आईफोनलाई उछिन्ने हतारमा पछारिएको सामसङ के फेरि उठ्ला?

बिजमाण्डू
२०७३ असोज ६ गते ११:५४ | Sep 22, 2016
आईफोनलाई उछिन्ने हतारमा पछारिएको सामसङ के फेरि उठ्ला?


प्रतिश्पर्धी एप्पलमा हुने कमजोरीमाथि अवसर सिर्जना गर्ने कुरालाई लिएर सामसङका कर्मचारीलाई संधैभरी मोटिभेसन भइरहन्छ।
 
यो वर्षको सुरुवातमा दक्षिण कोरियाली कम्पनीका म्यानेजरहरु भन्दै थिए, 'अब आउने आइफोनमा खास त्यस्तो कुनै चिज छैन्, यसपटक पनि आइफोनमा पुराना दुई मोडलको निरन्तरता मात्रै हुनेछ।' उनीहरुको यो कुरा कस्तो सुनिंदै थियो भने, सामसङका लागि फड्को मार्ने यो एउटा ठूलो अवसर हो।
 

 
ग्यालेक्सी नोट सेभेनको बाहिरी आकर्षण मात्र काफी भएन सुरक्षालाई ।

Tata
GBIME
Nepal Life

फोन डिभिजन प्रमुख डिजे कोहसहित सासमङ इलेक्ट्रोनिक्सका बोसहरु नयाँ मोवाइल सार्वजनिक गर्न निक्कै उत्साहित देखिन्थे। यो विषयसँग जानकार एक अधिकारी भन्छन्,  'सामसङका टप बोसलाई लागेको थियो, प्राप्त यो अवसरलाई कुनै पनि हालतमा गुमाउनु हुँदैन्, यसको उपभोक्तामा बजारीकरण गर्नुपर्छ।'

 
नयाँ फिचरले गर्यो ब्याकफायर
'थुप्रै नयाँ फिचर भए पनि सामसङले आफ्ना सप्लायर्सलाई निक्कै कम समयको डेडलाइन दिएको थियो',  यो विषयमा जानकार अर्का एक अधिकारीले बताए। सामसङको 'फ्ल्यागसिप' ब्राण्ड नोट सेभेनको उच्च रिजोलुसनको स्क्रिन, जसमा 'एज' समेत थियो, 'आइरिस रेकग्निजेशन सेक्युरिटी' र अधिक क्षमताको छिट्टो चार्ज हुने ब्याट्री। कम्पनीका वोसहरुले सोचेका थिए नयाँ फोन ल्याउने मामलामा सामसङले एप्पललाई पछ्याउँछ भन्ने पुरानो दाग यसपटक पखालिनेछ। 
 
तर, फोनको त्यहि नविन विषेशताले ब्याकफायर गर्यो। अगस्टमा सामसङ नोट सेभेन सार्वजनिक गरिएको भोलिपल्ट नयाँ फोनको ब्याट्री आगोको लप्कासहित पड्किएको समाचारले अनलाइन भरिएका थिए। महिनाको अन्तिमसम्म झण्डै एक दर्जन फोन पड्किसकेका थिए, कहाँ खरावी भयो सामसङलाई पत्ता लगाउन ठूलै हैरानी पर्यो। 
 
सेप्टेम्वर २ का दिन सिओलमा कोहले एउटा संक्षिप्त पत्रकार सम्मेलनमा घोषणा गरे, सामसङले ढुवानी गरिसकेका सबै २५ लाख सेट फिर्ता गर्छ।
 
रिकल गर्ने सामसङको त्यो घोषणाको समेत आलोचना भयो। खासमा सामसङले यो घोषणा दश देशमा डेलिभरी भएका कति लाख ग्राहकको फोन सेट परिवर्तन गर्नुपर्छ भन्ने विषयमा खास अध्ययन र पूर्वतयारी विना गरेको थियो। यसले उपभोक्तालाई के गर्ने भन्ने झन दुविधामा राख्यो।
 
