चाडपर्वमा दैनिक उपभोग्य वस्तुमा छुट दिइने, चिनीमा पाँच रुपैयाँ र ग्यासमा सिलिन्डरको ५० रुपैयाँ

बिजमाण्डू
२०७३ भदौ १२ गते ००:०० | Aug 28, 2016
  • पवन तिमिल्सिना/बिजमाण्डू

काठमाडौं । सरकारले दसैं, तिहार र छठका लागि देशभरी सहुलियत पसल सञ्चालन गर्ने भएको छ । आपूर्ति मन्त्रालय, साल्ट ट्रेडिङ, नेसनल ट्रेडिङ, खाद्य संस्थान,दुग्ध विकास संस्थान र आयल निगमले असोज एक गतेदेखि छठ सम्ममा सहुलियत दरमा नून, चिनी, चामल लगायतका दैनिक उपभोग्य वस्तु सहुलियतमा बिक्री गर्नेछन् ।

Tata
GBIME
Nepal Life

मन्त्रालयका सहसचिव उत्तम प्रसाद नागिलाका विभिन्न संस्थानले चाडपर्वका लागि छुट दिने प्रस्ताव पेश गरेको बताए । उनले भने, 'कतिवटा र कुन ढंगबाट सहुलियत पसल सञ्चालन गर्ने बारे छलफल भइरहेको छ ।'दसैंमा चाडपर्वको मौका छोपेर निजी व्यवसायीले दैनिक उपभोग्य सामानमा कालोबजारी तथा कृत्रिम अभावलार्इ निरुत्साहित गर्न सहुलियत पसल सञ्चालन गर्न लागिएको नागिलाले जानकारी दिए ।

'प्रत्येक वर्ष उपभोक्ताहरुलाई सहुलियत दरमा सामान बिक्री गराउन पसल सञ्चालन गर्दै आएका छौं' ,उनले भने, 'यसपाली पनि बजारमा कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न कार्यक्रम ल्याउनेछौ ।'साल्ट ट्रेडिङका व्यापार विभाग प्रमुख पंकज जोशीका अनुसार सहुलियत पसलमा चिनी प्रति किलो पाँच रुपैयाँ तथा नून प्रति किलो दुई रुपैयाँ छुट दिने प्रस्ताव गरिएको छ ।

खाद्य संस्थानले चामलमा, सिमी तथा फापरमा किलोको पाँच/पाँच रुपैयाँको दरले छुट दिने भएका छन् । सहुलियत दरका चामलका लागि १३ हजार तीन सय क्विन्टल खाद्यान्नको माग गरेको संस्थानका सूचना अधिकारी पवन कुमार कार्कीले जानकारी दिए । प्रत्येक उपभोक्ताले सहुलियत स्वरुप एक क्विन्टलसम्मको खाद्यान्न खरीद गर्न पाउने प्रस्ताव पेश भएको उनले जानकारी दिए ।

सबै सरकारी संस्थानबाट खाद्य संस्थानको थापाथली स्थित बिक्री कक्ष, बल्खु, नेशनल ट्रेडिङको कार्यालय, ललितपुर, भक्तपुर लगायतका ११ वटा स्थान पसल सञ्चालनको लागि प्रस्ताव भएको उनले जानकारी दिए ।

आयल निगमले पनि ग्यास र मट्टितेलमा छुट दिने प्रस्ताव गरेको नागिलाले जानकारी दिए। ग्यास एक सिलिण्डरमा ५० रुपैयाँ सम्म छुट दिने प्रस्ताव गरेको उनले जानकारी दिए ।दुग्ध विकास संस्थानले  घिउमा प्रति किलो दस रुपैयाँ छुट दिने तयारी गरेको छ ।विभिन्न संस्थानबाट दसैंका लागि उपत्यकाका ११ वटा स्टलबाट सहुलियत पसल सञ्चालन गर्न प्रस्ताव भएको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार विगतमा देशभरी ७१ वटासम्म स्थानमा पसल सञ्चालन गर्दै आएको मन्त्रालयले यसपाली बढाउनका लागि पहल भइरहेको छ । 'यसपाली विगतको भन्दा बढी स्टल राख्ने तयारी भइरहेको छ' ,रेग्मीले भने, 'अन्य व्यवसायीहरुसँग पनि समन्वय गरेर बढाउने तयारी भइरहेको छ ।'

आपूर्ति मन्त्री दिपक बोहराको अध्यक्षतामा खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेसनल ट्रेडिङ, आयल निगम लगायतका संस्थानहरुबीच सहुलियत पसल सञ्चालन गर्ने विषयमा छलफल भइरहेको रेग्मीले जानकारी दिए ।