्राचार्यले जानकारी दिए।
 
अब माइक्रो फाइनान्स र सहकारीका ग्राहकले पनि एटिएम पाउने
एसटिसीले सन् २०१७ को जनावरीबाट माइक्रो फाइनान्स र सहकारी संस्थालाई पनि एटिएम कार्डको सुविधा दिन गृहकार्य अन्तिम चरणमा पुगेको जनाएको छ। क्लाउड बेस्ड डेटावेस राखिएका सहकारी र माइक्रो फाइनान्सलाई उनीहरुले प्रक्रिया पुरा गरेको खण्डमा सेवा दिन सक्ने  कम्पनीले जनाएको छ।
 
ती कम्पनीहरुमा अनिवार्य रुपमा बैंकिङ सिस्टम भएको र सफ्टवेयर भेन्डर कम्पनीले क्लाउडमा होस्ट गरेको हुनुपर्नेछ। यो प्रक्रिया पुरा गर्ने एन क्लाउड र इन्फो डेभलपर्स कम्पनीसंग छलफल अन्तिम अवस्थामा पुगेको बज्राचार्यले बताए।
 
'अहिले नै सवै सहकारीले पाउने हैन' उनले भने 'रिक्वायरमेन्ट मिट गरेका संस्थाहरुसँग छलफल भइरहेको छ र उनीहरुलाई जनवरीदेखि एससिटी एटिएमको सेवा दिने योजना छ ।'
 
अहिले नेपाल, भारत र भुटानमा यो कम्पनीले इलेक्ट्रोनिक मनि ट्रान्जेक्सनको काम गरिरहेको छ। कम्पनीले भुटानका दुईवटा बैक टि बैङ र भुटान डेभलपमेन्ट बैंकमा आफ्नो सेवा दिइरहेको छ। त्यहाँ उसका दश हजारभन्दा धेरै एससिटी प्रयोगकर्ता रहेको बज्राचार्यले बताए। यससिटिको सञ्जालवाट हाल दैनिक रुपमा ५० हजार पटक कारोवार हुने गरेको उनले बताए।
 
सन् २००२ देखि अपरेसन सुरु गरेको यो कम्पनीमा हाल २० लाख भन्दा धेरै ग्राहक रहेका छन् जसमा ९ लाख एक्टिभ युजर रहेका छन् । केहि बर्ष अगाडि प्राय नेपालका सवै वाणिज्य बैंक, डेभलपमेन्ट बैंक र फाइनान्स सवैले एससिटी सेवा प्रयोग गर्थे भने अहिले भिजाकार्ड, मास्टरकार्डको बढ्दो प्रयोग र बैक तथा वित्तिय संस्थाहरु धमाधम मर्जमा गएका कारण ६५ वटामा सिमित हुनुपरेको बज्राचार्यले बताए।

Tata
GBIME
Nepal Life