कम्पनीको अलमल 
सामसङले भन्यो, पहिले फोन स्वीचअफ गर्नुहोस र त्यसलाई प्रयोग गर्न रोक्नुहोस। त्यसको केही दिनपछि कम्पनीले ब्याट्रीमा हुने अधिक ताप नियन्त्रणका लागि सफ्टवेयर सोलुसनको अफर गर्यो। उसले भन्यो 'अब उपभोक्ताले फोन प्रयोग गर्न सक्छन्।' 


ब्याट्री पड्किएर कुरुप भएको ग्यालेक्सी नेोट सभेन
 
रेपुटेशन जोगाउन र समस्याबाट उपभोक्तालाई सहायता प्रदान गर्न सामसङले अपनाएको यो रणनीतिले कम्पनीलाई झन समस्यामा पार्यो,  हावार्ड बिजनेश स्कुलका व्यवस्थापन प्रोफेसर, एवं स्मार्टफोन निर्माता एचटिसि कर्पका बोर्ड मेम्वर डेभिड याफिले भने। 
 
के आइफोनमाथि हावी हुने सोचका आधारमा नोट सेभेन सार्वजनिक गरिएको थियो? सामसङले यो प्रश्नको जवाफ दिन चाहेन। कम्पनीले एउटा सूचना सार्वजनिक गर्दै भन्यो, नयाँ मोवाइल कहिले सार्वजनिक गर्ने कुरा मोवाइल बिजनेश डिभिजनले उत्पादनको सहि ढंगबाट प्रक्रिया पूरा गरेपछि तय गर्छ।
 
नेतृत्वमा खाडल
कोरियाली युद्धपछि दक्षिण कोरियाको आर्थिक वृद्धिका लागि नेतृत्व लिएको र हजारौं मान्छेलाई रोजगारी दिएको प्रतिष्ठित सामसङ एउटा गलत कदमका कारण आत्ममन्थन गर्न बाध्य भएको छ। उच्च गुणस्तरको उत्पादन तथा प्रतिश्पर्धी प्रविधिको प्रयोग गर्ने कम्पनीको फ्ल्यागसिप इलेक्ट्रोनिक्स युनिट विश्वको सबैभन्दा ठूलो फोन उत्पादक कम्पनी हो। सृजनाशिलतामा आइफोनलाई टक्कर दिइरहेको सामसङका एक कर्मचारीले अनलाइन छलफल समूहमा पछिल्लो घट्नाक्रमलाई भनेका छन्,  'अपमानजनक'।
 
खासमा सामसङको व्यवस्थापनमा दुई वर्षदेखि स्पष्ट नेतृत्वको समस्या छ। सामसङलाई नेतृत्व गरिरहेका लि कुन हिलाई सन् २०१४ मा हर्टअट्याक भयो। त्यसयता उनी व्यापारमा आउन सकेका छैनन्।
 
उनको उत्तराधिकारीको रुपमा छोरा जे वाई लि छन्, तर उनले कम्पनीको अध्यक्षको जिम्मेवारी लिइ सकेका छैनन्। कोरियाली संस्कृतीमा आफ्ना अभिभावक जिउँदै छँदा उनको जिम्मेवारी लिन राम्रो मानिंदैन्। 
 
त्यसको परिणाम, कम्पनीमा निर्णायक अधिकार लिएर कोही पनि बसेको छैन्, जस्तो एप्पलमा टिम कुकले कमान सम्हाल्छन् र समस्या समाधानका लागि 'ह्याम्मर' हान्छन्।
 
ब्याट्रीको समस्या जुन समयमा आयो सामसङका लागि त्यो खराब समय थियो। र, यस विषयमा प्रतिक्रिया तथा सही सञ्चार गर्न थप समस्या भयो, फोरस्टर रिसर्चका विशेषज्ञ थोमस हसोनले भने। 
 
सामसङले एउटा विज्ञप्तीमा भनेको छ, 'अहिले हामी उपभोक्ताका लागि के सही हुन्छ त्यो गरिरहेका छौं, त्यो हो नोट सेभेन जतिसक्यो छिट्टो रिप्लेस गर्नु, सामसङमा हाम्रा लागि उपभोक्ताको फेरी विश्वास जित्नु धेरै महत्वपूर्ण छ।'
 
