राष्ट्र बैंकको कुन समाचार नलेख्दा रिसाए गभर्नर?, ठोक्ने मात्र आयो, ८६ करोड जोगाएको आएन

बिजमाण्डू
२०७३ असोज ३ गते ११:४४ | Sep 19, 2016
राष्ट्र बैंकको कुन समाचार नलेख्दा रिसाए गभर्नर?, ठोक्ने मात्र आयो, ८६ करोड जोगाएको आएन


काठमाडौं । पत्रकारहरुसँग 'साथीभाइ' जस्तै सम्बन्ध राख्ने नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाल आर्थिक पत्रकार समाजको साधारणसभामा निकै कडा रुपमा प्रस्तुत भए ।
 
उनको चित्त दुखाइ थियो- पत्रकारहरुले राम्रो समाचार लेखिदिएनन् । खाली ठोक्ने समाचार मात्र लेखे ।
 
उनले सन् २०१२ को तुलनामा अहिले निकै सस्तोमा नोट छापेको समाचार पत्रकारहरुलाई दिँदासमेत नछापेको गुनासो पोखे ।
 
'८६ रुपैयाँको डलर १०६ पुगेको छ । मूल्य बृद्धि बढेको छ' उनले भने, 'यस्तोमा पनि हामीले निकै सस्तोमा नोट छापेर २०१२ को तुलनामा ८६ करोड रुपैयाँ बचत गरेको बताए । यो राष्ट्र बैंकको इतिहासमा पनि निकै ठूलो उपलब्धि हो ।'
 
उनले नोट छपाइको समाचार सबै मिडियामा दिँदासमेत नछापिदिएको गुनासो गरेका हुन् । 'मैले सबै मिडियामा यो समाचार पठाउन लगाएको थिएँ । अझ राष्ट्र बैंकले भारतको पुनामा तालिमका लागि पठाएका पत्रकारहरुलाई पनि पठाउन लगाएको थिएँ' उनले भने, 'तर समाचार एकाधमा वाहेक कतै आएन । यही हो व्यवसायिकता ? खाली ठोक्ने समाचार मात्र लेखेर व्यवसायिकता हुन्छ ?'
 
भगर्नरले समाचारका लागि सबै मिडियामा पठाएको भनिएको समाचारको विवरण यस्तो छ ।  
 
नेपाल राष्ट्र बैंकको मुद्रा छपाई खर्च
नेपाल राष्ट्र बैंकले सन् २०१५ र २०१६ मा २०, ५०, १००, ५०० र १००० रुपैयाँ दरका नयाँ नोटहरु छपाएको छ । बैंकले यस अवधिमा विभिन्न दरका नोटहरु छपाउने क्रममा गरेको खर्चको विगतमा सोहि कार्यमा बैंकद्वारा गरिएका खर्चको आधारमा समिक्षा गर्दा पछिल्ला वर्षहरुमा नोट छपाईमा बैंले हासिल गर्न सकेको मितव्ययिताको झलक देख्न सकिन्छ । अझ यस अवधिमा भएको नेपाली रुपैंयाको अवमूल्यन र मुद्रास्फीति समेतलाई मध्यनजर गरी हेर्ने हो भने सन् २०१५ र २०१६ मा बैंले नोट छपाउने कार्यमा गरेको आर्थिक बचतलाई उल्लेखनीय उपलब्धिको रुपमा लिन सकिन्छ ।
 
१००० रुपैयाँ दरको नोट छपाई
बैंले सन् २०१६ मा १००० रुपैयाँ दरको २० करोड थान नोट छपाउने क्रममा प्रति एकाई १.९० रुपैयाँ खर्च गरेको छ । यो खर्च अघिल्लो पटक सन् २०१४ मा सोहि दरको नोट छपाउने क्रममा भएको खर्च (३.९२ रुपैयाँ प्रति एकाई) को तुलनामा ५१.५३ प्रतिशत कम हो । यसरी सन् २०१६ मा १००० रुपैयाँ दरको नोट छपाई गर्दा अघिल्लो पटकको तुलनामा बढी सुरक्षण विशेषता थप गर्दा समेत सो वर्षको तुलनामा प्रति एकाई २.०२ रुपैयाँ बचत गर्दै बैंकले कुल ४०.४० करोड रुपैयाँ बचत गरेको छ ।
 
