फास्टट्रयाक विदेशीलाई दिने कल्पना पनि नगरेको प्रधानमन्त्रीको दावी,के लेखियो मोदीलाई चिठीमा?

बिजमाण्डू
२०७३ भदौ १२ गते ००:०० | Aug 28, 2016
फास्टट्रयाक विदेशीलाई दिने कल्पना पनि नगरेको प्रधानमन्त्रीको दावी,के लेखियो मोदीलाई चिठीमा?

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले काठमाडौँ- निजगढ द्रुतमार्ग (फास्टट्रयाक) बनाउन विदेशीलाई दिने भन्ने कल्पना पनि नगरेको बताएका छन्।

उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणका क्रममा फास्ट ट्रयाक भारतलाई दिने सम्झौता भएको भनी आएका समाचारका बारे प्रष्टीकरण दिँदै 'प्रधानमन्त्रीसँग सीधा कुरा' मा दाहालले भने, 'अघिल्लो सरकारले नेपालले नै बनाउने भनी निर्णय गर्दा त्यो सरकारमा हामी पनि थियौँ। नेपालीले नै बनाउनु पर्छ भन्ने कुरामा म पनि संलग्न छु।'

Tata
GBIME
Nepal Life

उनले भने, 'मेरो नेतृत्वमा सरकार बनेपछि फास्ट ट्रयाक विदेशीलाई दिने भनी गरिएको यो प्रचार बिल्कुल झुटो र जनतालाई भ्रम दिने खालको छ।'

उनले भ्रम पार्ने उद्देश्यले आधारहीन कुराहरु गरिएको भन्दै उनले भने 'आम नेपाली जनता र नेपाल राष्ट्रको हितभन्दा बाहिर मेरो सरकारले कुनै काम गर्ने छैन।' 


के थियो मोदीलाई पठाएको पत्रमा?

यसैगरी उपप्रधानमन्त्री निधिमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको पत्रको व्यहोराका विषयमा भइरहेको प्रचारप्रति प्रधानमन्त्रीले आपत्ति जनाएका छन्।

'त्यो पत्रमा डिप्लोमेटिक हिसाबले उच्चस्तरीय भ्रमणको निमन्त्रणाबाहेक केही छैन। कुटनीतिक क्षेत्रमा अरु विषय जस्तै संविधान संशोधन आदिबारे त्यसमा उल्लेख हुने कल्पनासम्म पनि गर्न सकिँदैन', उनले भने। 
 
'त्यस्तो कुरा लेख्छु भनेर प्रतिपक्षीले कल्पना गर्नु भयो दुःख लाग्छ', प्रचण्डले अगाडि भने, 'लेख्न आवश्यकै छैन।'

प्रतिपक्षीलाई लक्षित गर्दै उनले भने, 'दुइटै छिमेकीसँग यो सरकारले सन्तुलित सम्बन्ध बनाउन लागेको देखेर आत्तिनु भएको हो कि!' 
आफु विरुद्ध प्रचार गर्नेहरुलाई उनले भने, 'यस्तो खालको आधारहीन प्रचार गरेर क्षणिक रुपमा आत्मरति लिन सक्नुहोला। तर अन्ततः केही पनि उपलब्धि पाउनु हुन्न। बरु तपाईँकै विश्वसनीयतामाथि प्रश्न उठाउने मौका पाउँछन्।'