ब्याट्रीका कारण भएको समस्या एक वर्ष अघि नै पत्ता लगाउन सकिन्थ्यो। जतिवेला सामसङले नयाँ फोनमा के सुविधा थप्ने हो भनेर सोच बनाइरहेको थियो। प्रिमियम फोनमा सामसङका दुई वटा लाइन छन्, एउटा हो ग्यालेक्सी एस र अर्को अलि ठूलो नोट।


पानीमा बच्यो तर आगोमा जोगिन सकेन सामसङको नयाँ फोन

जब सन् २०११ मा नोट सार्वजनिक गरियो, त्यति नै वेला यसको ठूलो स्क्रिनलाई लिएर केही आलोचना भएको थियो। तर, ठूलो स्क्रिनमा देखिने भिडियो,  गेम र वेभ ब्राउजमा सहजताका कारण उपभोक्ताले आलोचकलाई आश्चार्यमा पारिदिए।
 
यसले सामसङलाई ठूलो साइजको फोन बजारमा संधै लिड दिइरह्यो। र, पछि सन् २०१४ मा एप्पल आफैले पनि आइफोन सिक्स प्लसका साथ सामसङलाई पछ्यायो।
 
एप्पलको सिक्स प्लसका कारण सामसङले दवाव महसुस गर्यो। त्यसपछि सन् २०१५ को सेप्टेम्वरमै गत अगस्टसम्ममा सार्वजनिक गर्ने गरि नयाँ नोटको तयारी थाल्यो।  
 
एप्पलले ठूलो साइजको मोवाइलमा सामसङको बजार हिस्सा खोसिरहेको थियो। डिसेम्वर महिनामा सामसङको मोवाइल डिभिजनका प्रमुख फेरीए। थुप्रै ग्यालेक्सी फोनको निर्माणमा व्यवस्थापन गरेका ५५ वर्षका कोह सामसङको हट सिटमा आए।
 
जब कोह सामसङको मोवाइल डिभिजन प्रमुख बन्दा उनको कम्पनीले एप्पलसँग कडा प्रतिश्पर्धामा थियो। सँगै विश्वमा स्मार्टफोनको बजार स्याचुरेट हुँदै पनि गएको थियो। एप्पलले यसैलाई ध्यानमा राखेर आफ्नो नयाँ उत्पादनको डिजाइनमा खास ठूलो परिवर्तन नगर्ने निर्णयमा पुग्यो। कोरियन अधिकारीले भने यहीं अवसर देखे।
 
अध्यक्ष ली अस्पतालमा थिए। युवा लि,  उपाध्यक्ष जिएस कोइ र मोवाइल डिभिजन प्रमुख कोहसहित सामसङका अधिकारीहरुले नोट सेभेनको ग्लास प्यानल, ब्याट्री  र सेमिकन्डक्टरहरु तयार गरे। योसँगै उनीहरु नयाँ सुविधा थप्ने कम्पनीको प्रडक्ट म्यापअनुसार स्क्रिनको स्तरोन्नती तथा स्टायल्स(नोटको कलम) उन्नत बनाउन थाले। त्यसपछि उनीहरुले मोवाइल लञ्च गर्ने मिति अघिल्लो वर्षभन्दा दश दिन अघि सारेको यो विषयसँग जानकार एक अधिकारीले बताए। गतवर्ष सामसङले अगस्ट १३ मा प्रडक्ट लञ्च गरेको थियो यो वर्ष उनीहरुले अगस्ट ३ मा सार्वजनिक गरे।
 
थपिएको सुविधाले डुबायो
मोवाइलका लागि ब्याट्री सबैभन्दा संवेदनशिल हिस्सा हो। स्मार्टफोन निर्माताले उपभोक्ताको चाहनाअनुसार मोवाइलमा ब्याट्री टिकोस भनेर निक्कै मेहनत गरेका हुन्छन्। 
 
उनीहरुले उपलब्ध प्रविधिको अधिकतम प्रयोग गरेर ब्याट्रीको आयु लामो बनाएका छन् भने चार्ज छिटो हुने सुविधा पनि थपेका छन्। यसैले ब्याट्री उत्पादनमा चुनौती थपिएको छ भने खराब हुने जोखिम पनि बढाएको छ।
 
