राष्ट्रिय फुटबलका स्टार बन्ने खेलाडी कसरी बने आर्इटी एक्सपर्ट, अमेरिका बसेर नेपाल जोड्दै

बिजमाण्डू
२०७३ भदौ ९ गते ००:०० | Aug 25, 2016
राष्ट्रिय फुटबलका स्टार बन्ने खेलाडी कसरी बने आर्इटी एक्सपर्ट, अमेरिका बसेर नेपाल जोड्दै


विष्णुहरि घिमिरे/बिजमाण्डू
 न्युयोर्क
।  जीवनको रफ्तार सब ठिकठाक हुँदो हो त राजविराजका प्रलय राजभण्डारी र सिन्धुपाल्चोकका राजीव श्रेष्ठ अझै पनि राष्ट्रिय फुटबल टिमको जर्सीमा मैदानमा देखिनुपर्ने हो।

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको महत्वकांक्षी योजना एन्फा एकेडेमीका पहिलो ब्याचका ४० जना मध्येका दुई हुन् यी। परिस्थिति यस्तो बन्यो कि प्रलयले एकाध वर्ष राष्ट्रिय टिमको जर्सी लगाउने अवसर भेटाए पनि राजीव त्यसबाट बच्चित नै रहे।

Tata
GBIME
Nepal Life

एन्फा नेतृत्वको व्यवसायिकताको रटानमा विश्वास मान्न नसकेपछि बुट थन्क्याएर, एक दशक अगाडि लाखौ नेपाली युवा जस्तै भविष्य खोज्न यिनीहरु पनि पासपोर्ट लिएर विमानस्थलमा लाइनमा बसे। उच्च शिक्षा अध्ययनका लागि भन्दै सात समुन्द्र पारी  अमेरिका यिनीहरुको गन्तब्य बन्यो। 

झण्डै दुई वर्ष अगाडिको एक साँझ। अध्ययन अनि त्यसपछिको कामले थकित बनेका राजीव निदाउनुअघि गाउँमा रहेका आमा-बाबु सँग फोनमा कुराकानी गर्दै थिए। फोन एक्कासी काटियो।कुरा टुङ्गएकै थिएन। अमेरिकाको जीवनशैली, राजीव आफै कलिङ कार्ड किन्न जाने स्थितिमा थिएनन् । उता गाउँमा रहेका बा-आमालाई पनि तत्काल रिचार्ज कार्ड किनेर छोरासँगको कुराकानी टुङ्ग्याउने सुविधा थिएन। 

 

राजीवमा रातभरी छटपटी भयो। अमेरिकामा धेरै काम घरमा बसेर एउटा कम्युटरबाटै सुल्ट्याइन्छ। अझ पछिल्लो समयमा स्मार्ट फोनबाटै काम फत्ते हुन्छ। आईटीमा मास्टर्स गर्दै थिए उनी। आफुलाई परेको यो समस्या म आफैले किन नसुल्झाउने ? गम्दै गए। नेपालमा प्रि-पेड फोनमा रिजार्च विदेशबाटै किन गर्न नमिल्ने?

 

दुई वर्षको मेहनतपछि अहिले राजीव सफल भएका छन् विदेशबाट नेपाल जोड्न। उनले एप्स बनाएका छन् जसको सहयोगमा विश्वको जुनसुकै कुनाबाट नेपालमा प्रयोग गरिने कुनै पनि मोबाइलको प्रि-पेडमा रिचार्ज गर्न सकिनेछ। उक्त एप्सलाई उनले नाम दिएका छन् – कनेक्ट टु नेपाल।
 

“आइटीमा मास्टर्स गरेको छु, गोपालले पनि गरेको छ, यसै फिल्डमा काम गरिएको छ, पढाइ के का लागि भन्ने पनि भो। ४० घण्टाको कामको लागि मात्र होइन। केही कुरा देशलाई दिउँ न भनेर निकालेको कन्सेप्ट हो। हामीले के पढ्यौं त भन्नका लागि पनि यो अवधारणा ल्याइएको हो।”

राजीवले आफ्नो कन्सेप्टलाई व्यापकता दिन एन्फा एकेडेमीका आफ्ना सहकर्मी प्रलयलाई मार्केटिङ डाइरेक्टर तोकेका छन्। यस्तै गोपाल सापकोटा टेक्निकल डाइरेक्टर। राजीवको कन्सेप्ट शहर भन्दा पनि ग्रामिण क्षेत्रका बासिन्दाका लागि छ। भन्छन् “नेपालमा प्रि-पेडको प्रयोगकर्ता धेरै छन्। अझ गाउँमा, नेपालमा यस्तो घर वा गाउँ छैन जसको सदस्य विदेशमा नगएको होस्। हो उनीहरुको सुविधाका लागि यो एप्सको कन्सेप्ट ल्याएको हुँ।”
 