५०० रुपैयाँ दरको नोट छपाई
त्यसैगरी बैंकले सन् २०१६ मा ५०० रुपैयाँ दरको १८ करोड थान नोट छपाउने क्रममा प्रति एकाई २.९२ रुपैयाँ खर्च गरेको छ । यो खर्च अघिल्लो पटक सन् २०१३ मा सोहि दरको नोट छपाउने क्रममा भएको खर्च (३.१३ रुपैयाँ प्रति एकाई) को तुलनामा ६.७१ प्रतिशत कम हो । यसरी सन् २०१६ मा ५०० रुपैयाँ दरको नोट छपाई गर्दा अघिल्लो पटकको तुलनामा बढी सुरक्षण विशेषता थप गर्दा समेत सो वर्षको तुलनामा प्रति एकाई ०.२१ रुपैयाँ बचत गर्दै बैंकले कुल ३.७८ करोड रुपैयाँ बचत गरेको छ ।
 
१०० रुपैयाँ दरको नोट छपाई
यस्तै,  बैंकले सन् २०१५ मा १०० रुपैयाँ दरको २० करोड थान नोट छपाउने क्रममा प्रति एकाई २.१५ रुपैयाँ खर्च गरेको छ । यो खर्च अघिल्लो पटक सन् २०१२ मा सोहि दरको नोट छपाउने क्रममा भएको खर्च (२.५९ रुपैयाँ प्रति एकाई) को तुलनामा १६.९९ प्रतिशत कम हो । यसरी सन् २०१५ मा १०० रुपैयाँ दरको नोट छपाई गर्दा अघिल्लो पटकको तुलनामा बढी सुरक्षण विशेषता थप गर्दा समेत सो वर्षको तुलनामा प्रति एकाई ०.४४ रुपैयाँ बचत गर्दै बैंकले कुल  ८.८० करोड रुपैयाँ बचत गरेको छ ।
 
५० रुपैयाँ दरको नोट छपाई
बैंकले सन् २०१५ मा ५० रुपैयाँ दरको २४ करोड थान नोट छपाउने क्रममा प्रति एकाई १.४८ खर्च गरेको छ । यो खर्च अघिल्लो पटक सन् २०१३ मा सोहि दरको नोट छपाउने क्रममा भएको खर्च (२.०६ रुपैयाँ प्रति एकाई) को तुलनामा २८.१६ प्रतिशत कम हो । यसरी ५० रुपैयाँ दरको नोट छपाईमा अघिल्लो पटकको तुलनामा प्रति एकाई ०.५८ रुपैयाँ बचत गर्दै बैंकले कुल १३.९२ करोड रुपैयाँ बचत गरेको छ ।
 
२० रुपैयाँ दरको नोट छपाई
त्यसैगरी बैंकले सन् २०१६ मा २० रुपैयाँ दरको २१ करोड थान नोट छपाउने क्रममा प्रति एकाई १.११ रुपैयाँ खर्च गरेको छ । यो खर्च अघिल्लो पटक सन् २०१३ मा सोहि दरको नोट छपाउने क्रममा भएको खर्च (२.१ रुपैयाँ प्रति एकाई) को तुलनामा ४७.१४ प्रतिशत कम हो । यसरी २० रुपैयाँ दरको नोट छपाईमा अघिल्लो पटकको तुलनामा प्रति एकाई ०.९९ रुपैयाँ बचत गर्दै बैंकले कुल २०.७९ करोड रुपैयाँ बचत गरेको छ ।
 
नेपाली रुपैयाँको अवमूल्यन
समिक्षा अवधि सन् २००५ देखि २०१६ सम्म नेपाली मुद्रा मुख्य विदेशी मुद्राहरुको तुलनामा अवमूल्यन भएको छ । सन् २०१२, १३, १४ को औसत विनिमय दर १ अमेरीकी डलर बराबर ८८.८३ रुपैयाँ  थियो भने हाल यस्तो विनिमय दर १०६ रुपैयाँको हाराहारीमा रहेको छ ।
 
कुल बचत
सन् २०१५ र २०१६ मा बैंकद्वारा विभिन्न दरका १०३ करोड थान नोट छापिएका छन् । यस समयमा छापिएका सबै दरका नोटहरुको प्रति एकाई खर्च अघिल्लो पटक सोहि दरका नोट छपाई गर्दा लागेको खर्च भन्दा कम छन् ।  अघिल्लो पटकको तुलनामा प्रति एकाई खर्चमा भएको बचतको हिसाब गर्दा सन् २०१५ र २०१६ मा छापिएका १०३ करोड थान नोटमा बैंकले कुल ८७.६९ करोड रुपैयाँ बचत गरेको छ ।
 
अन्त्यमा
यसरी, समिक्षा अवधिमा भएको नेपाली रुपैंयाको अवमूल्यन र मुद्रास्फीति समेतलाई ध्यानमा राखेर हेर्दा सन् २०१५ र २०१६ मा बैंकद्वारा भएका नोट छपाईका कार्यहरु आर्थिक हिसाबले प्रभावकारी एवं मितव्ययी देखिन्छन् ।

Tata
GBIME
Nepal Life