सामसङले नोट सेभेनका लागि ३५ सय मिलिएम्पिएर आवर(एमएएच)को ब्याट्रीमा जाने विकल्प लियो। जबकि कम्पनीले यसअघि तीन हजार मिलिएम्पिएरसम्मको ब्याट्री चलाएको थियो। यसको तुलानामा आइफोन सेभेन प्लसको ब्याट्री भने २९ सय एमएएच छ। 
 
सामसङ मोवाइलका लागि ब्याट्रीको मुख्य सप्लायर हो सामसङ एसडिआई कम्पनी। यो कम्पनी सन् १९७० मा सामसङ इलेक्ट्रोनिक्सको २० प्रतिशत हिस्सा रहने गरी खडा गरिएको थियो। यही कम्पनीले सामसङसँगै एप्पल जस्ता कम्पनीका लागि पनि ब्याट्री बनाइरहेको छ।


 
मोवाइल सार्वजनिक गर्ने दिन नजिक आउँदै गयो। त्यसपछि सासमङले सप्लायर्सलाई पेल्न थाल्यो, सप्लायर्सले पनि कामदारको काम गर्ने अवधि बढाए। यसले कामदारको सुत्ने र आराम गर्ने समय घट्यो। सप्लायरहरुले अत्यधिक हतारोकै कारण पनि काम बिग्रिएको हुन सक्ने बताएका छन्।
 
'सप्लायरहरु कम्पनीको तर्फबाट मात्र होइन उपभोक्ताको समेत दबावमा परे,'  घटनालाई सुरु देखि नियालेका एक जानकार भन्छन्। एक सप्लायरले भनेका छन्, 'त्यो बेलामा सामसङका कर्मचारीसँग काम गर्न साँच्चिकै कठिन भयो, उनीहरु छिन छिनमा मोवाइलको ग्लास र वर्क फ्लोबारे मुड बदल्थे।' घर आउ जाउको समय बचाउन कतिपय कर्मचारी कार्यालयमै सुत्न थालेको ती सप्लायरले बताए।
 
कम्पनीले भने नयाँ फोन ल्याउने हतारोमा काम बिग्रिएको भन्ने टिप्पणीलाई स्विकार्न चाहेको छैन। नयाँ फोन शतप्रतिशत परिक्षण पश्चात मात्र सार्वजनिक गरिएको दावीलाई उसले दोहोर्याएको छ।
 
हो पनि। सामसङले अगष्ट अगावै सबैथोक भ्याएको थियो। कम्पनीले नोट सेभेनका सुरुवाती मोडलहरु बेलैमा विश्वभरका वायरलेस अपरेटरहरुसम्म पठाउन भ्यायो। जसमा अमेरिकाको एटी एन्ड टी इन्क एवं अष्ट्रेलियाको टेल्स्ट्रा कर्प लगायत थिए।
 
एक कम्पनीका एक्जिक्युटिभका अनुसार उनको टिमले मे महिनामै नयाँ फोनको क्षमता परिक्षण सुरु गरेको थियो र यसका लागि 'पुग्दो' समय खर्चिएको थियो। उनका अनुसार उनीहरु मोवाइलको एन्टेनाको क्षमता र डाटा स्पिडमा केन्द्रित भए। दुर्भाग्यनै मान्नु पर्छ ब्याट्रीमा समस्या आउनेबारे उनीहरुले न चासो दिए न भेउ नै पाए।
 
तर, जब यो फोन ग्राहकको हात पर्यो ब्याट्रीमा आगो सल्किन थाल्यो। सँगै कम्पनीको टाउको दुखाइ भने अनलाइनहरुबाट सुरु भयो। पड्किएका फोनको फोटो र भिडियो एकपछि अर्को वेवहरुमा पोष्ट हुन थाले। 'हे युट्युव' भन्दैन एक ब्यक्तिले आफ्नो फोन कसरी पड्कियो र खरानी बन्यो भन्ने कथा भिडियो सहित हालिदिए।  उनले सन्देश पनि छोडे, 'सबै नयाँ फोनसँग उत्साहित छन् तर अब गम्भिर होउ, नयाँ नोट सेभेनले सबैलाई आगोको लप्कामा पुर्याउन सक्छ।'
 
