धितोपत्र बोर्डले संकलन केन्द्र थप्न मर्चेन्ट बैंकरलाई दियो निर्देशन, डिम्याटसँगै बैंक खाता

बिजमाण्डू
२०७३ असोज ५ गते १५:१५ | Sep 21, 2016
धितोपत्र बोर्डले संकलन केन्द्र थप्न मर्चेन्ट बैंकरलाई दियो निर्देशन, डिम्याटसँगै बैंक खाता
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशन तथा हकप्रद र हितग्राही (डिम्याट) खाता सञ्चालन सहज बनाउन सिडिएससी, मर्चेन्ट बैंकर र सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ। 
 
बोर्डले यी तीन पक्षलाई छुट्टाछुट्टै संबोधन गर्दै धितोपत्र बजारमा लगानीकर्तालाई सहज वातावरण बनाउन निर्देशन दिएको हो। बोर्ड गरेको स्थलगत निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गर्न यस्तो निर्देशन दिएको जनाइएको हो। 
 
बोर्डले डिम्याट एकाउन्ट खोल्दा अनिवार्य रुपमा बैंक खाता राख्ने व्यवस्था गर्न सिडिएससीलाई निर्देशन दिएको छ। अहिले डिम्याट खाता खोल्दा बैंक खाता अनिवार्य थिएन।

Tata
GBIME
Nepal Life


 

त्यस्तै मर्चेन्ट बैंकरलाई बोर्डले १० बुँदे निर्देशन दिएको छ। खण्डित सेयरको कारोबार, प्राथमिक तथा हकप्रद सेयरको पर्याप्त संकलन केन्द्र राख्न, कम्पनीको वेभ साइटबाट डाउनलोड गरेर हकप्रद सेयर भर्न व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।
 
लगानीकर्ताको सेयर डिम्याट र भौतिक जे भएपनि डिम्याटमै हकप्रद सेयर भर्ने व्यवस्था गर्न पनि मर्चेन्ट बैंकरलाई निर्देशन दिएको छ । 

गाभ्ने/गाभिने प्रकृयाका लागि सेयर कारोबार स्थगित भएका सूचीकृत कम्पनीले एकिकृत कारोबार सुरु भएको बढीमा १५ दिन भित्र कारोबार खुलाउन पनि बोर्डले निर्देशन दिएको छ। 

 


बोर्डले दिएका निर्देशन:

क) सिडिएस एण्ड क्लियरिङ्ग लि.
 
सर्वसाधारण लगानी कर्ताहरुले नयाँ हितग्राही खाता खोल्दाअनिवार्य रुपमा बैंक खाता राख्ने व्यवस्था त्यस लि. को प्रणालीमा तत्काल मिलाउन र हितग्राही खाता खोलिसकेकालगानीकर्ताको हकमा बैंक खाता सम्बन्धीविवरण अनिवार्यरुपमाअद्यावधिकगर्ने व्यवस्थागर्ने।
 
ख) मर्चेन्ट बैंकर 
१, संगठित संस्थाको प्राथमिक निष्काशन तथा नयाँ निष्काशनको क्रममा दरखास्त फारम लिन, दरखास्त फारम बुझाउन तथा रकम जम्मा गर्न संकलन केन्द्रको संख्या कम भई अनावश्यक भन्झट बेहोर्नु परेको भनी लगानीकर्ताहरुबाट गुनासो आइरहेको सन्दर्भमा अर्थतन्त्र र जनसंख्याको केन्द्रलाई दृष्टिगत गरी सर्वसाधारण लगानीकर्तालाई सहज रुपमा फारम प्राप्तगर्ने तथा बुझाउन सक्ने गरी पर्याप्त मात्रामा संकलन केन्द्रहरुको व्यवस्थागर्ने। साथै प्रत्येक संकलन केन्द्रमा जेष्ठ नागरिक, अपाङ्ग तथा महिला लगानीकर्ताहरुको लागि सहज रुपमा अर्थात आवश्यक्तानुसार छुट्टै काउण्टर/लाइनको व्यवस्था गरी फारम भर्न सक्ने व्यवस्था गर्ने/गराउने।  
 
२, हकप्रद निष्काशनको क्रममा शेयरधनीको संख्या र ठेगानालाई आधारमानी शेयरधनीहरुको पहुँच हुने गरी संकलन केन्द्र तोक्ने र दरखास्त फारामको हकमा निष्काशन कर्ता कम्पनी तथा निष्काशन तथा बिक्री प्रबन्धकको वेब साईटबाट समेत डाउनलोड गरी भरेर बुझाउन सक्ने व्यवस्थागर्ने।
 
