राउण्ड टेवल इन्टरनेशनलको साधारणसभा नेपालमा,साधारणसभामा व्यवसाय विस्तार र समाजसेवा एजेन्डा

बिजमाण्डू
२०७३ भदौ १२ गते ००:०० | Aug 28, 2016

काठमाडौ । भातृत्व विकास, व्यवसाय विस्तार र समाजसेवालाई केन्द्रमा राखेर स्थापना भएको राउण्ड टेवल इन्टरनेशनलको वार्षिक साधारणसभा यही भदौ १५ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

कार्यक्रम संयोजक एवं राउण्ड टेवल नेपालका पूर्व अध्यक्ष मनोज दासले साधारणसभाको तयारी लगभग पूरा भइसकेको जानकारी दिए । साधारणसभाको  प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गर्ने उनले बताए । उनका अनुसार साधारणसभामा भाग लिन ४४ देशका ६ सय २५ भन्दा बढी सदस्य नेपाल आइसकेका छन् ।

साधारणसभाले विश्वभरका राउण्ड टेवलसँग आवद्ध सदस्यहरुमार्फत पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनले बताए ।  “राउण्ड टेवलसँग आवद्ध धेरै सदस्यहरु नेपालका विभिन्न पर्यटकीय गन्तब्यको भ्रमण गरेर फर्किनुभएको छ । नेपालको पर्यटकीय गन्तब्यको भ्रमणसँगै स्वदेश फर्किएपछि नेपालको पर्यटन क्षेत्रको ब्राडिङमा समेत सघाउ पु्ग्ने हामीले विश्वास लिएका छौ, उनले भने, “राउण्ड टेवल नेपालले पर्यटन प्रवद्र्धनका लागि चार प्रकारका टूर प्याकेज समेत राखेका थियौ ।

साधारणसभामा सहभागीमध्ये ९० प्रतिशत युरोपेली मूलको रहनुभएकोले पर्यटन प्रवद्र्धनमा कोशेढुंगा सावित हुने विश्वास लिएका छौ ।” राउण्ड टेवल नेपाल जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संस्था दर्ता ऐन अनुसार  २०५६ कार्तिक १० गते दर्ता भएको संस्था हो । यो संस्थामा १८ वर्ष देखि ४५ वर्षसम्मका युवाहरु आवद्ध छन् ।

Tata
GBIME
Nepal Life

राउण्ड टेबल नेपालले शिक्षाको मार्फत नामक दीर्घकालिन परियोजना आफ्नो स्थापनाकाल देखिनै संचालन गर्दै आएको छ । यो परियोजना अन्तर्गत हाल सम्म देशका ३४ वटा विद्यालयहरुमा ३ सय ४० वटा भन्दा बढी कक्षा कोठाहरुको निर्माण भइसकेको दासले बताए । उनका अनुसार राउण्ड टेवलको परियोजनाहरुको विशेषता भनेको शुन्य प्रशासनिक खर्च हो । उद्घाटन, बैठक लगायतका खर्चलाई परियोजनाको रकमबाट खर्च नगरी अन्यत्रैबाट व्यवस्थापन गरिने उनले बताए ।  २०७२ साल वैशाखको महाविनाशकारी भूकम्पमा तत्कालै उद्धार र राहतका कार्यक्रमलाई अघि बढाएको उनले बताए ।