कम्पनीभित्रै आरोप प्रत्यारोप
बल्ल कम्पनीका उच्च अधिकारीको घैंटोमा घाम लाग्यो। सामसुङ इलेक्ट्रोनिक्सका को-भाइस चेयरमेन चोइले सबै सिनियर म्यानेजरहरुलाई बोलाए र सोधे, 'आखिर कहाँ बिग्रियो कुरा?' कम्पनीको फोन डिभिजनले ब्याट्रि निर्माता सामसुङ एसडिआई तिर चोर औँला तेर्स्यायो।  
 
कम्पनीका अरु म्यानेजरहरु त्यससँग सहमत भएनन्। मोबाइलमा आएको समस्या जे सुकै होस्, चाहे त्यो डिजाइनसँग सम्बन्धित होस् या अरु कुनै फिचरसँग यसको जिम्मेवारी फोन डिभिजनले नै लिनु पर्ने उनीहरुको राय थियो। अन्ततः सामसङ कम्पनीले पनि त्यहि भन्यो की 'यसमा अब कुनै द्विविधा बाँकी छैन, जे भयो त्यसको सम्पुर्ण जिम्मेवारी फोन युनिटले लिइ सकेको छ।'
 
सामसङका उच्च अधिकारीहरुलाई थाहा छ कि उनीहरुले अब छिटो यात्रा तय गर्नुछ। सुरुमा उनीहरु बीच केहि बहस नचलेको होइन। सबै फोन रिकल गर्ने या ब्याट्री बदलिदिने जस्ता नाटकीय कार्यक्रम चलाउने भन्ने बारे उनीहरुमा केहि द्विविधा पनि देखियो। 
 
यस्तोमा गत १ सेप्टेम्बरमा एक इन्जिनियरले कम्पनीको आन्तरिक बुलेटिन बोर्डलाई पत्र लेखे, 'कृपया सबै नोट सेभेन एसलाई बजारबाट रिकल गरौँ र तिनलाई नयाँ फोनसँग साट्ने सुविधा दिउँ, मलाइ प्रोफिट सेयरिङ स्किम लिनु छैन।' उनले कम्पनीले अघि सारेको प्रोफिट सेयरिङ स्किमले उल्टो अपमानित गरेको समेत उल्लेख गरेका थिए।
 
ढिलै सहि यस्ता भावुक र उत्तेजित प्रतिकृयाहरुले कम्पनीलाई नयाँ फोन रिकल गर्ने निर्णय लिन थप मद्दत गर्यो। एक कर्मचारीका अनुसार सामसङले ग्राहकसँग सम्झौता गर्ने र बजारबाट नयाँ फोन रिकल गर्नेबारे तालिम नै दिएको थियो। अन्ततः कोह आफैं अघि सरे। उनले कर्मचारीहरुसँग माफी माग्दै उपयुक्त निर्णय लिन सघाउनेलाई स्वागत गर्ने बताए। त्यसको भोलीपल्टै कोहले सबै सामु ग्यालेक्सी नोट सेभेन एस 'फुल रिकल'को घोषणा गरे। 
 
सामसुङका इन्जिनियरहरुले अघिल्लो साताको हार्भेष्ट फेष्टिवल बिदा समेत मनाउन पाएनन्। उनीहरु फोनमा समस्या आउनुको कारण पत्ता लगाउनमै व्यस्त भए। कम्पनीको पछिल्लो प्रष्टिकरणको रुपमा कोरिया, चिन र अमेरिकी सरकारी एजेन्सीहरुलाई दिइएको रिपोर्ट अनुसार उत्पादनका क्रममा भएको त्रुटीनै ब्याट्री पड्किनुको मुख्य समस्या हो। त्यहि त्रुटीले फोनको प्लेटमा दबाव सिर्जना गरेको र ब्याट्री सेल सम्म प्रभाव परेको उल्लेख गरिएको छ। फोनको कन्ट्याक्टमा रहेको नेगेटिभ र पोजेटिभ पोल उल्टोपाल्टो हुन पुगेको र सोही कारण अत्यधिक ताप उत्पन्न भएर ब्याट्री पड्किएको निष्कर्षमा कम्पनी पुगेको छ। 