भर्जिनियालाई कर्म थलो बनाएका राजीव, न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्सा घरको बेसमेन्टमा खुल्दै थिए।“काठमाडौंमा त केही सजिलो होला, तर गाउँ घरमा बा-आमा हुनुहुन्छ। कतिपय त लेखपढ गर्न सक्नुहुन्न। हातमा फोन छ तर रिचार्ज गर्ने कसरी भन्ने थाहा छैन। हो उहाँहरुका लागि बनाएको हो यो एप्स।”
 
प्रलय अगाडि थप्दै थिए, “कसैको आमा-बाबु वृद्ध हुनुहुन्छ। पसलसम्म जान सक्नुहुँदैन। उनीहरुले रिचार्ज कसरी गर्ने त भन्ने सोच आयो। हामी जस्ता तन्नेरी छोरा विदेशमा छौं भने नेपालमा भएका आमा-बाबुको फोन यही बसेर रिचार्ज गर्न मिल्ने भयो। बाहिरबाट नेपाल फोन गर्नुभन्दा नेपालबाट बाहिर फोन गर्दा सस्तो पनि छ।” 
 
अन्य एप्स जस्तै स्मार्ट फोनमा कनेक्ट टु नेपाल डाउनलोड गर्न सकिन्छ। यो सुविधा लिनका लागि डेविड वा क्रेडिट कार्ड भने हुनैपर्छ। सुरुमा स्मार्ट फोनमा एप्स डाउनलोड गर्नुपर्छ- कनेक्ट टु नेपाल। यो सुविधा लिन इमेलबाट रजिस्टर गर्नु पर्छ। आफ्नो पासवर्ड हालेपछि कुन नम्बरमा पैसा पठाउने छनोट गर्नु पर्छ। एक पटकमा एक नम्बर चयन गरेपछि रकम रोज्न पाइन्छ। पेपलबाट पैसा तिर्न पर्छ।
 
राजीवका अनुसार एक सयदेखि एक हजार रुपैयाँ सम्मको रिचार्ज गर्न सकिने छ। रिचार्ज गरेको दिनको नेपाली मुद्राको विनिमय अनुसार पे पलले डलरमा चार्ज गर्दछ। यो एप्सको प्रमोसनका लागि राजीव, प्रलय र गोपालले अमेरिकामा घुम्ती टेक नामक कम्पनी नै दर्ता गरेका छन्। कम्पनी र एप्सको मार्केटिङ गर्ने जिम्मा कुनै समय नेपाली राष्ट्रिय फुटबल टिमका अलराउण्डर  प्रलयले पाएका छन्।
 
“सबैले भन्छन् खेलाडी विदेशियो। विदेशमा उनीहरुले के गरेको छ त भन्ने पनि छ। हाम्रो यो प्रयासले  नेपालीको जीवनमा ठूलो परिवर्तन नै ल्याउने कुरा त होइन तर पनि नेपालीले नेपालीको लागि सानो भए पनि केही सहयोग हो।”
 
उनी अमेरिकामा पढेर जानेको कुरा आफ्नै दाजुभाइका लागि किन उपयोग नगर्ने भन्ने सोचले पनि यस तर्फ प्रेरित भएको बताउँछन्। “यहाँ आएर पढाइ सकियो, सेटल त भएको छैन, संघर्ष गर्दै छौं। तर पनि नेपालको माया कता न कता छ। चाहे त्यो भूकम्प जाँदाको समयमा होस् वा कुनै खेलाडीलाई सहयोग गर्दाको क्षणमा होस्। हामीले हरेक रुपमा सहयोग गरेका छौं। र, यो पनि नेपालका लागि सहयोग हुन सक्छजस्तो लाग्छ।”

कुराकानीको बीट मार्न खोज्दै गर्दा राजीव अझै उत्साहित हुँदै थिए। “नेपालमा मोबाइल प्रयोगकर्ताको बारेमा अध्ययन गरेका थियौं दुई वर्ष अगाडि। हाम्रो नेपालमा ७९ प्रतिशतले मोबाइल फोन प्रयोग गर्दा रहेछ।  नेपालभरी इन्टरनेटको विकास तीब्र गतिमा हुँदैछ, यो सुरुवात हो।  घुम्ती टेक कम्पनीभित्र कनेक्ट टु नेपाल जन्मिएको हो।  हामी छिट्टै नै योभन्दा धेरै एप्स निकाल्छौं।”