नेपाल बैंक व्यवस्थापन भन्छ; बैंक सुदृढ भयो अब नयाँ योजना ल्याउँछौँ, यसै बर्ष आठ अर्ब पुँजी

बिजमाण्डू
२०७३ भदौ १२ गते ००:०० | Aug 28, 2016
नेपाल बैंक व्यवस्थापन भन्छ; बैंक सुदृढ भयो अब नयाँ योजना ल्याउँछौँ, यसै बर्ष आठ अर्ब पुँजी

काठमाडौँ। नेपाल बैंकले गत आर्थिक बर्षको मुनाफाका पश्चात बैंक सुदृढ अवस्थामा पुगेको भन्दै अब नयाँ योजना लागु गर्ने जनाएको छ।  

Tata
GBIME
Nepal Life

नेपालको सबै भन्दा पुरानो बैंकले गत आर्थिक बर्षमा पहिलो पटक नेपाल राष्ट्र बैंकले तोके बमोजिमको सिमामा पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) पुर्याएको हो। बैंकले गत असार मसान्तमा सबै बाणिज्य बैंकलाई उछिन्दै तीन अर्ब एक करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो।

राष्ट्र बैंककले तोकेका सबै प्रावधान पुरा गरेको हुँदा अब शहर तथा ग्रामीण इलाकामा शाखा विस्तार, सहायक कम्पनी स्थापना, पुँजी बजारमा लगानी लगायत नयाँ भेन्चर सुरु गर्ने प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

'कारोवारमा बिबिधता ल्याउँदै नाफा बढाउने उध्येश्य साथ अब मर्चेन्ट बैंकिङ, लघुवित्त, म्युचिलय फण्ड आदी कारोबार गर्न सहायक कम्पनी स्थापना गर्न हामीलाई बाटो खुलेको छ।' सञ्चालक समितिले निर्णय गरेपछि त्यस अनुरुपका नयाँ भेञ्चरमा प्रवेश गर्ने उनले बताए।

आर्थिक वर्ष २०७१/७२ मा ६७ करोड रुपैयाँ पुरानो ऋण असुली गरेको बैंकले गत आवमा बैंकले एक अर्ब ३५ करोड रुपैयाँ पुरानो ऋण उठाएको थियो। खुद मुनाफा मध्ये एक अर्ब १४ करोड जग्गा जमिन लगायत बिभिन्न सम्पत्ति बिक्री र एक अर्ब ८७ करोड रुपैयाँ बैंकिङ कारोबारबाटै कमाएको शाहले बताए। सम्‍पत्ति बिक्रिबाट राम्रो आय सँगै बैंकका अरु परिसुचकमा पनि उल्लेख्य सुधार भएको उनको दावी छ।

बैंकले नियमित कारोबार मार्फत उच्च मुनाफा कमाउनुको कारण खुद ब्याज आम्दानीमा ठूलो बृद्धि हासिल गर्नु हो। अघिल्लो बर्ष तीन अर्ब ३१ करोड खुद ब्याज आम्दानी गरेको बैंकले गत आवमा चार अर्ब ६९ करोड रुपैयाँ कमाएको छ।

बैंकको निक्षेप र कर्जा क्रमश: ११ अर्ब र १० अर्बले बढेर ८९ अर्ब र ६३ अर्ब रुपैयाँ पुगेको छ। बैंकले अर्को उपलब्धिको रुपमा गत आवमा कर्मचारी खर्च घटाएको छ। कर्मचारी खर्च २३ करोड रुपैयाँले घटाएर दुई अर्ब १८ करोड रुपैयाँमा सिमित गरेको हो।

२०५० को दशकमा मनपरि कर्जा प्रवाह गर्दा बैंकको खराव ऋण ६० प्रतिशत पुगेको थियो। तीन देखि बैंकको पुँजीकोष ऋणात्मक रहेको थियो। त्यसैले डेढ दशक अघि सुरु भएको वित्तिय क्षेत्र सुधार कार्यक्रमको एउटा मुख्य लक्ष नेपाल बैंकलाई ट्रयाकमा ल्याउनु पनि थियो। अहिले आएर उक्त लक्ष हासिल भएको प्रमुख कार्यकारी अधिकृत शाहको भनाइ छ।

बैंकको हाल छ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। चालु आवमा २३ दशमवल ७३ प्रतिशतका दरले हकप्रद सेयर जारी गरि चुक्ता पुँजी आठ अर्ब पुर्याउने उनले जानकारी दिए। बैंकमा ६२ दशमलव २१ प्रतिशत सरकार र ३७ दशमलव ७९ प्रतिशत सर्वसाधारणको सेयर रहेको छ।
एक सय २६ शाखा रहेको बैंकमा ११ लाख भन्दा बढी निक्षेपकर्ता र ९५ हजार बढी ऋणी छन्।