 
अमेरिकाको कन्जुमर प्रोडक्ट सेफ्टी आयोगका अध्यक्ष यसमा खुलेर टिप्पणी गरेका छन्। उनको संस्थाले विहिबार ग्यालेक्सी नोट सेभेन एस रिकलको औपचारिक घोषणा गरेको थियो। उनले भनेका छन्, यो फोनको ब्याट्री तुलनात्मक रुपमा ठुलो थियो, जस कारण सानो ठाउँमा जबर्जस्ती ब्याट्री कोचियो र यस्तो हुन पुग्यो। 
 
'हो साँच्चिकै उनीहरुले केहि त्रुटी जरुर गरे' ब्लुम्बर्ग इन्टिलिजेन्सका बिश्लेषक एन्थेया लाईले भनेका छन् 'उनीहरुमा एप्पललाई जित्ने हतारो थियो र अन्ततः आफ्नै उत्पादनमा गल्ती गरे।'
 
अहिले सामसङले नोट सेभेनका लागि एसडिआईबाट ब्याट्री किन्न छोडेको छ। जापानको टिडीके कर्प अन्तर्गतको एम्पेरेक्स टेक्नोलोजीबाट कम्पनीले ब्याट्री खरिद गर्न थालेको छ। स्थानिय कोरियाली मिडियाका अनुसार 'बृहत अनुसन्धान र धेरै नियामक निकायहरुलाई बुझाइएको रिपोर्ट अनुसार ग्यालेक्सी नोट सेभेन एसमा ब्याट्रीको मात्रै समस्या हो।' कम्पनीले समेत यहि भनाइलाई सहयोग पुग्ने गरि स्टेटमेन्ट दिएको छ, 'रिकल गरिएका सबै ग्यालेक्सी नोट सेभेनमा अरु कम्पनीका ब्याट्रि राखिनेछ।' 
 
ब्याट्री उत्पादक सामसङ एसडिआईका प्रवक्ताले भने फोन रिकल गर्ने कारणको रुपमा सुरुमा सामसङ मोवाइल युनिटले राखेको भनाइमा आफुहरु अझै पनि कायम रहेको दावी गरेका छन्। घुमाउरो पारामा फोनमा समस्या आउनुको कारण आफुहरु नभइ सामसुङको मोवाइल युनिटकै त्रुटी रहेको उनको भनाइ थियो। उनले यसमा थप ब्याख्या गर्न भने अश्विकार गरे। 
 
के रिभाइभ होला?
सामसङका म्यानेजरहरुले विगतमा बिभिन्न कम्पनीले गरेका रिकलबारे राम्रो अध्ययन गरेका छन्। त्यसमा टोयोटा मोटर कर्प सम्मका उदाहरण हेरेर सामसङ अधिकारीहरु निधोमा पुगे, 'छिटो र नाटकिय मुभ गर्ने।'
 
जब फोन रिकल गर्ने निर्णय गर्यो त्यसपछि सामसङले त्यस्तै चाल चाल्यो पनि। नियामक भन्दा छिटो मुभ गर्दा कम्पनीलाई कतिपय कार्यक्रम व्यवस्थापन गर्न सहज भयो। जस्तो अमेरिकामा कन्जुमर प्रोडक्ट सेफ्टी आयोगलाई २४ घण्टा भित्र सुचना दिने अनुमान गरिएको थियो। तर,  सामसङ त्यसभन्दा एक कदम अगाडी देखियो। उसले सार्वजनिक रुपमै उपभोक्तालाई समस्याबारे बतायो। जसकारण उपभोक्तालाई फोन एक्सचेञ्ज गर्नेबारे कुनै अरु 'गाइडेन्स'  आवश्यक भएन। 
 
