राधा ज्ञवालीले चिलिमेबाट हटाएका कुलमान घिसिङ प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त

बिजमाण्डू
२०७३ भदौ २९ गते १९:२९ | Sep 14, 2016
राधा ज्ञवालीले चिलिमेबाट हटाएका कुलमान घिसिङ प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त

काठमाडौं । सकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैंठकले उनलाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

घिसिङ प्राधिकरणकै ११औ तहका कर्मचारी हुन्। तत्कालिन प्रबन्ध निर्देशक मुकेश राज काफ्लेले पदबाट राजीनामा दिएपछि घिसिङलाई नियुक्त गर्ने बाटो खुलेको हो। काफ्लेले गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाएका थिए। काफ्लेले राजीनामा दिएको पाँच दिन पछि घिसिङलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको हो।
 
प्रबन्ध निर्देशक नियुक्त गर्न उर्जा मन्त्रीले तीन सदस्यीय समिति बनाएका थिए। मन्त्रालयका सहसचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा बनेको समितिलाई तीन दिनभित्र नाम सिफारिस गर्न निर्देशन दिइएको थियो। समितिकै सिफारिसमा परेको घिसिङलाई सरकारले बुधबार प्रबन्ध निर्देशक बनाएको हो।
 
को हुन घिसिङ?
 
प्राधिकरणकै कर्मचारी घिसिङ चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशक भएर लामो समय काम गरे। उनले चिलिमेकै आम्दानीबाट तीन वटा अन्य आयोजना निर्माण सुरु गरेका थिए । ती आयोजनाको निर्माण तिब्र गतिमा अघि बढाइरहेकै बेला तत्कालिन उर्जा मन्त्री राधा ज्ञवालीले घिसिङलाई सरुवा गरेर प्राधिकरणको केन्द्रिय कार्यालयमा सुरुवा गरिदिइन् । 

उनलाई चिलिमेबाट सुरुवा गरेपछि रसुवामा आन्दोलन समेत भयो । रसुवामा सक्रिय राजनीतिक दलहरु समेत विभाजित भएर आन्दोलनको समर्थन र विरोध गरेका थिए। घिसिङको सरुवा पछि चिलिमेको सेयरको भाउ समेत तल ‍ओर्लिएको थियो।
 
काफ्ले प्रवन्ध निर्देशक भएकै बेला नेकपा माओवादी केन्द्रको स्थायी समितिले घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । तत्कालिन उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले यो निर्णय कार्यान्वय गरेनन् ।
 
के छन् चुनौति?
उपभोक्तालाई लोडसेडिङमा केही राहत दिनु नै कुलमानका लागि ठुलो चुनौति हो। चुहावट नियन्त्रण, बक्यौता असुली, घाटा नियन्त्रण लगायत दर्जन चुनौति उनका अगाडि छन्। 

आन्तरिक उत्पादन बढेर केन्द्रिय प्रशारणमा धेरै विद्युत थपिने संभावना छैन। भारतबाट विद्युत आयात गरेर लोडसेडिङ घटाउन ट्रान्समिसन लाईन र सब स्टेशनले सहयोग गर्दैन। नेपाल भारत क्रसबोर्डर प्रसारण लाइन निर्माण र सब स्टेशन उनका लागि चुनौति हो । प्राधिकरणले नै सुरु गरेका आयोजना समयमै निर्माण गरेर लोडसेडिङ घटाउनु पनि उनका लागि सहज छैन।

त्यस्तै मुलुक भित्रकै प्रशारण लाइन निर्माण पनि उनका लागि सहज छैन। प्रशारण लाइन निर्माण समयमै नभएको भन्दै लमजुङ, कालिण्डकी कोरिडोर र सोलु कोरिडोरमा प्राधिकरणको आलोचना भइरहेको छ।

घिसिङ भन्दा सिनियरहरु पनि प्राधिकरणमा छन्। उनले ती सिनियरबाट सहयोग लिनु पनि उनका लागि चुनौति हो।