एक करोड राशीको इन्द्रभक्त छात्रवृत्ति स्थापना,एमबिए अध्ययन गर्ने दुर्इलार्इ छात्रवृत्ति

बिजमाण्डू
२०७३ भदौ ११ गते ००:०० | Aug 27, 2016

ललितपुरस्व इन्द्रभक्त श्रेष्ठको ९३ औँ जन्मजयन्तीको अवसरमा एक करोड राशिको ‘श्री इन्द्रभक्त श्रेष्ठ छात्रवृत्ति अक्षय कोष’ स्थापना गरिएको छ ।स्व श्रेष्ठको जन्मजयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उक्त कोषको स्थापना गरिएको छोरा रवीभक्त श्रेष्ठले बताए । 

आगामी शैक्षिक सत्रदेखि प्रत्येक वर्ष त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एमबिए तहमा अध्यनरत जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका दुई विद्यार्थीलाई सो कोषबाट पूर्ण रुपमा छात्रवृत्ति प्रदान गरिने उनले बताए । 

Tata
GBIME
Nepal Life

सोही तहमा सर्वोत्कृष्ट अङ्क ल्याएर उतीर्ण गर्ने एक विद्यार्थीलाई ‘श्री इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक’बाट सम्मान गरिने बताइएको छ । सो कोषको स्थापना इन्द्र–जवाहर सहयोग गुठीले गरेको हो । 

यसैगरी सो गुठीले यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जको बाल उपचार कक्षको सहयोगार्थ रु पचास लाख बराबरको अक्षय कोष स्थापना गरेको थियो । उक्त कोषबाट अस्पतालमा उपचार गराउन आउने आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहयोग गर्दै आइरहेको बताइएको छ । 

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकले स्व इन्द्रभक्त श्रेष्ठले देखाएको बाटोलाई पहिल्याएर अगाडि बढ्न सकेमा निजी क्षेत्रलगायत देशको आर्थिक विकासमा सहयोग पुग्ने बताए। 

स्व श्रेष्ठ चेम्बर अफ कमर्सको चार पटक अध्यक्ष रहनुभएको थियो भने महासङ्घको अध्यक्षसमेत भएका थिए । उनको जन्म विसं १९८१ भदौ ११ गते भएको थियो भने विसं २०७१ माघ ३ गते निधन भएको थियो । स्व श्रेष्ठद्वारा लिखित ‘मेरा सम्झना’ नामक पुस्तकको दोस्रो संस्करण विमोचन भएको छ । पुस्तक इन्द्र–जवाहर सहयोग गुठीले प्रकाशन गरेको थियो । रासस