'आधिकारीक रिकल प्रकृयाले उपभोक्तालाई धेरै थोक प्रष्ट पार्यो' कन्जुमर रिपोर्ट्सका टेक्नोलोजी एडिटर जेर्री वेइलिन्सनको भनाइ छ। 
सामसुङले बिक्री गरेका फोन रिकलमा करिब दुई अर्ब अमेरिकी डलर तिर्नु पर्नेछ। 
 
त्यति गरे पनि कम्पनीले सेप्टेम्बर २८ बाट कोरियामा ग्यालेक्सी नोट सेभेन बिक्री सुरु हुने बताइ सकेको छ। त्यतिन्जेलमा विश्व बजारमा जाने नयाँ मिति समेत तय भइ सक्नेछ। 

तर, अझै पनि चर्को आवाजमा बजारबाट प्रश्न उठिरहेको छ, 'सामसङको वर्तमान व्यवस्थापनबाट मात्रै यो संकटका कारण गहिरिएको विश्वासको खाडल पुर्न संभव छ?' मोवाइल रिकल गर्ने क्रममा सामसङले भनेको थियो, उसले युवा लीलाई कम्पनीको नौ सदस्यीय बोर्डमा मनोनित गरेको छ। यो निर्णयले उनलाई थप सकृय र उत्तरदायी बनाउनेछ। तर,  अहिले सम्म पर्दा पछाडी र लो प्रोफाइलमै रहँदै आएका लीले तत्कालै पिताबाट सबै अधिकार लिन्छन् भन्नेमा धेरैले विश्वास गरेका छैनन्। तथापी कर्पोरेट स्ट्राटेजी अफिस अन्तर्गत सामसङका विश्वभर रहेका ६० कम्पनी मध्ये सामसङ इलेक्ट्रोनिक्समा तीन जना सिइओ रहेका छन्।


स्वास्थ्यका कारण ब्यापारमा फर्किन नसकेका अध्यक्ष लीलाई कसले रिप्लेस गर्ला अब?
 
'यो संकट हो र यसले सामसङको इमेजलाई झट्का दिएको छ' सिओल स्थित हाङसुङ विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक किम साङ जो भन्छन्  'प्रष्ट छ त्यहाँ केहि प्रकृयागत त्रुटी भए र अब कम्पनीले उपभोक्ता र लगानीकर्ताको विश्वास पुनः आर्जन गर्नुछ।'
 
सामसङले नयाँ फोन ल्याउन देखाएको उत्साह जस्तो एप्पलको आइफोन सेभेन त्यतिधेरै नयाँ फिचरले भरिएको छैन। उस्तै फिजिकल डिजाइनमा कम्पनीले केहि प्राविधिक परिवर्तन गरेको छ। तर, अझै पनि लाइनमा अभिएर नयाँ आइफोन किन्ने भिड घटेको छैन। यसले उपभोक्ताका लागि कम्पनीको विश्वास पहिलो सर्त हो भन्ने थप पुष्टि गरेको छ।
 
सामसङ ग्रुपको दुई दशक अघिको कथा हो, जसलाई अहिले पनि कर्मचारीहरु गर्वसाथ सुनाउँछन्, चेयरमेन लीले खरावी आएका हजारौँ थान मोवाइल फोन जलाइदिए। तर, गुणस्तरमा कुनै सम्झौता गरेनन्। उनले आफ्ना स्टाफलाई निरन्तर मोटिभेट गरि रहे र सामसङलाई एउटा दृढ गतिमा हिँडाए। अन्नतः सामसङ विश्वकै सर्वाधिक बिक्री हुने मोवाइल फोन बन्न पुग्यो। 
 
अहिले दोस्रो पटक सामसङ मोवाइल आगोको भुङ्ग्रोमा छ। र, यो भुङ्ग्रोले कम्पनीले अहिलेसम्म दुःखले आर्जेको प्रतिष्ठालाई समेत चुनौती दिएको छ।
'कम्पनीका लागि तत्कालको वित्तिय घाटा भन्दा पनि संभावित प्रतिष्ठाको जोखिम नै मूख्य चुनौती हो, यसलाई कसरी पार लगाउँछ चाहिँ हेर्न बाँकी छ' सिङ्गापुरको नेशनल युनिभर्सिटीका प्राध्यापक सेन जिन भन्छन्।