दसैं/ तिहारमा एक अर्बको नयाँ गाडी ल्याउदै व्यवसायी, दुई सय वटा सम्म नयाँ सवारी थपिने

बिजमाण्डू
२०७३ भदौ ११ गते ००:०० | Aug 27, 2016
दसैं/ तिहारमा एक अर्बको नयाँ गाडी ल्याउदै व्यवसायी, दुई सय वटा सम्म नयाँ सवारी थपिने


  • पवन तिमिल्सिना/बिजमाण्डू

काठमाडौं । दसैं/तिहारमा उपत्यकाबाट बाहिरिने यात्रुहरुलाई लक्षित गरेर यातायात व्यवसायीहरुले एक अर्ब रुपैयाँ बरारबरको नयाँ गाडी थप्ने भएका छन्। यातायात व्यवसायीका अनुसार दसैका लागि देशभर दुर्इ सय बस थपिन्छन् ।

एउटा बसलार्इ औसत पचास लाख रुपैयाँका आधारमा दसैका लागि व्यवसायीले एक अर्ब लगानी गर्छन् ।सामान्य अवस्थामा भन्दा दसैंतिहारमा उपत्यका बाहिरिने यात्रुहरुको चाप बढ्ने भएकाले व्यवसायीहरुले नयाँ गाडीहरु ल्याउने भएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार व्यवसायीहरुले करिब दुई सय वटा नयाँ गाडीहरु सञ्चालनमा ल्याउने तयारी गरेका छन् । उनका अनुसार देशभरीमा दुर्इ सय गाडी थपिँदा व्यवसायीले एक अर्ब लगानी गर्छन् ।  सामान्यतया दैनिक एक हजारको हाराहारीमा काठमाडौं बाहिरिने सवारी साधनहरु दसैंको घटस्थापनादेखि फुलपातीसम्मको तीन दिनसम्म तीन हजार सम्मपुग्ने अनुमान रहेको उनले बताए ।

Tata
GBIME
Nepal Life

दसैंमा उपत्यकाका अधिकांश मानिस गाँउ फर्कने हुँदा चाप बढी हुनेभएकाले दोब्बर मात्रामा सवारी साधन थप गर्नुपर्ने आवश्यक रहेको सिटौलाले बताए । चाडपर्वभरीमा करिब डेढ लाख मानिस बाहिरिने सम्भावना हुन्छ । 'भइरहेका गाडीहरु मात्र सञ्चालन गर्दा छतमा राखेर यात्रु पुर्‍याउने बाध्यता हुन्छ' ,उनले भने, 'त्यसैले अहिले विभिन्न कार्यालयहरुमा नयाँ गाडीहरु बनाउने काम भइरहेको छ ।'

अहिले लोडसेडिङका कारण गाडीहरु बनाउनका लागि समस्या भइरहेको सिटौलाले जानकारी दिए। उनले भने, 'दसैं नजिकिदै छ । नयाँ गाडी थप्ने चुनौती बढ्दै गएको छ। लोडसेडिङका कारण कारखानामा गाडीहरु बनाउन ढिलाई भइरहेको छ ।'उनले भने, 'घटस्थापना पछि यात्रुको चाप बढ्ने भएकाले नयाँ गाडीहरु थप्नुको विकल्प छैन । 

दसैं तिहारमा गाउँ जानका लागि यात्रुहरुको चाप धेरै हुन्छ । राजधानीका पूर्व तथा पश्चिम जाने लामो तथा मध्यम दुरीका रुटमा सवारी चलाउने यातायात व्यवसायीहरुले नयाँ गाडी थप्ने योजना बनाइरहेका छन् ।

मकालु यातायात
मकालु यातायातले दसैं अगाडी १५ वटा नयाँ डिलक्स बस थप्ने भएको छ । नयाँ गाडी थप्नका लागि मकालुले आठ करोड तीस लाख खर्चने भएको छ ।पन्ध्रवटा गाडी मध्ये चार वटा डिलक्समा एयर कन्डिसन (एसी) जडान गरिएको र बाँकी सामान्य हुने सञ्चालक श्रीप्रसाद मैनालीले जानकारी दिए ।

एउटा एसी सहितको डिलक्स गाडीको मुल्य ७० लाख रुपैयाँ पर्छ भने सामान्य डिलक्सको मुल्य ५० लाख रुपैयाँ रहेको उनले बताए ।हाल मकालुसँग ३५ वटा गाडीहरु सञ्चालनमा छन् । 'सामान्य अवस्थामा दैनिक २० वटा गाडी बाहिरिने गर्छ', उनले भने, 'दसैंको समयमा ५०/६० वटा गाडी चलाउनु पर्ने आवश्यकता भएकाले नयाँ गाडी थप्न लागेका हौं ।' हाल मकालुले जनकपुरदेखि पूर्वका विभिन्न क्षेत्रहरुमा सेवा दिँदै आएको छ ।

गुगल डिलक्स
गुगल डिलक्सले दसैंको लागि चार करोड ९५ लाख रुपैयाँ खर्चेर ११ वटा नयाँ गाडी सञ्चालनमा ल्याउने भएको छ । गुगलका सञ्चालक राजेन्द्र रोक्काका अनुसार ४५ लाख रुपैयाँ मूल्यको सानो डिलक्स गाडी खरीद गर्न लागेको हो । 

हाल गुगल डिलक्ससँग १२ वटा गाडीहरु सञ्चालनमा छन् । देशका पूर्वी भागमा ११ वटा गाडी चल्छन् भने काकडभित्तासम्म एउटा गाडी चल्ने गरेको रोकाले जानकारी दिए। गुगलको दैनिक ६/६ वटा गाडी ओहोर दोहोर गर्ने गरेको उनले बताए ।

प्राइम डिलक्स
प्राइम डिलक्सले दसैंमा घर जाने यात्रुहरुलाई लक्षित गरेर चार वटा नयाँ गाडीहरु थप सञ्चालनमा ल्याउने तयारी गरेको छ । प्राइमले तीन करोड रुपैयाँ खर्चेर सुविधा सम्पन्न गाडीहरु ल्याउन लागेको प्राइम डिलक्सका सञ्चालक बसन्त भण्डारीले जानकारी दिए ।

प्राइमले प्रति गाडी ७५ लाख रुपैयाँ लागतमा नयाँ गाडी ल्याउन लागेको हो । हाल प्राइमका १३ वटा गाडीहरु सञ्चालनमा रहेका छन् । धरान, विराटनगर लगायत पूर्वी रुटहरुमा मात्र प्राइमले सुविधा दिँदै आइरहेको छ ।