३, सर्वसाधारण लगानीकर्ताहरुबाट हकप्रद शेयर वापत प्राप्तहुने खण्डित शेयरको आवेदनगर्दा कतिपय संगठित संस्थाहरुबाट खण्डित शेयर भएकाले गानीकर्तालाई पूर्णरुपमा आवेदनदिने व्यवस्था गरिएतापनि धेरै संगठित संस्थाहरुको खण्डित शेयर वापत प्राप्त हुने हकप्रद शेयर  आवेदनगर्न नपाइएको भनी गुनासो प्राप्त भैरहेको सन्र्दभमा साविकका शेयरधनीको आफ्नो हकवापतको शेयर खण्डित हुने भएमा खण्डित शेयरलाई पूर्ण कित्ताको रुपमानपुग रकम समेत लिई आवेदनदिने व्यवस्था गर्ने/गराउने र त्यसो गर्दा सम्बन्धित कम्पनीको पूँजी संरचना परिर्वतनहुने अवस्था आएमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र थप धितोपत्रहरु बोर्डमा दर्ता गरिने व्यहोरा वार्षिक साधारण सभाबाट निर्णय गर्ने/गराउने । 
 
४, एकै शेयरधनीको भौतिक तथा अभौतिक(डिम्याट) रुपमा रहेको शेयर अनुसार हकप्रद शेयर भर्दा समस्या भएको भन्ने गुनासो प्राप्त भएको सन्दर्भमा निष्काशन तथा बिक्री प्रबन्धकहरुले लगानीकर्ताको शेयर भौतिक तथा अभौतिक(डिम्याट) जुन रुपमा कायम रहेको भएतापनि एउटै मात्र आवेदनमार्फत दरखास्तदिने व्यवस्था गर्ने।

५, सर्वसाधारण लगानीकर्ताहरुबाट सार्वजनिक शेयर फाराम भरी चेक बुझाउँदा स–सानो रकमको चेकमा पनि क्लियरिङ्ग शुल्क लिने गरेको देखिएकोले सार्वजनिक निष्काशनहरुमा चेक लिंदा नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुपको क्लियरिङ्ग शुल्कमात्र लिने व्यवस्था गर्ने/गराउने।

६, कतिपय संकलन केन्द्रहरुले एकाघर परिवारको फारामसाथ संलग्न एकाउण्ट पेयी चेक नलिएको भन्ने गुनासो प्राप्तभएको सन्दर्भमा एकाघर परिवारको दरखास्त फाराम समावेश गरी आवेदन दिएको अवस्थामा दरखास्तवाला मध्ये कुनै एक व्यक्तिको खाताको एकाउण्ट पेयी चेक मार्फत रकम जम्मा गर्ने व्यवस्था गर्न र एकाघर परिवार बाहेक अन्य व्यक्तिहरुको नाममा भरेको फारामहरु एकै चेकमार्फत कडाईका साथ नबुझ्ने व्यवस्था गर्ने/गराउने। 
 
७, सार्वजनिक निष्काशनका क्रममा निष्काशन तथा बिक्री प्रबन्धकहरुले आफ्नो कार्यालयमा व्यवस्थित रुपमा दरखास्त लिने व्यवस्था गरेको देखिए पनि अन्य कतिपय संकलन केन्द्रहरुमा व्यवस्थित रुपमा फाराम लिने व्यवस्था गरेको नदेखिएकोले आगामी दिनमा पर्याप्त पूर्वाधारको व्यवस्था मिलाई संकलन केन्द्रहरुमा समेत व्यवस्थित रुपमा फारामलिने व्यवस्था गर्ने।
 
८, जनशक्तिको महत्वलाई दृष्टिगत गरी मर्चेन्ट बैंकरहरुले आफ्नो नाफाको केही निश्चित प्रतिशत रकम मानव संशाधन विकासकालागि छुट्याउने व्यवस्थागर्ने र सो व्यवस्था गरे पश्चात बोर्डमा जानकारी गराउने।
 
९, कतिपय मर्चेन्ट बैंकरहरुले कर्मचारीलाई आफुले प्रदानगर्ने सेवा सम्बन्धमा पर्याप्त तालिम दिएको नदेखिएकोले सेवाग्राहीलाई प्रदान गरिने सेवा चुस्त दुरुस्त नभएको भनी गुनासा प्राप्त भएकोमा सो सम्बन्धमा मर्चेन्ट बैंकरहरुले सम्बन्धित कर्मचारीलाई अनिवार्य रुपमा प्रशिक्षित गर्ने/गराउने।
 
१०, कतिपय मर्चेन्ट बैंकरहरुमा जनशक्ति नियम संगत रुपमा काममा नलगाईएको तथा कर्मचारी सेवा शर्त सम्बन्धमा स्पष्ट व्यवस्था नगरिएको गुनासा आएकोले कर्मचारी व्यवस्थापन कार्यलाई कानुन सम्मत गर्ने/गराउने।  
 
ग) सूचीकृत कम्पनी
सूचीकृत कम्पनीहरुको गाभ्ने/गाभिने कार्य सम्पन्नभई एकीकृत कारोबार शुरुभए संगै शेयर कारोबार शुरु गर्ने व्यवस्था गर्ने र सो हुन नसकेमा वढीमा १५(पन्ध्र) दिनभित्र अनिवार्य रुपमा कारोबार हुने व्यवस्था गर्ने ।