एनएमबी बैंकमा एफएमओले आफ्नो सेयर तीनबाट २० % पुर्याउँदै, साढे दुई अर्ब रुपैयाँ लगानी गर्ने

बिजमाण्डू
२०७३ असोज ४ गते ११:२३ | Sep 20, 2016
एनएमबी बैंकमा एफएमओले आफ्नो सेयर तीनबाट २० % पुर्याउँदै, साढे दुई अर्ब रुपैयाँ लगानी गर्ने

काठमाडौ । एनएमबी बैकको विदेशी रणनीतिक साझेदार नेदरल्यान्ड फाइनान्सियरिङ (एफएमओ) ले अर्को एक अर्ब रुपैयाँको सेयर खरीद गर्ने भएको छ ।

Tata
GBIME
Nepal Life

एनएमबीले पाथिभरा विकास बैंक, भृकुटी विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र प्रुडेन्सियल फाइनान्स गाभ्दा एफएमओले सेयर संरचना वढाउन चाहेको थियो । मर्जरअघि १४ प्रतिशत सेयर रहेको एफएमओको मर्जरपछी घटेर तीन प्रतिशतमा आएको थियो ।

एफएमओको सर्त अनुसार एनएमबीले उसलाई २० प्रतिशत सेयर दिन लागेको नेपाल स्टक एक्सचेञ्जमा पठाएको जानकारी पत्रमा उल्लेख छ ।

'एफएमओलाई नेपालमै राख्न हामीले निकै प्रयास गरेका थियौं । उसलाई २० प्रतिशत सेयर दिन सहमत भएपछि एफएमओ नेपालमै बस्न तयार भयो' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले मंगलबार बिजमाण्डूसँग भने, 'युरोपियन बैंक नेपालमा बस्दा यसले राम्रो संन्देश पनि दिन्छ ।' एफएमओ त्रिपल रेटेट कम्पनीसमेत हो ।

एफएमओको सेयर हिस्सा २० प्रतिशत पुर्याेउँदा उसलाई बैंकले ९४ लाख कित्ताभन्दा वढि सेयर दिनु पर्ने हुन्छ । अहिले बैंकको चुक्ता पुँजी चार अर्ब ३८ करोड रुपैयाँ छ ।

बैंकको १०० रुपैयाँ अंकित दरको सेयरमा एफएमओले १५० रुपैयाँ प्रिमियम थपि प्रतिकित्ता २५० रुपैयाँमा किन्ने छ । 'यसबाट एक अर्ब रुपैयाँ हाराहारी चुक्ता पुँजी वढ्ने छ' पौडेलले भने, '१५० करोड रुपैयाँ हाराहारी जगेडा कोषमा बस्ने छ । यसलाई पनि आवश्यक पर्दा पुँजीकरण गर्न सकिन्छ ।'

एफएमओलाई अतिरिक्त निस्कासनबाट सेयर दिँदा त्यही अनुपातमा सर्वसाधारणले पाउने चर्चा थियो । तर पौडेलले एफएमओलाई मात्र सेयर बिक्री गर्ने बताएका छन् ।

एफएमओका अधिकारीहरु सबै विषय टुङ्ग्याउन नेपाल आउँदैछन् । 'अहिलेको जटिल राजनीतिक र आर्थिक परिस्थितिमा समेत साढे दुई अर्ब रुपैयाँ बैंकिङ क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिनु हाम्रा लागि गौरवको विषयसमेत हो' पौडेलले भने ।